site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

हालै एउटा पुस्तक विमोचन कार्यक्रममा व्यक्त प्रधानमन्त्री पुष्पकमल दाहालको कथन संसद् अवरुद्ध हुने हदसम्म विवादास्पद बन्न पुगेको छ । प्रमुख विपक्षी दल नेकपा ९एमाले०ले त त्यही निहुँमा प्रधानमन्त्री दाहालको राजीनामा मागेर संसद्का दुवै सदन चल्नसमेत दिएन ।

प्रधानमन्त्री दाहालले पुस्तक लेखकसँगको निकटता देखाउने क्रममा आफूलाई ‘प्रधानमन्त्री बनाउन’ लेखक ‘धेरैपटक दिल्ली गएको’ खुलासा गरेका थिए । उनको यही कथनबाट ‘नेपालको प्रधानमन्त्री भारतले बनाउँछ’ भन्ने अर्थ निस्कन्छ भन्दै विवाद र विरोध चर्काइएको देखिन्छ । त्यसो त विवाद निम्त्याइरहने त दाहालको बानी नै बसेको छ ।

प्रधानमन्त्री दाहालको आशय ठ्याक्कै त्यही भने नहुन सक्छ । उनको अभिव्यक्तिको आशयको आधिकारिक व्याख्या पनि उनले गरेजस्तै हुन्छ । तर, अभिव्यक्तिले सम्प्रेषण गरेको भाव पनि  उत्तिकै महत्त्वपूर्ण हुन्छ । यसैले प्रधानमन्त्री दाहालको कथनमा विवाद हुनु स्वाभाविकै हो ।

यथार्थमा प्रधानमन्त्री दाहालको त्यो विवादास्पद कथन ‘राजनीतिकरूपमा गलत ९पलिटिकल्ली इनकरेक्ट’ नै हो । कम्तीमा प्रधानमन्त्रीको पदमा रहेको व्यक्तिले निजी कुराकानी वा संस्मरणबाट मात्र सार्वजनिक गर्नपर्ने ‘रहस्य’ यसरी सार्वजनिकरूपमा प्रकट गर्नु हुँदैनथियो । 

व्यक्तिका रूपमा पुष्पकमल दाहालले नेपालको राजनीतिका कटु यथार्थ उजागर गरे भने आपत्तिको विषय पक्कै बन्ने थिएन । परन्तु, अहिले दाहाल देशका प्रमुख कार्यकारी छन् । यसैले उनलाई ‘राजनीतिकरूपमा गलत’ बोल्ने छुट हुँदैन । प्रधानमन्त्री गैरजिम्मेवार नबनून् भन्ने आग्रहलाई अन्याय भन्न मिल्दैन । 

परन्तु, यो प्रधानमन्त्री दाहालले राजीनामा नै गर्नुपर्ने हदको ‘अपराध’ भने देखिँदैन । त्यसमा पनि संसद् अवरुद्ध गरेर सरकारलाई घेर्ने निहुँ यसलाई बनाउनुको औचित्य सिद्ध हुन पनि सक्तैन । सरकारलाई कठघरामा उभ्याउन जनताका समस्यासँग सम्बन्धित अरू नै छन् त अनगिन्ती विषय १

प्रधानमन्त्री दाहाललगायत लगभग सबै दलका नेताहरूले भारतले नेपालको राजनीतिमा हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै आएका छन् । यसपटक दाहालले आफूलाई प्रधानमन्त्री बन्न भारतीय सहयोग रहेको अर्थ लाग्ने गरी बोले । यसैमा बबन्डर खडा गर्नुको खासै औचित्य देखिँदैन ।

यस प्रसङ्गमा नेपाली राजनीतिक नेताहरूको पाखण्डी रूपको एउटा पाटो पनि उजागर भएको छ । उनीहरू आफूले जे बोले पनि हुन्छ तर अरूले भने  गैरजिम्मेवार अभिव्यक्ति दिनु  आपत्तिजनक हो भन्ने ठान्छन् । नेपाली समाजको सामूहिक अवचेतनमा रहेको यही पाखण्ड अहिले फेरि प्रकट भएको छ ।

विडम्बना, प्रधानमन्त्री दाहालको विरोधमा संसद् चल्न नदिइँदा मिटरब्याजी पीडितसम्बन्धी अध्यादेश निस्क्रिय भयो । यसमा दोष त सरकार पनि छ तर धेरै दोष भने विपक्षले पाउँछ । कतै, यो विरोध त्यही अध्यादेश तुहाउन त भएको होइन?

महिनौदेखि काठमाडौंमा धर्ना दिँदा पनि मिटरब्याजी पीडित गरिबहरूको बेवास्ता गरिएको छ । सरकार र संसद् दुवै उनीहरूका समस्याप्रति उदासीन देखिने र दुवै ‘मिलेर’ अध्यादेश तुहाउने प्रपञ्च गरेको देख्दा तिनको नियतमा शङ्का त उब्जेको छ । 

यसैले क्षमायाचना, संसद्मा स्पष्टीकरणलगायतका उपाय अपनाएर आफैँले निम्त्याएका यस बबन्डर साम्य पार्न प्रधानमन्त्री दाहाल आफैँ अग्रसर हुनुपर्छ । साथै, मिटरब्याजी पीडितहरूले न्याय पाउने कानुनी व्यवस्था सुनिश्चित गरी उनीहरूसँग वार्ता गरेर धर्ना टुटाउन पनि अग्रसर हुनु न्यायोचित हुनेछ ।  प्रधानमन्त्रीलाई चिप्लिने सुविधा जो हुँदैन !
 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro