site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।

चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बुधबार बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । सो जहाजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० यात्रु सवार थिए ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी समेत जहाजमा सवार थिए । उक्त जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्कनेछ ।

अध्यक्ष तिमिल्सिनासहित सात सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा गएको जेठ २७ गते चीन भ्रमणमा गएका थिए ।

गएको अंग्रेजी नयाँ वर्षदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरिएको थियो । तर, अन्तर्राष्ट्रिय उडान र अवतरण भएको थिएन ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्