
काठमाडौं । ‘बी’ डिभिजन लिगमा घटुवा भएको विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेलमा मिलोमतो भएको आरोप लगाएको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाउँदै एपीएफले लिगमा मिलोमतो भएको भन्दै फिफा र एएफसीको ‘कोड आफ कन्डक्ट’ तथा ‘इन्टिग्रेटी’को नियम अनुसार आवश्यक कारबाही गर्न एन्फालाई पत्र बुझाएको हो ।
एपीएफले जेठ २३ गते चर्च ब्वाइज युनाइटेड र थ्री स्टार तथा २४ गते संकटा क्लब र फ्रेन्ड्स क्लबबीचको खेल प्राकृतिक नभएको आरोप लगाएको छ ।
“अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० अन्तर्गत यही जेठ २३ गते चर्च ब्वाइज र थ्री स्टार तथा २४ गते संकटा क्लब र फ्रेन्ड्स क्लबबीच दशरथ रंगशालामा भएको खेल प्राकृतिक नभई मिलेमतो भएको देखिएकाले उक्त नियमविपरीत भएका खेलहरूको निष्पक्ष छानबिन गरी फिफा र एएफसीको ‘कोड आफ कन्डक्ट’ तथा ‘इन्टिग्रेटी’को नियम अनुसार आवश्यक कारबाही गरी विशुद्ध फुटबल प्रकृतिको विकास र प्रबर्द्धनका निमित्त ध्यानाकर्षण गराउँदछौँ । साथै यस क्लबले एएफसीको ‘इन्टिग्रेटी डिपार्टमेन्ट’ मा समेत आवश्यक छानबिनका निमित्त निवेदन गर्ने जानकारी गराउँदछौँ,” एपीएफले बुझाएको पत्रमा भनिएको छ ।
चर्च ब्वाइज र थ्री स्टारबीचको खेल गोलरहित बराबरी र संकटा र फ्रेन्ड्सबीचको खेल १–१ को बराबरीमा सकिएको थियो ।
यस्तै, एपीएफले जेठ २७ गते लिगको अन्तिम खेलमा जावलाखेल युथ क्लबविरुद्ध थ्री स्टारका नाइजेरियन खेलाडी मार्टिन अजयीको नेपालको भिसाबिनै खेलेको र उनले २३ गते चर्च ब्वाइज युनाइटेडसँग पनि भिसाबिनै खेलेको भन्दै कारबाहीको मागसहित अर्को पत्र बुझाएको छ । एपीएफले अर्का नाइजेरियन खेलाडी सगुन पिटर पनि भिसा समाप्त हुँदा लिगको खेल खेलेको भन्दै कारबाहीको माग गरेको हो ।
एपीएफ यस सिजन १३औँ स्थानमा रहँदै ‘बी’ डिभिजन लिगमा घटुवा भएको हो । यस सिजन एपीएफले २६ खेलबाट ३० अंक जोडेको थियो । विस २०६२ देखि शीर्ष डिभिजन लिग खेल्न लागेको एपीएफ पहिलोपटक दोस्रो डिभिजनमा झरेको हो ।