काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्ष विरोधभासमा फस्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । सहीलाई सही र गलतलाई गलत नभनिएसम्म मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सही ढंगले अघि बढाउन नसकिने उनले उल्लेख गरे ।
आइतबार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सहीलाई सही भन्न सक्ने गरी राजनीतिक दलहरू अघि बढे मात्र लोकतन्त्रको औचित्य पुष्टि गर्न सकिने बताए ।
प्रतिपक्ष दलका केही सांसदले प्रहरी बढुवामा पैसाको चलखेल भएको आरोप लगाएको उल्लेख गर्दै उनले त्यसलाई आफूले शून्यमा झारेको जिकिर गरे ।
नेपालको लोकतन्त्र मौलिक खालको भएको र यसलाई उन्नत ढंगले अघि बढाउने विषयमा राजनीतिक दलहरूले गम्भीर आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यकता उनले औँल्याए ।
बर्सातका कारण हुने विपद् जोखिम न्यूनीकरणका लागि सरकारले सम्बन्धित निकायलाई तयारी अवस्थामा राखेको उनले जानकारी दिए । स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिहरूलाई पनि सक्रिय बनाइएको उनले बताए ।