site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बगान’को सुन्दर कथा

काठमाडौं । नाताले साढुभाइ, पेसाले गुरु – सुनील पोखरेलले डेढ वर्षअघि एक दिन सरोज (खनाल)लाई भने– जनता पब्लिकेसनले प्रकाशन गरेको एउटा पुस्तक छ, ‘प्रेमिल’, त्यो किनेर पढ ।

‘प्रेमिल’मा १८ कथा संगृहीत छन् । एउटा कथामा पढ्दै गर्दा उनी टक्क अडिए । कथा तीन पेजको छ । कथा नौलो होइन । त्यसमा सिंगल मदरको कथा छ । जे भइरहेको छ, त्यो गलत हो भन्ने धेरैलाई थाहा छ, तर कोही बोल्दैन । सरोजलाई लाग्यो– बोल्नुपर्छ । यसलाई श्रव्यदृश्यमार्फत भन्नुपर्छ भन्ने उनलाई लाग्यो ।

अक्सर सरोज अभिनयमै रमाउने कलाकार हुन्, यसमै रमाइरहेका छन् । जब यो कथा उनले पढे, उनलाई लाग्यो– यो कथा त मैले नै भन्नुपर्छ । घरघरमा यो समस्या छ । तर, देखिने गरी बोल्न कोही तयार छैन । काठमाडौंमा केही कम होला, चार भन्ज्याङ कटेर गए यो समस्या धेरै देखिन्छ ।

“छोराले विवाह गर्‍यो । तर, अल्पायुमै बुहारी बितिन् भने बुवाआमा, आफ्ना आफन्त, साथीभाइ, समाज सबैलाई छोराको विवाह गरिदिने चिन्ता हुन्छ,” सरोज भन्छन्, “तर, त्यही घरमा छोरा बिते भने बुहारीको विवाह गरिदिन्छन् ? विवाह गरिदिने त परको कुरा, त्यो सोच्नु पनि अपराध सम्झिइन्छ ।” कथामा यही विषय थियो ।

कथा मन पर्नेबित्तिकै सरोजले लेखकलाई फोन गरे । सम्पर्क हुन सकेन । सरोज जनता पब्लिकेसन पुगे, जसले कथासंग्रह प्रकाशन गरेको थियो । पब्लिकेसनले भन्यो– हामीले किनिसकेको कथा हो, हामीसँग सम्झौता गर्नुस्, चलचित्र बनाउनुस् ।

तर, सरोजलाई राइटरलाई नै भेट्न मन थियो । कारण, कथाकारको मनोविज्ञान बुझ्न मन थियो उनलाई । कतिपय कुरा कथामा एक लाइन लेखेर छोडिएको थियो । त्यसको पत्रपत्र खोतल्नु थियो सरोजलाई ।

उनले भने– म तपाईंहरूसँग सम्झौता त गर्छु, तर मलाई लेखकको पनि नम्बर दिनुस् । सरोजले स्वप्निल निरवको नम्बर पाए । सरोजको फोनमा निरवले भने– म काठमाडौं आउँदै छु, भेटेर कुरा गरौँला ।

काठमाडौंमै भेटको मेसो मिल्यो । सल्लाहका लागि बसे । सरोजले निरवलाई भने– सिनेमा बनाउँदा केही कुरा थप्नुपर्छ । कतै चलाउनु पनि पर्छ, अनुमति दिन सक्नुहुन्छ ?

“मेरो कथामा सिनेमा बन्नु आफैँमा ठूलो कुरा हो । कथाको मूल भावलाई नचलाई बनाउँदा हुन्छ,” निरवले अनुमति दिए । सरोजका लागि यो कथामा सिनेमा बनाउन घुरुक्क ढोका उघ्रियो । स्क्रिप्ट लेख्न सुरु गरे ।  

लेखन सकियो । सुरु भयो चलचित्र ‘बगान’को कास्टिङ । सर्ट फिम्म नै किन नहोस्, प्रोडक्सन रिच बनाउने उनको सोच थियो । त्यसैले कास्टिङमा कम्प्रमाइज गरेनन् । उनको उद्देश्य थियो– राम्रो सर्ट फिल्म बनाउँछु, अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिभलमा विदेश पठाउँछु ।

चलचित्रको सेन्ट्रल क्यारेक्टरका रूपमा करिष्मा मानन्धरलाई लिए । एक सिनको रोल नै किन नहोस्, करिष्माको जेठाजुको रोलमा नीर शाहलाई आग्रह गरे । करिष्मालाई सहयोग गर्ने पात्र थियो, त्यसमा उनले रोजे मिथिला शर्मालाई ।

सरोजले यी तीन कलाकारलाई अफर गरे । नाइँ कसैले भनेन । स्क्रिप्ट कसैले मागेन । सिनेमाको सुटिङ सुरु गरियो । जतिजति सिनेमा खिचियो, सरोजलाई राम्रो लाग्दै गयो ।

एक दिन उनले बोलाए निर्देशक विकाशराज आचार्यलाई । फुटेज देखाए । आफूनिकट अरू केही निर्देशकलाई पनि देखाए । उनीहरू सबैले भने– यो त हलमा देखाउनुपर्छ ।

“फेस्टिभलमा पठाउने हो भने त्यो पनि बनाऊ, तर यसमा कमर्सियल इलिमेन्ट थपेर फिचर फिल्म बनाऊ, हलमा चाहिँ देखाउने सिनेमा बनाऊ,” हेर्नेजतिले भने । ५५ मिनेटको सर्ट फिल्मको लगभग सुटिङ प्याकअप भइसकेको थियो । 

सुझाव मन मनासिब लाग्यो । सरोजले आँट गरे, ५५ मिनेटको सिनेमालाई लम्ब्याएर फिचर फिल्म बनाउन । कथाकारको कथामा कतिपय चरित्र कहाँबाट आयो जस्टिफाई थिएन । त्यो कुरा देखाउनुपर्छ भन्ने सुझाव आएको थियो । ती क्यारेक्टरको ब्याक हिस्ट्री ल्याउँदा चरित्रले पनि न्याय पाउँथ्यो । केही सब प्लट थप्दा सर्ट फिल्म फिचर फिल्ममा परिणत हुन्थ्यो । त्यसै गरे ।

सरोजले सर्ट फिल्मलाई फिचर फिल्मको लेन्थ दिन थाले । आकाश श्रेष्ठ त्यही क्रममा भित्रिएका पात्र हुन् । सुरुमा दुई महिनाबाहेक अरूको एकदेखि दुई सिनभन्दा धेरै थिएन । पछि थपिँदै गयो । दुइटा रोमान्टिक सङ थपियो । एउटा स्याड सङ राखियो । थप ५५ मिनेट सिनेमाको लेन्थ बढ्यो ।

“सर्ट फिल्मलाई मैले फिचर फिल्ममा रूपान्तरण गरेँ । तर, म यति भन्छु– म ट्रयाकबाट अलिकति पनि भागेको छैन,” उनी भन्छन्, “काठमाडौं, पोखरा, कालिञ्चोक र सिन्धुलीमा दुई सिफ्ट खिचेको चलचित्र २१ दिनमा छायांकन सकियो ।”

तीन दशक अभिनय गरेर काबिल बनेका सरोज आफूले कलाकारलाई चरित्रबाट भड्किन नदिएको बताउँछन् । उनले करिष्माको अभिनयबारे भने, “म यतिचाहिँ दाबी गरेर भन्छु– करिष्माजीले आफ्नो करिअरमा २०० भन्दा धेरै सिनेमाका काम गर्नुभयो होला, तर यत्तिको अभिनय उहाँले कहिल्यै गर्नुभएको थिएन ।”

२१ दिनसम्म सरोजले सुटिङ अवधिभर करिष्मालाई ऐना हेर्न दिएनन् । उनी भन्थे, ‘करिष्माजी, नेपालको सबभन्दा राम्रो हिरोइन तपाईं हो, तपाईंमा भएको ब्युटी मलाई लुकाउनु छ । तपाईं राम्री बन्ने प्रयास होइन, राम्रो एक्टिङ गर्नुस् ।’

सरोजलाई बेलाबेला गाली गर्दै करिष्मा भन्थिन्, ‘सरोजले मलाई ऐना हेर्न, मेकअप गर्न पनि दिँदैन, के गर्न खोज्या हो ?’

पछि डबिङमा आउँदा करिब–करिब सिनेमा तयार भइसकेको थियो । सरोजले फिल्म प्ले गर्दै करिष्मालाई भने, ‘मैले तपाईंसँग त्यो बेला फाइट गरेको यसका लागि हो, हेर्नुस् सिनेमा ।’

“सिनेमा हेरेर करिष्माजी बरबर्ती आँसु झारेर रुनुभयो । तिमीले मलाई किन ऐना हेर्न र मेकअप गर्न दिएनौ भन्ने आज थाहा पाएँ भन्नुभयो,” सरोज भन्छन्, “योबीचमा उहाँलाई आमाको रोलमा अफर कति आए होला, तर गर्नु भएन । सायद अभिनयको भोक पनि थियो होला र त्यो ‘बगान’मा मुखरित भयो होला । तर, यसमा उहाँले आफ्नो क्षमताको लेभल पुनः एकपटक प्रमाणित गर्नुभएको छ ।”

करिष्माको करिअरकै यो अब्बल अभिनय भएको फिल्म उनी यसकारण पनि भनिरहेका छन् कि आफूसँग दर्जनौँ सिनेमामा सँगै स्क्रिन सेयर गरेकी उनको अभिनयका विषयमा नीर शाहले सरोजलाई भने– तिमीले त करिष्मालाई यु–टर्न गराएछौ ।

‘मौन आकाश’ टेलिभिजनमा नदेखाइदिएको भए सरोज हिरो हुन्थे/हुँदैन थिए, थाहा छैन । सरोज आफू हिरो हुनुको श्रेय ढुक्कले नीर शाहलाई दिन्छन् । उनी नीरको ठूलो फ्यान, आफैँले अब्बल मानेको र आइडल ठानेको उनै व्यक्तिसँग पहिलोपटक ‘प्रेमपिण्ड’मा सँगै काम गर्ने मौका पाए ।

“म उहाँको अगाडि ‘प्रेमपिण्ड’मा काम गर्दा लिट्रल्ली थरथर कामेको थिएँ,” सरोज भन्छन्, “यति राम्रो कलाकारसँग अभिनय गरिरहेको छु, कतै मेरो कारणले उहाँले रि–टेक गर्नुपर्ने हो कि भनेर डर लाग्थ्यो । यदि, मैले बिगारेँ भने सहकलाकारका लागि ठूलो अन्याय हुन्छ भन्ने लाग्थ्यो । त्यस्तो मान्छेलाई डाइरेक्सन गर्छु भनेर मैले फोन गरेँ ।”

अरू कलाकारलाई प्रोडक्सनले फोन गर्थ्यो । तर, नीरलाई सरोज आफैँले फोन गरे । नीरले न कथा सोधे न स्क्रिप्ट मागे, सिधै भने– सरोज बाबु, म कहिले आऊँ सुटिङ गर्न ?

एक हप्तापछि नीरको सेड्युल थियो । आफूलाई सिनेमाको ढोका उघारदिने नीरलाई डाइरेक्सन गर्दै थिए । नीरलाई लिन सरोज आफैँ बूढानीलकण्ठ पुगे । गाडीमा उनले नीरको क्यारेक्टरबारे बुझाउँदै आए ।

सरोजले कसैलाई पनि यसरी अभिनय गर्नुस् भनेनन् मात्र क्यारेक्टर बुझाइदिए । नीरले सरोजलाई भनेँ– सरोज बाबु, तपाईँले भनेको क्यारेक्टर बुझेँ, ५/६ वटा भेराइटी दिन्छु, तपाईंलाई कुन ठिक लाग्छ भन्नुस् है ।

“उहाँले भटाभट नयाँ–नयाँ क्यारेक्टर गर्न थाल्नुभयो, त्यसमध्ये मन परेको मैले यो ठिक छ भनेँ,” सरोज भन्छन्, “तपाईंको एउटा बेग्लै छवि छ, योपटक तीभन्दा केही फरक होस् है भनेको थिएँ । मैले भनेजस्तै पाएपछि मैले यो क्यारेक्टरमा बसौँ भने ।”

नीरको क्यारेक्टर छोटो तर दमदार रहेको उनी सुनाउँछन् । सरोज भन्छन्, “उहाँ आफैँ पनि खुसी हुनुहुन्छ ।” 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro