site stats
बाह्रखरी :: Baahrakhari
कला
रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनको नवीकरण रोक्न सञ्चार मन्त्रालयलाई आग्रह गर्दै संगीतकर्मी

काठमाडौं । संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले सजर्क तथा स्रस्टाहरूले बहिष्कार गर्नुपर्ने एफएफ रेडियो तथा टेलिभिजनका छाता संस्थाहरूले उल्टै उनीहरूले नै आफूहरूलाई बहिष्कार गरेको विज्ञप्तिवाजी गरेको टिप्पणी गरेका छन् । आफूहरूले रोयल्टी तिर्न ताकेता गर्दा उनीहरूले बहिष्कारको चेतावनी दिएको उनले बताए ।

“हामी वर्षौंदेखि रोयल्टी तिर्नूस् भनेर भनिरहेका थियौँ । तर, जहिल्यै अन्तिम आवरमा आएर यो वर्ष यस्तै भयो नवीकरण गर्न सहयोग गर्दिनुस् भनेर भनेकाले हामी लोयल (लचक) भएर छोड्दिँदै आयौँ,” चेतन बाह्रखरीसँग भन्छन्, “रेडियो टेलिभिजनका सञ्चालकहरू रोयल्टी तिर्न तयार छन्, वास्तवमा रोयल्टी तिर्न भाँजो हाल्ने रेडियो ब्रोडकास्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ नेपाल हुन् ।”

यी संस्थाहरूले सर्जक तथा स्रस्टाहरुलाई कम आँकेको उनको भनाइ छ । यी संस्थाभित्र पनि केही व्यक्ति असल र कानुनअनुसार रोयल्टी तिर्नुपर्छ भन्ने पक्षमा रहेको तर यी संस्थाका केही व्यक्तिले कानुनलाई नै चुनौती दिने गरेको उनी बताउँछन् ।

“हामी वर्षौं लचक भएर उहाँहरूको अफ्ठ्यारो र समस्या बुझिदियौँ । तर, अब हामीविरुद्ध नै उहाँहरू खन्निएपछि अब हामी कानुनको बाटो समाउँछौँ । कानुनी कठघरामा पुर्‍याउँछौँ,” चेतन भन्छन्, “रोयल्टी नदिई हाम्रा गीतसंगीत प्रशारण गर्ने संस्थालाई बन्द गराउनसक्ने सम्मको कानुन छ । कानुनको उल्लंघन गर्दै रोयल्टी नतिरी अरूको गीतसंगीत प्रशारण गरे त्यस्ता प्रशारण गर्ने सामग्री जफत गर्ने र बन्द गराउने कानुन छ । अब हामी त्यो बाटो समाउन बाद्य हुँदैछौँ ।”

शुक्रबार संगीत रोयल्टी संकलन समाज, गीतकार संघ, संगीतकार संघलगायत, संगीत उत्पादक संघलगायत गीतसंगीतसँग सम्बन्धित विभिन्न संघसंस्थाको संयुक्त बैठक बसेको थियो ।

उक्त बैठकले रोयल्टी बुझाएको रिसिभ नतिरेसम्म अब एफएम रेडियो तथा टेलिभिजनको दर्ता नवीकरण नगर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको संगीतकारसमेत रहेका सापकोटाले जानकारी दिए । यस्तै संस्कृति पर्यटनसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गृहमन्त्रालयलाई पनि यो जानकारीसहितको ज्ञापनपत्र पठाउने बैठकले निर्णय गरेको उनले बताए ।

रेडियो ब्रोडकास्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ नेपालले संगीत रोयल्टी संकलन समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारी अमार्यादित शब्द प्रयोग गर्दै सामाजिक सञ्जालबाट आफूहरूलाई धम्क्याएको भन्दै उनी जोडिएका कुनै पनि गीतसंगीत एफएम रेडियोहरूबाट प्रशारण नगर्ने निर्णय गरेका थिए । उक्त निर्णयको विरोधमा गीतसंगीतसँग जोडिएका संघसंस्था विरोधमा उत्रिएका हुन् ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्