site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रीको आरोप : न्यायाधीशले पैसा खाएर आदेश दिए

विराटनगर । कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधीशले पैसा खाएर ‘स्टेअर्डर’ दिएको आरोप लगाएका छन् । उनले प्रदेश खेलकुद बोर्डका सदस्यसचिवको कार्यभार कायम गराउन उच्च अदालतले गरेको ‘स्टेअर्डर’माथि  यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रदेश राजधानी विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले खेलकुदका सदस्यसचिवलाई ‘स्टेअर्डर’ दिने न्यायाधीश फटाहा र कलंक भएको आरोप लगाए ।

झापाको दमकमा मुख्यमन्त्री कप प्रदेशस्तरीय भलिबल प्रतियोगिता गर्दा कोसी प्रदेश लेखिएको ब्यानर नराखेपछि सरकारले स्पष्टीकरण सोधेको र चित्त नबुझेकोले सरकारले हंशराज वाग्लेलाई पदबाट हटाएको बताए । 

राजभण्डारीले भने, “अदालतमा मुद्दा दायर भयो । हिजो त्यही उच्च अदालतमा मुद्दा दिएका त्यही बोर्डका सदस्यसचिवको पदको मुद्दा अहिलेसम्म हेर्न नसक्ने अनि सोही पदका अर्का सदस्यसचिवले दिएको मुद्दामा स्टे अर्डर गर्न तयार छ । त्यो बदनियत गरेकै हो न्यायाधीशले । न्यायाधीश फटाहा हो । जनताको नाममा कलंक हो । सरकारले कारबाही गर्दा पैसा लिएर स्टे अर्डर गर्ने न्यायाधीश खराब हो ।”

उनले अघिल्ला सदस्यसचिव कृष्ण बस्नेतको मुद्दा अहिलेसम्म हेर्न नभ्याउने भनेर राखेको तर हालका सदस्यसचिव हंशराज वाग्लेको विषयमा भने चाँडो स्टे अर्डर दिनु घुस खाएको प्रमाण भएको दाबी गरे ।

कोसी प्रदेश मन्त्रिपरिषद्ले गत जेठ ३ गते वाग्लेलाई बर्खास्त गरेको थियो । वाग्लेले भोलिपल्टै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्चका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो । उक्त आदेशलाई न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले पनि निरन्तरता दिएको थियो ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro