site stats
बाह्रखरी :: Baahrakhari
खेल
कुशलको शतकमा ओमानविरुद्ध नेपाल विजयी

काठमाडौं । ओनपर कुशल भुर्तेलको शतकप्रेरित नेपालले एकदिवसीय विश्वकप छनोटअघिको ‘वार्म अप’ खेलमा ओमानलाई दुई विकेटले पराजित गरेको छ ।

हरारे स्पोर्ट्स क्लबमा ओमानले प्रस्तुत गरेको २६८ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर भुर्तेलले ९४ बलमा १०१ रन रिटायर्ड आउट भए । भुर्तेलले १३ चौका र दुई छक्का प्रहार गरे । भीम सार्की ५६ रनमा आउट भए । यी दुईले दोस्रो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । कप्तान रोहितकुमार पौडेल ३१, दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २३, र कुशल मल्ल १७ रनमा आउट भए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसअघि पहिले ब्याटिङमा आएको ओमानले ४९.२ ओभरमा सबै विकेट गुमाएर २६७ रनको योगफल खडा गरेको थियो ।

नेपालका सोमपाल कामीले पाँच विकेट लिए । ९.२ ओभर बलिङ गरेका सोमपालले दुई मेडन राख्दै ५७ रन खर्चिए । सन्दीप लामिछानेले तीन विकेट लिए । सन्दीप यसअघि पहिलो ‘वार्म अप’ खेल खेलेका थिएनन् । यसबाहेक, करण केसी र प्रतिश जिसीले एक विकेट लिए ।

यसअघि पहिलो ‘वार्म अप’ खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग तीन विकेटले पराजित भएको थियो ।

नेपालले अब जुन १८ मा विश्वकप छनोटको पहिलो खेल खेल्नेछ । विश्वकप छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स र अमेरिका छन् ।

नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

प्रतियोगिताका दुई समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिम यसै वर्षको अक्टोबरदेखि नोभेम्बरसम्म भारतमा हुने विश्वकपका छनोट हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्