
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले पैसाले राजनीति र विचार किन्न नसक्ने बताएकी छन् । पार्टीमा पैसावाल हाबी हुँदै गरेको विषयमा टिप्पणी गरेकी प्रसाईंले राजनीति गर्दै जाँदा केही ठाउँमा पैसा आवश्यक परे पनि प्रमुख विषय हुन नसक्ने बताइन् ।
झापाको प्रसाईं परिवारले सर्वस्व गुमाएर पनि कांग्रेसको राजनीति नछोडेको भन्दै अहिले पैसाका लागि राजनीतिक मूल्य छोड्ने कामले पार्टीलाई गलत बाटोतर्फ उन्मुख गरिरहेको बताइन् । “म झापाको प्रसाईं परिवारकी छोरी हुँ । हाम्रो परिवारको तीन पुस्ता नेपाली कांग्रेसको राजनीतिमा छ,” प्रसाईंले भनिन्, “कांग्रेसमा लागेकै कारण हाम्रो परिवारले सर्वस्व गुमाएको हो । पैसाकै पछि लागेको भए कांग्रेस पार्टी यहाँसम्म हुन्थ्यो हुँदैनथ्यो सोच्नु होला ।”
उनले अहिले पैसालाई अनावश्यक महत्त्व दिइँदै आएको भन्दै पैसाले विचार र राजनीति किन्न नसक्ने र किन्ने अवस्था हुनु नहुने बताइन् । “पैसा आवश्यक कुरा हो । तर, यसले राजनीति र विचार किन्न सक्दैन, सक्ने अवस्था बन्नु पनि हुँदैन,” प्रसाईंले भनिन्, “पैसाकै लागि राजनीतिक मूल्य बन्धक बन्न सक्दैन । यदि तपाईं कसैले बनाउनु हुन्छ भने त्यो राजनीतिको अन्त्य हुनेछ ।”