
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन अस्वीकार गरेपछि अहिले विपक्षी दलहरू आगामी रणनीति बनाउन बैठक बसिरहेका छन् ।
शनिबार देउवा निवास बूढानीलकण्ठमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा देउवाले अख्तियारले छानबिन गरिरहेकाले समिति आवश्यक नरहेको बताएका थिए ।
प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकभन्दा पनि समग्र समस्या समाधानका लागि छानबिन समिति बनाउनुपर्ने विपक्षी दलको माग रहेको बताएका थिए ।
तर, देउवाले अख्तियारले छानबिन गरिरहेकाले समिति बनाउन आवश्यक नभएको बताएपछि उनीहरू देउवानिवासवाट फर्किएका थिए । देउवा निवासको भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि थिए ।
देउवाले समिति बनाउन अस्वीकार गरेपछि प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका हुन् । बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ ।
बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित छैनन् । उक्त पार्टीबाट उपाध्यक्ष राजेन्द्र पाण्डेले बैठकमा प्रतिनिधित्व गरेका छन् ।
भिजिट भिसा प्रकरणमा छानिबनका लागि समिति वा आयोग बनाउनुपर्ने माग विपक्षीको छ । गृहमन्त्रीको राजीनामाको मागबाट विपक्षी दलहरू पछि हटिसकेका छन् । सहमति हुन नसक्दा जेठ १५ गतेयता प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।