बस्टन (अमेरिका) । बस्टनका नेपालीमूलका अमेरिकीको एउटा सामूहिक सपना थियो– पशुपतिनाथ र बुद्धको मन्दिर र त्यसैमा जोडिएको सामुदायिक केन्द्र होस् । अनि, हिन्दु र बौद्ध धर्मावलम्बी पूजापाठ गर्न आऊन् र सामुदायिक केन्द्रमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्न पाइयोस् ।
दाताले कबुलेका रकमको आडभरोसामा मन्दिर र सामुदायिक भवनका लागि ‘प्रपर्टी’ हेर्न रियल स्टेट मार्केटमा उत्रियो यताको गैरनाफामूलक संस्था पशुपति बुद्ध फाउन्डेसन अफ न्यु इंग्ल्यान्ड (प्याबफोन) । उबर्न, बेलेरिका, माल्देन, बेडफर्डलगायत स्थानमा हेरिएका प्रपर्टी विभिन्न कारणले नेपाली समुदायको हुन सकेन, कहिले एकापसमा कुरा नमिलेर त कहिले अफर स्वीकृत नभएर ।
अन्ततः सन् २०१९ अगस्ट पहिलो साता प्याबफोनका तत्कालीन अध्यक्ष विष्णुमणि आचार्य र भवन निर्माण समितिका अध्यक्ष सुशीलचन्द्र पौडेलको हस्ताक्षरसहित म्यासाचुसेट्सस्थित ब्रेनट्रीमा रहेको एउटा चर्चको प्रपर्टी किनियो । र, साढे तीन वर्ष लगाएर त्यसलाई मन्दिरको स्वरूपमा ढाल्ने काम गरियो ।
बस्टनका नेपाली दाता त्यति बेला छाँगाबाट खसेजस्ता भए जति बेला उनीहरूलाई थाहा भयो, मन्दिरका लागि भनेर किनिएको चर्चको प्रपर्टीको अवस्थिति (लोकेसन) व्यावहारिक रूपमा खोजेजस्तो थिएन । यो प्रपर्टीलाई किन्न तिरिएको मूल्यले धेरै प्रश्न उब्जाएको मात्र छैन, अनियमितताको आशंका पनि गरिएको छ । त्यसपछि सुरु भयो दाताको असन्तुष्टि । धेरै दाता र समुदायले खोजेजस्तो त्यहाँ मन्दिरको प्रांगण छैन ।
मन्दिरका लागि करिब १५ लाख ८२ हजार डलरबराबर रकम कबुल गरिएको थियो । दुई महिनाअघिसम्म त्यसको ७५ प्रतिशत रकम उठाइएको छ ।
एक महिनाअघि आयोजित मूर्ति प्राणप्रतिष्ठा कार्यक्रममा सोही असन्तुष्टि र विवादका कारण उत्साहजनक सहभागिता भएन । सहभागीमध्ये केही व्यक्तिले पार्किङ पाए, नपाउनेहरू हतारिँदै छिटै घर फर्किए । कारण थियो, करिब ४० वटाजति मात्र गाडी अटाउने पार्किङ लट ।
माथिल्लो तलामा पशुपतिनाथ र बुद्धको मूर्तिसहितको हल छ । त्यही भवनको बेसमेन्टमा आयोजना गरिएको हालैको पार्टीमा मासुका परिकार राखिएको विषयलाई असहज रूपमा हेरिएको छ । सामुदायिक भवन छुट्टै भएको प्रपर्टी किनिएको भए यो समस्या आउने थिएन ।
भवन खरिद प्रक्रियामा समयमै जानकारी नगराइएको भन्दै अधिकांश दाता रुष्ट छन् ।
भन्न नमिल्ने कुराको खोजी
गएको मे अन्तिम साता आयोजित प्राणप्रतिष्ठाको कार्यक्रम सुरु हुनुअघि मैले प्याबफोनका पूर्वअध्यक्ष विष्णुमणि आचार्यसँग फोन सम्पर्क गरेको थिएँ । मैले उनलाई ‘भवन कोबाट र कुन रियलस्टेट एजेन्टबाट किनिएको हो भन्न मिल्छ ?’ भनेर प्रश्न गरेको थिएँ । उनले भने, “त्यो भन्न मिल्दैन ।”
नेपालीमूलका लागि खोलिएको धार्मिक ‘ननप्रफिट’ संस्थाका पूर्वअध्यक्ष, जसको हस्ताक्षर भवन खरिदको कागजपत्रमा छ – उनले नै यसरी भन्न नमिल्ने जवाफ दिएपछि थप कौतूहल जाग्यो । अनि सुरु गरेँ, भन्न नमिल्ने कुराको खोजी ।
शंकास्पद खरिद प्रकरण
ब्रेनट्रीस्थित उक्त मन्दिर रहेको भवन नेपालीमूलका अमेरिकीले साढे १७ लाख डलरमा किनिएको हो । सोही भवन निकै कम मूल्यमा बिल्डर क्लेमेन्ट्स प्रपर्टीज एलएलसीले किनेको थियो, नेपाली मूलका अमेरिकीले किन्नुभन्दा मात्र १० महिनाअघि ।
उक्त भवनमा १० महिनामा त्यस्तो के सुधार भयो, जसका कारण दानबाट संकलित रकमको साढे १७ लाख डलर तिर्न अघि सरियो ? साढे १७ लाख डलरमा किन्ने सम्झौता भएपछि ५० प्रतिशत तत्काल ‘डाउन पेमेन्ट’ र बाँकी आठ लाख ७५ हजार डलर बैंकबाट ऋण लिइएको थियो ।
सन् २०१८ अक्टोबरमा क्लेमेन्ट्सले केवल ६ लाख २५ हजार डलरमा द अमेरिकन बाप्टिस्ट चर्चबाट उक्त प्रपर्टी किनेको थियो । त्यो प्रपर्टीमा केही पनि सुधार नगरी आफूले हालेको मूल्यको झन्डै तीन गुणा ज्यादा रकममा नेपालीमूललाई बेच्न सफल भयो । नेपाली समुदायलाई बेच्नुअघि उक्त बिल्डर कम्पनीले मर्मतका लागि ब्रेन ट्री टाउनबाट कुनै परमिट लिएको देखिँदैन । बिल्डर कम्पनीले मर्मतका लागि कुनै परमिट अनुरोध गरेको रेकर्ड टाउनमा छैन । सोहीबाट प्रस्ट हुन्छ, क्लेमेन्ट्सले त्यहाँ सुधार नगरी प्रपर्टी बेचेको थियो ।
नेपाली समुदायले उक्त प्रपर्टी किनेको वर्ष २०१९ मा ब्रेनट्री टाउनले कर प्रयोजनका लागि भवन र जग्गासहित ११ लाख ८९ हजार ७०० डलर तोकेको थियो । नेपाली समुदायले प्रपर्टीका लागि तिरेको मूल्य ‘एक्सेस्ड भ्यालु’भन्दा ४७ प्रतिशत बढी हो । रियलस्टेट प्रपर्टीको मूल्य एक्सेस्ड भ्यालुभन्दा कम वा बढी हुनसक्छ । घरजग्गाको कारोबार धेरै भएको बेला र प्रपर्टीको अवस्थामा निकै सुधार भएको खण्डमा एक्सेस्ड भ्यालुभन्दा बढी र कारोबार सुस्ताएको समयमा कम पनि हुनसक्छ, त्यो स्वाभाविक मानिन्छ । तर, साढे १७ लाख डलर खर्चिंदा न रियलस्टेट मार्केट ‘हट’ थियो न त त्यहाँ केही सुधार नै गरिएको थियो ।
भवन खरिदमा विगतमा इन्स्योरेन्स प्रकरणमा मुछिएका व्यक्तिको अप्रत्यक्ष संलग्नतालाई पनि शंकास्पद रूपमा हेरिएको छ । प्रपर्टी खरिद सम्झौतामा हस्ताक्षर गर्नेहरूले अहिले भनिरहेका छन्– ‘अप्रेजर’ले पनि १९ लाख डलरमा किन्दा हुन्छ भनेको थियो ।
तर, रियलस्टेट बुझेका मान्छेलाई यो भन्नु पर्दैन कि अप्रेजर इमानदार नहुन पनि सक्छ । अप्रेजरले प्रपर्टीको ‘उचित’ मूल्य जानकारी मात्र गराउने हो । त्यो मूल्यमा किन्न सकिन्छ/सकिँदैन क्रेताले आफैँले विचार गर्ने हो ।
अमेरिकाको हाउजिङ मार्केटमा भएका विकृति र विसंगतिलाई नियमन र नियन्त्रण गर्न एफबीआई, डिस्ट्रिक्ट कोर्ट, महान्यायाधिवक्ताको कार्यालयबाट बेलाबेला छानबिन गरिएको छ । दोषीमाथि कारबाही गरिएका उदाहरण पनि थुप्रै छन् ।
कानुनी उपचार किन खोजिएन ?
जग्गा र पार्किङ लटसहितको प्रपर्टी किनेपछि सुधारका लागि भन्दै सन् २०२० जुलाईमा एक लाख ४२ हजार ५०० डलर ऋण लिइयो, लिडर बैंकबाट । र, आन्तरिक सुधार तथा निर्माणको जिम्मा स्थानीय ठेकेदार जिम क्यालाहानलाई दिइयो ।
उक्त कम्पनीले बेसमेन्टमा रहेको किचन र माथिल्लो हलमा रहेका पुराना संरचना भत्कायो । केही काम गर्यो । काम बीचमै बन्द गर्यो । ठेकेदारले काम अधुरै छोडेर पैसा लिएर गयो । तर, उसलाई जिम्मेवार बनाउन कानुनी उपचार खोज्न प्याबफोनको नेतृत्व पूर्णतः असफल भएको छ ।
न्यायका लागि पहल गर्न जति ढिला भयो, त्यति नै सबुदप्रमाणको संरक्षणमा बाधा पुग्न सक्छ । न्याय नपाउने स्थिति पनि सिर्जना हुनसक्छ । उक्त मर्मत–सम्भारको काम अलपत्र छाड्ने ठेकेदार कम्पनीमाथि अहिलेसम्म कुनै मुद्दा दायर गरिएको छैन । तत्काल न्याय खोज्न जानुपर्नेमा तीन वर्ष यत्तिकै बित्यो ।
लापरबाही, गल्ती कि अनियमितता ?
त्यति धेरै रकम खर्चिएर प्रपर्टी किनिए पनि त्यो अधिकांश दातालाई चित्तबुझ्दो भएन । त्यो खालको प्रपर्टी किन्न आवश्यक थियो/थिएन, यसतर्फ कसैले ध्यान दियो/दिएन ? स्थान, प्रपर्टीको अवस्था र मूल्य तीनै दृष्टिकोणबाट त्यसरी श्रद्धालु दाताले दिएको पैसा खन्याउनु उचित थियो त ? विवेकसम्मत निर्णय गरिएको हो त ? यसमा कतै अनियमितता त भएको छैन ? भन्ने प्रश्न उठाउनु अस्वाभाविक होइन ।
ह्युस्टनबाट बस्टनमा घुमफिर गर्न आएका गोरखापत्रका पूर्वप्रधानसम्पादक तथा नेपाल टेलिभिजनका पूर्वअध्यक्ष तारा बरालले मन्दिर हेरेपछि गम्भीर प्रश्न उठाएर गएका थिए । मन्दिरको अग्रभागमा चर्चको जस्तो क्रस देखिएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले लेखेका छन्, “हालसालै प्राणप्रतिष्ठा र उद्घाटन गरिएको उक्त मन्दिर दर्शन गर्ने अभिलाषा बोकेर हामी त्यहाँ पुग्दा देखिएको यो दृष्यले मन नै अमिलो भयो ।” पोस्टमा उनले पार्किङ, प्रपर्टीको चर्को खरिद मूल्य र हतारको खरिद प्रक्रियालगायत विषय उठाएका छन् ।
चर्चको उक्त क्रस हटाउने सम्बन्धमा कस्तो नियम छ भनेर बुझ्न म ब्रेनट्री टाउनहलमा गएको थिएँ । मेसन (मिस्त्री)लाई सम्पर्क गरेर उचित खालको इँटा खोजेर त्यो सजिलै परिवर्तन गर्न सकिने र त्यसका लागि टाउनको कुनै कानुनले बन्देज नलगाएको ब्रेनट्री टाउनका बिल्डिङ इन्सपेक्टरले बताए ।
अबको बाटो
खरिद प्रक्रियादेखि मन्दिरको स्थान, स्थितिलगायत विषय नेपाली समुदायलाई चित्त बुझेको छैन भने उचित विकल्प खोज्नुपर्छ । कसरी अगाडि बढ्ने भन्ने बारेमा नेपाली समुदायका मानिसबीच बृहत् छलफल गर्नुपर्छ ।
तस्बिर : जितेन्द्र श्रेष्ठको फेसबुकबाट