काठमाडौं । नेपाली कांग्रेसको दोस्रो दिन बुधबार बसेको केन्द्रीय समिति बैठकमा बोल्ने केही केन्द्रीय सदस्यहरूले बालकृष्ण खाँणको बचाउ गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण जेल चलान भएका छन् । उनलाई पार्टीबाट निलम्बन गर्नुपर्ने माग छ । सभापति शेरबहादुर देउवा खाँणलाई कारबाही गर्न तयार छैनन् । महामन्त्रीद्वय भने सुरूआतदेखिनै कारबाही हुनुपर्ने पक्षमा छन् । तर, केन्द्रीय समिति बैठकमा यो आधिकारीक एजेन्डा भने बन्न सकेन ।
बुधबारको बैठकमा केन्द्रीय सदस्यद्वय लक्ष्मी खतिवडा र राधा घले खाँणको पक्षमा उभिएका छन् । उनीहरूले खाँणलाई बचाउन पार्टी गम्भीर नबनेको आरोप लगाए । साथै पार्टीभित्रैबाट पनि खाँणलाई सहयोग नभएकोमा आपत्ति उनीहरूको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति दुवै केन्द्रीय सदस्यले आपत्ति जनाए ।
केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले किन गृहमन्त्रीलाई भेटेर धन्यवाद दिएको भन्दै प्रश्न गरिन् ।
“कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन,” उनले भनिन् ।
खतिवडाले अभियोग लागेको अर्को अमूक पार्टीको नेताका बारेमा भने उनीहरू नबोलेको खतिवडाको दाबी छ ।
“तातो पानीले भरिएको डेक्चीको पानी खनिँदा सबैलाई पोल्छ, त्यो पनि विचार पु¥याउनुहोला,” उनले भनिन् ।
यस्तै केन्द्रीय सदस्य राधा घलेले आरोप लाग्दैमा कोही पनि दोषी नहुने बताइन् । बैठकमा बोल्दै केन्द्रीय सदस्य घलेले आफ्नो साथी तथा पार्टीको नेता पक्राउ पर्दा पार्टी नेतृत्व संवेदनशिल भएर बचाउमा उत्रनुपर्नेमा उल्टो गृहमन्त्रीलाई भेटेर बधाई दिनु कति उपयुक्त हो भन्दै प्रश्न गरिन् ।
“आज एउटा नेतालाई, साथीलाई विना कारण समातेर लग्दै गर्दा आफ्नै पार्टीको साथीहरू सवेदनशिल नहुनु, गृहमन्त्रीलाई बधाई दिन जानु कति उपयुक्त हुन्छ ?,” उनको प्रश्न थियो ।
केन्द्रीय सदस्य घलेले आफ्नो नेताको बचाउमा उत्रेर साथ दिनुपर्नेमा पार्टीका नेताहरू विरोधमा उत्रिएको भन्दै गुनासो गरिन् । अरुलाई खाएको बाघले आफूलाई पनि खान्छ भन्दै उनले दोषी करार नहुन्जेल साथ दिनुपर्ने धारणा राखिन् ।
“एउटा साथीलाई दुख पर्दा काँध हाल्न सक्दैनौं । आरोप लाग्दैमा कोही पनि दोषी हुँदैन,” उनले भनिन्, “जबसम्म दोषी सावित हुँदैन कमसेकम एउटालाई पर्दा हामीभित्रै साथीहरूले साथ दिदैनौं भने एउटालाई खाने बाघलाई अरुलाई पनि खान्छ ।”
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित अन्य व्यक्ति पक्राउ परे लगत्तै कांग्रेसका केही नेता गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिन पुगेका थिए ।