काठमाडौं । नेपाली राष्ट्रिय महिला टिम र बंगलादेशबीको दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित समयमा गोलरहित बराबरीमा समाप्त भएको छ ।
आइतबार बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा सम्पन्न खेलमा दुवै टिमले गोलका केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा निर्धारित ९० मिनेटमा बराबरीमा रोकिएका हुन् । यी दुई टिमको नतिजा पेनाल्टी सुटआउटबाट हुनेछ ।
नेपाली टिम गत भदौमा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनल खेलदेखि जितविहीन छ । उक्त फाइनलमा पनि नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । उक्त फाइनलयता नेपालले दुई खेलमा हार बेहोर्दा चार खेलमा बराबरीको नतिजा निकालेको छ ।
नेपाली टिम चीनमा हुने १९औँ एसियन गेम्सको तयारीका लागि दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको हो । यी दुई टिमबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो । उक्त खेलमा कप्तान सविना खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाउँदा इन्जुरी समयमा सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल फर्काएकी थिइन् ।