site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृह मन्त्रालयका कर्मचारीको विदेश मोह : १२८ कर्मचारीले एक हजारभन्दा बढी दिन विदेश भ्रमणमा बिताए 

काठमाडौं । सरकारले फजुल खर्च कम गर्न सरकारी कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नहुने निर्णय पटक पटक गर्दै आएको छ । तर गृह मन्त्रालयका कर्मचारीले भने सरकारको उक्त निर्णय लत्याउँदै विदेश भ्रमणमा जाने गरेको पाइएको छ । 

गृह मन्त्रालय आफैँले राखेको रेकर्डअनुसार पछिल्लो करिब एकवर्ष (२०७९ साउनदेखि २०८० असार १९ गतेसम्म) मा गृह मन्त्रालयका १२८ जना कर्मचारीले विदेश भ्रमण गरेको देखिन्छ । 

उक्त अवधिमा गृहका कर्मचारीले १९ देशको भ्रमण गरेका छन् । उनीहरुले जापान, थाइल्यान्ड, भारत, सिंगापुर, बंगलादेश, अष्ट्रेलिया, अमेरिका, चीन, साउदी अरब, फिलिपिन्स, इन्डोनेसिया, फ्रान्स, अष्ट्रिया, मलेसिया, बेल्जियम, जोर्डन, श्रीलंका, दक्षिण कोरिया र माल्दिभ्सको भ्रमण गरेको गृहको रेकर्डले देखाउँछ । 

Dabur Nepal
NIC Asia

पछिल्लो करिब एक वर्षमा गृह मन्त्रालयका १२८ जना कर्मचारी १८८ पटक विदेश भ्रमणमा निस्केका छन् । कोही कर्मचारीहरु सो अवधिमा पाँच÷पाँच पटकसम्म विदेश भ्रमणमा गएको देखिन्छ । सभा, सम्मेलन, तालिम, बैठक, वर्कशपमा सहभागी हुन उनीहरु विभिन्न देश पुगेका हुन् । 

गृहका १२८ जना कर्मचारीले विदेश भ्रमणमा बिताएको छुट्टाछुटुटै दिनहरु जोड्दा कुल एक हजार ३० दिनभन्दा बढी हुन आउँछ । अर्थात् एउटै व्यक्ति यसरी विदेश भ्रमण गएको भए उसले २.८२ वर्ष विदेशमा बिताएको हुन्थ्यो । 

गृहका अनुसार विभिन्न कर्मचारीले ३८ पटक चीन, २४ पटक भारत, १९ पटक अष्ट्रेलिया, १८ पटक थाइल्यान्ड, १६ पटक साउदी अरब, ११ पटक फिलिपिन्स, ९ पटक बंगलादेश, ९ पटक इन्डोनेसिया, ९ पटक जापान, पाँच पटक जोर्डन, तीन पटक अमेरिका, दूई पटक बेल्जियम, दुई पटक अष्ट्रिया, दुइपटक मलेसिया, एक पटक माल्दिभ्स र एक पटक श्रीलंकाको भ्रमण गरेका छन् । 

सरकारी कर्मचारीहरु अनावश्यक रुपमा विदेश भ्रमणमा जाँदा फजुल खर्च बढेको भन्दै गत फागुन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले अति आवश्यक अवस्थामा बाहेक सरकारी कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्को निर्णयमा स्पष्ट भनिएको छ, “नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अब उप्रान्त अति आवश्यक बाहेक वैदेशिक भ्रमण नगर्ने ।”

सरकारी कर्मचारीले अनावश्यक विदेश भ्रमणमा जाँदा राज्यको करोडौँ रुपैयाँ खर्च हुने गरेको छ । 

यस्तो खर्च घटाउन पटक पटक कर्मचारीको विदेश भ्रमण कम गर्ने प्रयास विगतका सरकारले पनि गरेका थिए । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि कर्मचारीले अति आवश्यकबाहेक विदेश भ्रमण नगर्ने निर्णय भएको थियो । 

उनले विदेश भ्रमण सम्बन्धी कार्यविधि र निर्देशिका नै ल्याएका थिए । यस्ता कार्यविधि र निर्देशिकाले कर्मचारीको विदेश भ्रमण रोक्न सकेको छैन ।  सरकारले ल्याएको ‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५’ मा त स्पष्ट शब्दमा परामर्शदाता वा ठेकेदारको खर्चमा कर्मचारीले विदेश भ्रमण गर्न नहुने उल्लेख गरिएको छ । 

“सम्झौता वा ठेक्कामा सञ्चालित आयोजना वा खरिद सम्झौताको पक्ष, ठेकेदार वा परामर्शदाताको खर्चमा कुनै सरकारी पदाधिकारीलाई वैदेशिक भ्रमणमा मनोनयन गरिने छैन,” निर्देशिकामा भनिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro