site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस बैठक– महामन्त्रीहरू ‘चरी जेलैमा’, खाँण प्रकरणमा ‘मौन’ ! 
SkywellSkywell

काठमाडौं । बहुप्रतीक्षित मानिएको कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ । 

दुईदिनदेखि काठमाडौंस्थित सो पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा शरणार्थी प्रकरण, ठूला भ्रष्टाचार काण्डलगायतका विषयले भने प्रवेश पाएको छैन ।
पाएको छ त केवल गुटको राजनीतिले ।

एउटा पक्षले अर्को पक्षलाई व्यङ्ग गरिरहेका छन् । विशेष गरेर केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवा पक्षधर नेताहरु बढी भएको हुनाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित टिप्पणी भइरहेको छ ।
महामन्त्रीहरु सामाजिक सञ्जालका मात्रै भएको, सभापतिलाई असहयोग गरेकोलगायतका विषयमा टिप्पणी भइरहेका छन् ।

Dabur Nepal
NIC Asia

तर धेरैजसोले न त शरणार्थी प्रकरणमा बोलेका छन् न त ठूला भ्रष्टाचारका सम्बन्धमा । बिहीबार आफ्ना धारणा राख्ने केन्द्रीय सदस्यहरुमध्ये अधिकांशले महामन्त्रीद्वयको आलोचना गरेका छन् भने केहीले सभापतिको ।

केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नयाँ उदय भएका दलहरूलाई क्रस गर्ने गरि अभिव्यक्ति पार्टीको नेताहरूबाट नआएको बताएका छन् । 

उनले टेलिभिजन अन्तर्वार्तामा समेत यस्ता विषयलाई क्रस गर्न पार्टी नेतृत्वले बहस गर्न नसकेको बताए । 

“नयाँ पार्टीले गर्न सक्छ भनेर भाष्य खोजी भइरहेको छ। टेलिभिजनमा समेत यो कुरालाई क्रस गरेर साथीहरु अघि बढेको देख्दिन कहीँ कतै बोल्दैनन्,” उनले भने ।  गण्डकी प्रदेश मुख्यमन्त्री समेत रहेका उनले २०४८ सालदेखि आजसम्म गरेको कामको फेरिहस्त बनाएर जनतामाझ कांग्रेसले लानुपर्ने धारणा राखे । 

केन्द्रीय सदस्य उर्मीला नेपाल केसीले विधानसम्मत चयन भएका सभापति फेर्ने विषय बेमौसमको बाजा भएको बताइन् । 

“नेतृत्व परिवर्तनको कुरा उठेको छ यो बेमौसमको बाजा जस्तो लाग्छ,” उनले भनिन्, “भर्खरै अधिवेशन सकेको धेरै समय भएको छैन । जसलाई नेतृत्व सुम्पेको छँौं विधानअनुसार सभापति चयन गरेको छौँ उहाँलाई काम गर्न दिनुपर्छ ।”

उनको आक्षेप महामन्त्री गगन थापा लक्षित थियो । थापाले नेतृत्व परिवर्तन गर्ने, संसदीय दलको नेता परिवर्तन गर्ने विषयहरू सार्वजनिक मञ्चबाट बोल्दै आएका छन् । 

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले खाँणमाथि अन्याय भएको भए किन कांग्रेस सरकारमा बसेको भन्दै प्रश्न गरे । 

“कांग्रेस प्रचण्ड नेतृत्व सरकारको मुख्य पार्टी हो । यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई अलग अलग आरोपमा अनुसन्धानका लागि थुनामा पठाएको छ । सभापति ज्यू यो प्रकरणमा हाम्रो दुविधा अचम्मको छ,” शिवाकोटीले बैठकमा भने, “उहाँप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्छ । होइन भने थुनामा पठाउँदा पार्टीले निलम्वन गर्नुपर्छ कि पर्दैन ? यसमा कि थुनामा हुने दोषी हुनु पर्यो कि थुनामा पठाउने हाम्रै सरकारका मन्त्री दोषी हुनुपर्यो ।”

केन्द्रीय सदस्य रंगमती शाहीले युवा केन्द्रित कार्यक्रमको माग गरिन् । उनले शेरबहादुर देउवा पहिलो पटक प्रम बन्दाको बच्चा अहिले मतदाता भएको भन्दै उसले त्यतिबेलाको योगदान कसरी सम्झन्छ भन्दै प्रश्न गरिन् । 

केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जनमानसमा कांग्रेस भ्रष्टाचार भन्ने बित्तिकै मुख थुन्छ कानमा रुइ हाल्छ भन्ने भाष्य निर्माण भइरहको बताएका छन् ।  पार्टी मुख्य कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बिहीबार बोल्दै उनले भ्रष्टचारविरुद्ध अभियान चलाउन आवश्यक भएको बताए । 

“सामाजिक सञ्जालमा कांग्रेस भ्रष्टाचार भन्नेबित्तिकै मुख थुन्छ कानमा रुइ हाल्छ भन्ने छ । यो क्यालेन्डरमा सुशील कोइराला या किसुनजीका नाममा एक साता लामो भ्रष्टाचार विरोधी अभियान संचालन गर्नु जरुरी छ,” उनले भने । 

साथै उनले महामन्त्रीलाई विधानले अधिकारनै दिन नसकेको बताए । 

“पार्टीको विधानमा कसले के काम गर्ने भनेर प्रष्ट लेखेको छ। सभापतिज्यू यो विधानमा भएको कुरा भदौ मसान्तसम्म अक्षरश पालना गर्नुस् । महामन्त्रीलाई त बिचरा भन्न चाहन्छु । विधानमा अधिकार केही रहेनछ, जे पनि घुमाएर सभापतिलाई दिइएको रहेछ । महामन्त्रीहरु त चरी जेलैमा । त्यसकारण महामन्त्री र सभापतिजीबीच समन्वय हुनुपर्छ ।”

त्यस्तै केन्द्रीय सदस्य राजीव विक्रम शाहले आफू कर्णाली प्रदेशमा संसदीय दलको नेता चुनाव लड्ने आकांक्षा राखेपछि गुटको शिकार हुनुपरेको बताएका छन् । उनले पार्टीकै पदाधिकारी तहबाट गुट निर्माण भएको भन्दै त्यसको शिकार हुनुपरेको गुनासो पार्टी केन्द्रीय समितिसमक्ष राखे ।

केन्द्रीय समितिको बैठकमा उनले भने, “कम्युनिष्ट पार्टीको गढ मानिएको जिल्लाबाट दुई दुई पल्ट म निर्वाचित भएको छु । एकपल्ट संघमा र एकपल्ट प्रदेशमा । तर पनि लगातार गुटको शिकार हुनुपरेको छ । महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित मैले प्रदेश सभामा संसदीय दलको नेतामा प्रतिष्पर्धाको आकांक्षा राखेको थिएँ । म चुनाव लडेर त्यसबाट प्राप्त जस्तोसुकै नतिजा सहजताका साथ स्वीकार गर्न तयार थिएँ । तर दिइएन । किन ? लोकतान्त्रिक पार्टीमा प्रतिष्पर्धा गर्छु भनेर मैले चाहना राख्नु अपराध थियो ? त्यही चाहना राखेको आधारमा उपगुटको शिकार हुनुपर्ने ? हामीले कस्तो लोकतान्त्रिक चरित्र देखाएका छौँ सभापतिज्यू ?”

उनले चुनाव लड्छु भन्दा पार्टीका पदाधिकारीबाट भएको व्यवहारको बारेमा पनि टिप्पणी गरे ।

“मैले संसदीय दलको नेता चुनाव लड्छु भन्दा पार्टीकै पदाधिकारीबाट कस्तो व्यवहार भयो ? जगजाहेर छ । त्यो अपराधको भागीदार कहिलेसम्म हुनुपर्ने हो ? के के सजाय पाउनुपर्ने हो ? कांग्रेसको नेतृत्त्व तहमा बसेका जिम्मेवार नेताले गरेको यो व्यवहार हामीले कहिलेसम्म सहनुपर्ने हो ? लोकतान्त्रिक पार्टीमा विचार विमर्स हुनुपर्छ कि पर्दैन ?,” उनले भने ।

शाहले पार्टीबाट सरकारमा गएका मन्त्रीले तीन महिनामा राम्रो काम गर्न नसके फिर्ता बोलाउनुपर्ने प्रस्ताव पनि राखेका छन् । त्यस्तैगरी उनले पार्टीका केन्द्रीय सदस्यहरुभित्र गुम्सिएर रहेको कुरा लाइभ भइरहेकाले खुलेर नआएको बताए ।

“केन्द्रीय समितिको लाइभ गरेर हामीले ठिक गरेका छौं ?,” उनले भने । 

उनले पार्टीभित्रको गुट अन्त्य गरेमा चुनाव जित्न सहज हुने बताए ।

“हामीले हामीभित्रै मिलाउन नसक्दा उपनिर्वाचनमा पराजय भोग्नुपरेको होइन ? गठबन्धन नराम्रो होइन तर पहिला हामी वलियो हुनुपर्छ एक हुनुपर्छ । अनि गठबन्धनको मत आउँदा हामी सहजै जित हासिल गर्ने अवस्थामा पुग्छौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu