site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लाइसेन्स प्रक्रिया पूर्णरूपमा अनलाइन प्रणालीमा, भिड हट्ने

काठमाडौं । यातायात व्यवस्था विभागको नेतृत्वमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिने प्रक्रियाले महत्वपूर्ण सुधार ल्याएको छ ।

अब सेवाग्राहीले तिर्नुपर्ने सम्पूर्ण राजस्व अनलाइनबाटै तिर्न मिल्ने भएको छ । यससँगै भौतिकरूपमा उपस्थित हुनुपर्ने बाहेकका सबै सुविधा अनलाइनबाट गर्न सकिने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले लाइसेन्ससम्बन्धी सेवा दिने यातायात कार्यालयमा ७० प्रतिशत काम एवं भिड हट्ने बताएका छन् ।

यससँगै यातायात कार्यालयमा राजस्व बुझाउन लाइन बस्नुपर्ने छैन । नयाँ लाइसेन्स लिनेले बायोमेट्रिक र मेडिकल जाँचका लागि जानुपर्नेछ ।

त्यसपछि अनलाइनबाटै राजस्व तिरी लिखित परीक्षा दिन र ट्रायल (प्रयोगात्मक परीक्षा) दिन जान मिल्नेछ । ट्रायलमा पास भएपछिको राजस्व पनि अनलाइनबाटै तिर्न सकिनेछ । त्यसपछि लाइसेन्स लिन मात्रै कार्यालय गएहुन्छ ।

“हामीले यातायात कार्यालयबाट दिने सेवामा ठूलो सुधार ल्याउन खोजेका छौँ । अनलाइनबाटै भुक्तानी गर्नसकिने सहितको सेवा सञ्चालनमा ल्याउन तीन महिनासम्म दिनरात काम भएको छ,” यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईले भने ।

कहिलेदेखि आउँछ सञ्चालनमा ?
असार २० गते (बुधबार) भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन भुक्तानी प्रणालीको उद्घाटन गरे । हाल लाइसेन्सको आवेदन दिएको १५ दिनपछि मात्रै सम्बन्धित यातायात कार्यालयमा जानुपर्ने पालो आउँछ ।

त्यसैअनुसार असार २० गतेपछि आवेदन दिएका सेवाग्राहीले अनलाइनबाटै भुक्तानी गर्नसकिने प्रणाली प्रयोग गर्न पाउनेछन् । उनीहरूको पालो १५ दिनपछि आउँछ ।

यस्तै वर्ग थपको आवेदन दिएकाहरूको पालो पनि १५ दिनपछि आउँछ । असार २० पछि वर्ग थपको आवेदन दिनेहरूले पनि अनलाइनबाटै भुक्तानी गर्न पाउनेछन् ।

लाइसेन्स नवीकरण गर्नेहरूले भने पालो आउन १५ दिन कुर्न पर्दैन । तर, पहिलो चरणमा यो प्रणाली गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालय कास्कीमा मात्रै परीक्षणका रूपमा सञ्चालनमा आएको छ । अन्य कार्यालयमा बिस्तारै हुने बताइएको छ ।

यातायात व्यवस्था कार्यालय कास्कीले असार २४ देखि लाइसेन्स नवीकरणको भुक्तानी अनलाइनबाटै गर्नसकिने गरी सञ्चालनमा ल्याउने भएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव एवं प्रवक्ता टीकाराम पौडेलले परीक्षणका रूपमा यो प्रणाली सञ्चालनमा आउन लागेको बताए ।

देशभर कहिले सञ्चालनमा आउँछ ?
यातायात व्यवस्था कार्यालय कास्कीमा करिब १५ दिन परीक्षणका रूपमा सञ्चालनमा आएपछि एकमहिना भित्रै देशभरका सबै लाइसेन्स वितरणको काम यातायात कार्यालयबाट सुरु हुनेछ ।

“पहिलो चरणमा कास्कीमा परीक्षणका रूपमा सुरु गरेका छौँ । एक महिना भित्रै सबै यातायात कार्यालयमा सञ्चालनमा आउँछ,” विभागका महानिर्देशक भट्टराईले भने, “अनलाइन भुक्तानीका क्रममा कुनै समस्या देखियो, त्रुटि आयो भने त्यसको समाधान गर्छाैँ । तर, हामीले पहिले नै परीक्षण गरिसकेको भएर समस्या नआउनेमा विश्वस्त छौँ ।”

योजना अनुरुप प्रणालीले सफल काम गरेमा एक महिना भित्रै देशभरका सबै कार्यालयहरूमा अनलाइन भुक्तानी सेवा सुरु हुने विभागको भनाइ छ । यो सेवा सञ्चालनमा आएपछि सेवाग्राहीले बायोमेट्रिक, लिखित र ट्रायल गरी तीन पटक मात्रै कार्यालय जानुपर्ने उनको भनाइ छ ।

मेडिकल जाँचका लागि चिकित्सक एवं संस्था सूचीकृत गरिने
नयाँ लाइसेन्स लिने, मेडिकल जाँच गर्नुपर्ने अवधि भइसकेको वर्ग थप गर्ने सेवाग्राही र नवीकरण गर्नेले अहिले मेडिकल जाँचका लागि कार्यालयमै जानुपर्ने भएको छ ।

तर, चाँडै नै व्यवस्था अनुरुप दर्ता भएका चिकित्सक एवं स्वास्थ्य संस्थाहरूलाई मेडिकल जाँचको अनुमति दिने विभागका महानिर्देशक भट्टराईको भनाइ छ ।

त्यसपछि कुनै पनि सेवाग्राहीले आफू नजिकको ठाउँबाट मेडिकल जाँच गराउन सक्ने छ । आँखा र अन्य स्वास्थ्य जाँच गरेको विवरण ती चिकित्सक एवं संस्थाले नै यातायात कार्यालयको प्रणालीमा राखिदिनेछन् । 

प्रदेशहरूलाई यो सुविधाका लागि मेडिकल जाँच गर्न इच्छुकलाई आह्वान गरेर सूचीकृत गर्न भनेको यातायात व्यवस्था विभागले जनाएको छ ।

लाइसेन्स नवीकरण, वर्गथप र नयाँ लाइसेन्स लिने सबैकाम यातायात व्यवस्था विभागकै प्रणाली (https://applydl.dotm.gov.np) बाट हुँदै आएको छ । यसै प्रणाली भित्र अनलाइन भुक्तानीको सुविधा पनि थपिएको हो ।

विभागका महानिर्देशक भट्टराईले यो महत्वपूर्ण सुधार भएको बताएका छन् । राजस्व भुक्तानी गर्न एउटा लाइन, बिल बुझाउन अर्काे लाइनको झन्झटमुक्त हुने उनको भनाइ छ ।

“स्वास्थ्य जाँच, बायोमेट्रिक, लिखित र ट्रायलका लागि भौतिकरूपमै उपस्थित हुनुपर्ने भएकाले यी बाहेकको काम अनलाइबाट गर्नसकिने सुविधालाई ठूलो सुधारका रूपमा हेरेका छौँ,” विभागमा महानिर्देशक भट्टराईले भने ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro