काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाँणको निलम्बनको माग भएको छ ।
बिहीबारको केन्द्रीय समिति बैठकमा खाँणको विषयमा पार्टी दुविधा अचम्मको भएको भन्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले खाँणमाथि अन्यया भएको भए किन कांग्रेस सरकारमा बसेको भन्दै प्रश्न गरे ।
“कांग्रेस प्रचण्ड नेतृत्व सरकारको मुख्य पार्टी हो । यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई अलग अलग आरोपमा अनुसन्धानका लागि थुनामा पठाएको छ । सभापतिज्यू यो प्रकरणमा हाम्रो दुविधा अचम्मको छ,” शिवाकोटीले बैठकमा भने, “उहाँप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्छ । होइन भने थुनामा पठाउँदा पार्टीले निलम्बन गर्नुपर्छ कि पर्दैन ? यसमा कि थुनामा हुने दोषी हुनु पर्यो कि थुनामा पठाउने हाम्रै सरकारका मन्त्री दोषी हुनुपर्यो ।”
केन्द्रीय सदस्य शिवाकोटीले सुशासनको हिमायती कांग्रेस कार्यकर्ताहरू कुनै पनि भ्रष्टचारलाई पृष्ठपोषण गर्न नसक्ने बताए । उनले कुनै पनि भ्रष्टचारलाई कांग्रेसले काँध थाप्दैन र थाप्न नहुने बताए ।
“सरकार र साथी मध्ये एक के रोज्ने हो सभापतिज्यू यो बैठकबाट टुंगो लगाउनुपर्छ,” शिवाकोटीले थपे ।
उनले पार्टीबाट मन्त्री बनेकाहरूप्रति पार्टी पंक्तिमा असन्तुष्टि भएको बताए ।