
काठमाडौं । “लिग–२ मा त्यसअघि खेलेका धेरै खेलमा नतिजाका लागि राम्रोसँग लडेका थियौं । त्यसैकारण ती खेलहरूले हामीमा अझ आत्मविश्वास थप्नेछ,” एकदिवसीय विश्वकप छनोटका लागि जिम्बाब्वेमा रहेको नेपाली टिमका ओपनर ब्याटर आसिफ शेखले भने ।
सन् २०२३ को मध्यसम्म विभिन्न उतारचढाव पार गरेको नेपाली क्रिकेट टिमले घरेलु मैदानमा अविश्वसनीय प्रदर्शन गर्दै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाएको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्वभाविक लयका लागि संघर्षरत नेपाली टिमको भाग्यमा मोन्टी देसाई मुख्य प्रशिक्षकमा नियुक्त भएपछि एकाएक कायापलट भएको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम १२ खेल बाँकी रहँदा पनि नेपाली शीर्ष तीनमा रहने सम्भावना कायम थियो । तर, त्यसका लागि १२ खेलमध्ये १० खेलमा जित निकाल्नुपर्ने कठिन चुनौती थियो ।
अविश्वसनीय र जुझारु घरेलु समर्थकको सहयोगमा नेपाली टिमले बाँकी रहेका एक दर्जन खेलमध्ये ११ खेलमा जित निकाल्दै अप्रत्यासित रूपमा विश्वकप छनोटका लागि स्थान पक्का गर्यो ।
१२औँ खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध डकवर्थ लुईस पद्दति (डीएलएस) अनुसार जित निकाल्दै नेपालले विश्वकप छनोटका लागि जिम्बाब्वेको यात्रा निश्चित गरेको थियो ।
लिग–२ मा नेपालले तेस्रो स्थान पक्का गर्दा नामिबियालाई चौथो स्थानमा धकेल्दै छनोटका लागि पनि क्वालिफायर खेल्नुपर्ने बाध्यतामा पुर्याएको थियो । त्यहाँबाट यूएई र अमेरिकाले जिम्बाब्वेमा स्थान बनाउँदा नामिबिया भने छनोटसम्म आइपुग्न सकेन ।
यस्तो अवस्थामा नेपालको प्रदर्शनमा कसरी जादुमयी परिवर्तन आयो ? कसैलाई थाहा छैन । तर, युवा विकेटकिपर ब्याटर शेखका लागि भने भविष्यमा ध्यान केन्द्रित गर्दा नतिजा राम्रो आएको हो ।
“विश्वकप छनोटमा आइपुग्नु अविश्वसनीय कुरा हो,” आसिफले भने, “इमानदार भएर भन्नुपर्दा १२ खेलमध्ये ११ खेल जित्नु आश गरिएको कुरा थिएन । यो टिम इफोर्टको परिणाम थियो, सबैले योगदान दिएका छन् । मलाई लाग्छ नेपाली क्रिकेटमा अहिले हामी उत्कृष्ट यात्रा तय गरिरहेका छौँ । र, हामी विश्वकप छनोटका लागि निकै उत्साहित छौँ ।”
नेपालको यो अविश्वसनीय यात्रा समर्थकको ‘बेपरवाह माया’ कारण सम्भव भएको कुरा नेपाली खेलाडीहरू र उनीहरूका लाखौं समर्थकले बुझेका छन् । तर, दक्षिण अफ्रिकाको भर्खरैको तयारी भ्रमणमा नेपाली टिमले विदेशी वातावरणमा चुनौती पहिचान गरेको छ । नेपाली क्रिकेटको ‘ब्रान्ड’ले टिमको विश्वकप यात्रामा सहयोग गर्नसक्ने कुरा आफिसले बुझेका छन् ।
“नेपालमा हामीले पाएको समर्थन अविश्वसनीय थियो । फाइनलका दिन हाम्रो खेल हेर्न ठूलो संख्यामा मानिसहरू उपस्थित भएका थिए,” आसिफले थपे, “हामीले यहाँ त्यो समर्थनलाई मिस गर्नेछौँ । तर, उनीहरूले नेपालबाट नै समर्थन गर्नेछन् भन्ने हामीलाई थाहा छ । हामी कहाँ खेल्छौँ भन्ने कुराले महत्व नै राख्दैन । किनकी जहाँ खेले पनि नेपाली समर्थक हामीसँगै छन् भन्ने थाहा छ । उनीहरू हामीलाई नेपालबाट नै समर्थन गर्नेछन् भन्नेमा दुईमत छैन ।”
“हामी छनोटमा स्तरीय क्रिकेट खेल्नेछौँ । हामी यहाँ धेरैभन्दा धेरै खेल जित्नेछौँ भन्ने कुरामा विश्वस्त छौँ । सबै कुरा खेलको दिन उत्कृष्ट प्रदर्शन गर्नेमात्र हो । खेलको दिन हामीले आफ्नो उत्कृष्ट प्रदर्शन दियौं भने पक्कै पनि जित हाम्रो नै हुनेछ भन्ने विश्वास छ,” आसिफ भन्छन् ।
देसाई र नेपाली टिम छनोट गर्ने समूह लिग–२ र एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन देखाएको टिमप्रति सकारात्मक छ । नेपालले घरेलु मैदानमै प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा पनि स्थान निश्चित गरेको थियो ।
निरन्तर एकै लयमा रहेका भीम सार्की र शेख दाजुभाईसँगै मध्यक्रममा कप्तान रोहितकुमार पौडेल र कुशल मल्लको जोडीले पहिलो–११ मा निरन्तरता स्थान पाउने देखिन्छ । आसिफले कुशलसँगै ओपनिङ गर्दा नेपाली टिम युवा अलराउन्डर गुल्सन झाको उपस्थितिले अझै स्तरीय बनेको छ ।
पछिल्लो समय चर्चा कमाउँदै गरेका युवा अलराउन्डर गुल्सन नेपाली टिमबाट एकदिवसीय क्रिकेटमा ‘डेब्यू’ गर्ने तेस्रो युवा क्रिकेटर हुन् । उनले सन् २०२१ मा १५ वर्षको उमेरमा अमेरिकाविरुद्ध राष्ट्रिय टिमबाट पहिलो क्याप जितेका थिए । र, झा लिग–२ र प्रिमियर कप (यसै वर्ष हुने एसिया कपको छनोट प्रतियोगिता)को फाइनलमा नेपाली टिमको प्रमुख सदस्य बनेका थिए ।
प्रिमियर कपको फाइनलमा देसाईले देब्रेहाते ब्याटर गुल्सनलाई तेस्रो नम्बरमा नै ब्याटिङका लागि पठाएका थिए । उक्त खेलमा देसाईले दिएको भूमिकामा आफूलाई प्रमाणित गर्दै गुल्सनले अविजित ६७ रनसहित नेपाललाई एसिया कपमा भारत र पाकिस्तानको समूहमा सुरक्षित गरेका थिए ।
भर्खरको लयलाई फर्केर हेर्दा देसाईबाट पाएको विश्वासका कारण यो सबै सम्भव भएको बताउँछन् आसिफ । उनले विश्वकप छनोटमा पनि देसाईको यही विश्वाससाथ मैदान उत्रिने बताए ।
“नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएकै दिन हामी देसाईसँगै एकसाथ बस्यौं । हामीले सानो छलफल गरेका थियौं । त्यहाँ उनले हामीले अब १२ खेलमध्ये १० खेलमा जित निकाल्नुपर्ने बताएका थिए । र, त्यसपछि हामीले ११ खेलमा जित निकाल्यौं,” आसिफ भन्छन्, “त्यो हामीप्रति देसाईमा रहेको विश्वास र भरोसा थियो । एसिया कपमा छनोट हुनुअघि उनले हामी यो खेल्नेछौँ भनेका थिए । उनी निकै राम्रा छन् । उनी हामीसँगै कठिन मेहनत गर्छन् र हामीलाई प्रत्येक खेल जित्न सक्छौँ भन्ने विश्वासी बनाउँछन् ।”
पेस र स्पिनको अनुभवी विकल्पका कारण बलिङ सँधै नेपालको बलियो पक्ष बन्दै आएको छ । तर, पछिल्लो समय ब्याटिङमा देखिएको सुधारले नेपाली टिमलाई सुपर सिक्स चरणमा पुग्ने बलियो मौका छ ।
लिग–२ को शीर्ष तीनसम्मको यात्रा
नेपालको मुख्य प्रशिक्षकमा देसाई नियुक्त हुँदा टिम तालिकाको पुछारबाट दोस्रो स्थानमा थियो । त्यसबेला नेपाललाई १२ खेलमध्ये ११ खेलमा जित आवश्यक थियो । देसाईको आगमनपछि नेपालले आश्चर्यजनक लयलाई कायम राख्दै लिग–२ को शीर्ष तीनमा रहेर जिम्बाब्वे यात्रा पक्का गरेको थियो । नेपालले लिग–२ को अन्तिम खेलमा यूएईलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा डीएलएस अनुसार नौ रनले हराउँदै विश्वकप छनोटमा स्थान निश्चित गरेको थियो ।
विश्वकपमा नेपाल
नेपाल हालसम्म एकदिवसीय विश्वकपमा छनोट हुन सकेको छैन । यसअघि नेपालले सन् २०१९ को विश्वकपका लागि २०१८ मा भएको छनोटमा नेट रनरेटका कारण सुपर सिक्ससम्मको यात्रा पनि तय गर्न सकेको थिएन ।
तर, नेपालले एकपटक आईसीसीको ठूलो प्रतियोगिता भने खेलेको छ । नेपाली टिमले सन् २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । यो नै नेपालले खेलेको हालसम्मकै ठूलो आईसीसी प्रतियोगिता हो ।
‘प्लेयर्स टू वाच’
रोहितकुमार पौडेल (कप्तान)– सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध राष्ट्रिय टिमबाट ‘डेब्यू’ गरेका रोहित पछिल्लो समय नेपाली टिमको मुख्य सदस्य बनेका छन् ।
त्यसयता नेपाली टिमबाट ४६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका रोहितले १३२६ रन बनाएका छन् । रोहितले २०२२ को नोभेम्बर ११ मा नेपाली टिमको कप्तानी जिम्मेवारी पाएका थिए । ३३.१५ को औषतमा ब्याटिङ गर्ने २० वर्षे युवा ब्याटर रोहितको प्रदर्शन नेपाली टिमको विश्वकप छनोट यात्रामा हेर्नलायक हुनेछ ।
रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट उच्च रन प्रहार गर्ने खेलाडीसमेत हुन् । एकदिवसीय क्रिकेटमा रोहितले एक शतक र आठ अर्धशतक प्रहार गरेका छन् ।
आसिफ शेख– एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट उच्च रन बनाउने रोहितलाई पछ्यारहेको ब्याटर हुन्, आसिफ शेख । सन् २०२१ मा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा ‘डेब्यू’ गरेका आसिफले १०८१ रन जोडेका छन् । नेपालबाट ३७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका आसिफले ३१.७९ को औषत ब्याटिङ गर्छन् । एकदिवसीय क्रिकेटमा आसिफले एक शतक र आठ अर्धशतक प्रहार गरेका छन् ।
विश्वकप छनोटमा नेपालको खेल
विश्वकप छनोटमा सहभागी १० टिम दुई समूहमा विभाजित छन् । समूह ‘ए’ मा रहेको नेपालसँगै घरेलु टिम जिम्बाब्वे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ का आयरल्यान्ड, श्रीलंका, यूएई, ओमान र स्कटल्यान्ड छन् ।
जिम्बाब्वेविरुद्ध नेपाल असार ३ गते
अमेरिकाविरुद्ध नेपाल असार ५ गते
वेस्ट इन्डिजविरुद्ध नेपाल असार ७ गते
नेदरल्यान्ड्सविरुद्ध नेपाल असार ९ गते