काठमाडौं । नेकपा (एमाले)का सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।
सरकारले चलाउनेविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा फिर्ता गर्ने निर्णय गरेर सरकारले दण्डहिनता निम्त्याएको उनको भनाइ छ । उनले 'सदाचारको पक्षमा सधैँ उभिने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुद्दा फिर्ता लिने निर्णयमा कसरी हस्ताक्षर गर्न सक्नुभयो ?' भनी प्रश्नसमेत गरे ।
बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले देश बनाउने जिम्मेवारी पाएको कांग्रेस र एमाले जस्ता ठूलो पार्टीका प्रतिनिधिहरूले नै मुलुकमा दण्डहीनताको स्थिति सृजना गर्ने काम गर्न नहुने बताए ।
"प्लिज, तपाईंले यो निर्णय फिर्ता लिनुस् । र, तपाईंले आफ्नो पुरानो प्रतिबद्धता, मान्यता हो । त्यसमा उभिनुस् । त्यसले नै हामी जुन पार्टीलाई प्रतिनिधित्व गरिरहेका छौँ नेपाली कांग्रेस, नेकपा एमाले । यस्ता ठूला राजनीतिक दलहरूले नै यस्ता बेथितिहरूको, दण्डहीनताको स्थिति तपाईं–हामीले नै सृजना गर्ने हो भने यो देश कसले बनाउँछ ?," भट्टराईले भने ।