काठमाडौं । कांग्रेस नेत्री आरजु राणाले आफूविरुद्ध षड्यन्त्र गरिएको बताएकी छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक भएको अडियोबारे प्रतिक्रिया जनाउँदै सांसदसमेत रहेकी आरजुले अडियोमा आफ्नो कुनै पनि संलग्नता रहेको पनि बताइन् ।
सोमबार संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राणाले भनिन्, "वैशाख ४ गते म चिन्दिनँ भनेर बयान भएको रहेछ । १६ गते कसरी प्रहरीबाट बाहिर आयो ? टेप गलत हो भन्ने थाहा पाउँदा पाउँदै कसरी बाहिर आयो ? किन बाहिर आयो ? यसमा तथ्य नै छैन भन्ने थाहा हुँदाहुँदै बाहिर कसरी ल्याइयो । यो मेरोविरुद्ध षड्यन्त्र भएको हो ।"
अभियुक्त शर्माले काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा पैसा लिएका मानिसका कारण आफू समस्यामा परेकाले जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले आरजु र बालकृष्ण खाँण र मञ्जु खाँणको समेत नाम लिई ‘मैले रकम बुझाएको हो भन्नू’ भनेअनुसार नै उनको नाम लिएको र आफूहरूले यस प्रकरणमा उनीहरूलाई नचिन्ने बताएका थिए ।
प्रहरीले टेपमा सुनिने आवाज शरणार्थी प्रकरणका आरोपित सन्देश शर्माको आवाजको ‘स्याम्पल’सँग मेल खाएको बताएको छ ।