काठमाडौं । नेपाली कांग्रेस प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीभित्रको अन्तरकलह नै पार्टीका लागि खतरा भएको बताएका छन् ।
शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले कांग्रेसलाई नयाँ वा पुराना दलबाट भन्दापनि कांग्रेसबाटै बढी खतरा भएको बताए ।
“कांग्रेसलाई अहिले नयाँ वा पुराना अन्य दलहरूबाट खतरा छैन । बरू हाम्रै अन्तरकलहबाट हामीलाई जोखिम छ,” उनले भने ।
केन्द्रीय सदस्य विश्वकर्माले कांग्रेस कुनै संकट वा खतरामा नभएर अलमलमा रहेको पनि बताए । नेताहरूले बोल्नेक्रममा पार्टी संकटमा पुगेको भनेर उठेका विषयमाथि उनले पार्टीका नेताहरू आफैँले संकटमा पुर्याएको भन्दै अफवाह फैलाउन नहुने बताए ।
“हामी कुनै जोमिख वा खतरामा वा संकटमा भएको जस्तो लाग्दैन । बरू हामी अलमलमा भएको जस्तो लाग्छ,” उनले भने, “वास्तवमा हामी अहिले सबै तहको सत्तामा छौँ, काम गर्ने ठाउँमा छौँ । यो बेला हामीले राम्रो काम गर्ने हो । काम गर्न छोडेर हामी सक्कियौँ भनेर अब सक्कियाँ”, कमजोर भयौँ भनेर हिँड्ने होइन । अहिले यहीनेर अलमलमा भएकोजस्तो लाग्छ ।”
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेर हाल पुर्पक्षका लागि कारागारमा रहेका नेता बालकृष्ण खाँणको बचाउमा समेत बोलेका उनले परिवारको एउटा सदस्यमाथि अभियोग लाग्दा अभिभावकले उसको पक्षमा वकालत गर्ने वकिलको प्रबन्ध गर्ने कुरालाई सामान्यरूपमा लिनुपर्ने बताए ।
“एउटा परिवारको सदस्यमाथि कुनै अभियोग लाग्यो भने वकिल राख्नुहुन्छ कि थपक्कै स्वीकारेर जेल पठाउनुहुन्छ ?,” उनले अघि भने, “कांग्रेस पनि त्यही एउटा परिवार हो । आफ्नो सदस्यलाई कुनै अभियोग लाग्यो भने छिटो पक्राउ गर भनेर डेलिगेसन जाने कि के गर्ने ?”
उनले अदालतले अभियोग प्रमाणित नगरेको अवस्थासम्म कसैले पनि कसैलाई दोषी भनेर फैसला सुनाउन नमिल्ने बताए ।