site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

कोसी प्रदेशका सभामुखले सरकार निर्माणका क्रममा सत्तारूढ गठबन्धनका पक्षमा हस्ताक्षर गर्दा संसदीय मान्यताको स्पष्ट उल्लङ्घन भएको छ । यसैले अब उनले यथाीघ्र सभामुख पद त्यागेर ‘प्रायश्चित्त’ गर्नु उचित हुन्छ । 

प्रदेश सभामा कायम ९३ प्रदेश सभा सदस्यमध्ये दुवै गठबन्धनमा ४६ – ४६ सदस्य छन् । प्रदेश सभामा कुनै पक्षको पनि स्पष्ट बहुमत नभएको अवस्थामा सभामुख बाबुराम गौतम ‘धर्मसङ्कट’मा परेको बुझ्न सकिन्छ । 

सभामुख गौतमको हस्ताक्षरबिना गठबन्धनका पक्षमा स्पष्ट हुँदैन । अगिल्लो सरकारका मुख्यमन्त्रीले विश्वासको मत पाउन सकेनन् । नयाँ सरकार गठनका लागि सत्तारूढ गठबन्धनले सभामुखको हस्ताक्षरसहित दाबी नगरेको भए संवैधानिक सङ्कट उत्पन्न हुनसक्थ्यो ।

यसैले सभामुख गौतमले रणनीतिक निर्यण लिएर हस्ताक्षर गरेको देखिन्छ । तर, उनको हस्ताक्षररहितको दाबीका आधारमा कोसी प्रदेशको सरकार गठन भए पनि लगत्तै त्यसलाई उल्ट्याउन सर्वोच्च अदालतमा मुद्दासमेत परिसकेको छ ।

यसको कानुनी पक्षको विवेचना सर्वोच्च अदालतबाट पक्कै हुनेछ । परन्तु, सभामुख गौतमले लिएको रणनीतिक निर्णयबाट भने संसदीय परम्पराको स्पष्ट उल्लङ्घन भएको छ । सभामुखले निर्णायक मतदान गर्नुपरेमा बाहेक यसरी कुनै दल वा गठबन्धनको पक्ष लिँदैनन् । 

गौतमले सभामुख पदबाट राजीनामा गरेर सरकारका लागि दाबी गर्ने पत्रमा हस्ताक्षर गरेको भए राजनीतिक र रणनीतिकरूपमा पनि सही कदम हुनसक्थ्यो । एकातिर उनको हस्ताक्षरलाई चुनौती दिन मिल्दैन थियो अर्कातिर उपसभामुख मतदानमा तटस्थ बस्नुपर्ने अवस्था हुन्थ्यो । 

परन्तु, गौतमले संसदीय मान्यतामै चोट लाग्नेगरी सभामुख पदमा बहाल रहेकै बेला एउटा पक्षमा हस्ताक्षर गरे । यसैले उनी सभामुख भइरहन उचित हुँदैन । अहिलेको उनको गल्तीलाई सच्याउने एकमात्र उपाय पनि यही हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिँदा पनि उनलाई पुनः धर्मसङ्कट पर्न सक्छ । आफैँले हस्ताक्षर गरिसकेको सरकारका पक्षमा मत नदिन पनि दिन पनि नैतिकरूपमा उचित हुँदैन । यद्यपि, संविधानले नै मत बराबर भएमा निर्णायक मत दिने अधिकार सभामुखलाई दिएको छ । 

जेहोस्, गौतमले पदबाट राजीनामा गर्दा नै सभामुख सत्ता राजनीतिमा कुनै पक्षमा लाग्न नहुने परम्परा बलियो हुन्छ । अर्कातिर, उनी संलग्न गठबन्धनको प्रदेश सभामा स्पष्ट बहुमत पनि पुग्छ । यसैले सभामुख गौतमले तत्काल राजीनामा गरेर संसदीय मान्यताको सम्मान गर्नुपर्छ ।

गौतमलाई दबाब दिएर गलत काम गराउने गठबन्धनले पनि छलकपटको राजनीति प्रत्युत्पादक पनि हुनसक्छ भन्ने यथार्थ आत्मसात गर्नुपर्छ । संसदीय पद्धति यसरी नै अभ्यासबाट परिष्कृत हुँदैआएको हो । यसैले गौतमले पनि राजीनामा गरेर गल्ती सच्याउन हिचकिचाउन वा ढिलो गर्नु हुँदैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro