site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराट कोहली : टेस्ट क्रिकेटबाट एक महारथीको बिदाइ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिँदै गर्दा भने, ‘मैले यो यात्रा यस्तो हुन्छ भन्ने सोचेको थिइनँ । यसले मलाई प्रशिक्षित गर्‍यो, सिकायो र म यी सिकाइलाई जीवनभर लैजानेछु ।’

सहकर्मी तथा टोलीका पूर्वकप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गरेको एक दिनपछि ३६ वर्षीय कोहलीले पनि सोही संरचनाबाट सन्न्यास लिने  घोषणा गरेका हुन् । सन्न्यास लिनेबारे शनिबार नै कोहलीले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई जानकारी दिइसकेको भारतीय सञ्चारमाध्यमले खुलाएका छन् ।

उमेरअनुसार कोहली अझै पनि क्रिकेटको यो संरचनाका निम्ति ‘बुढा खेलाडी’ भइसकेका थिएनन् । उनीभन्दा पाका उमेरका खेलाडी अझै पनि टेस्ट क्रिकेटमा रमाइरहेका छन् । तर कोहलीलाई यही समय सन्न्यासका लागि उपयुक्त लाग्यो । 

कोहलीले भारतीय टेस्ट क्रिकेटमा सचिन तेन्दुुल्कर, राहुल द्रविड र सुनील गाभास्कारपछि चौथो सर्वाधिक रन बनाउने खेलाडीमा दर्ज भएर सन्न्यास घोषणा गरे । हालसम्म भारतबाट टेस्ट क्रिकेटमा सचिनले १५ हजार ९२१, राहुलले १३ हजार २६५ र सुनिलले १० हजार १२२ रन बनाएका छन् ।

birat-(4)-1747045500.png
 

सन्न्यास घोषणा गर्दै कोहलीले सामाजिक सञ्जालमा लेखे, “मैले पहिलोपटक टेस्ट क्रिकेटमा भारतीय जर्सी लगाएको १४ वर्ष भइसक्यो । इमानदारीपूर्वक भन्नुपर्दा मैले यो ढाँचामा यति लामो यात्रा कल्पना पनि गरेको थिइनँ । यो ढाँचाले मेरो परीक्षा लिएको छ । मलाई एक तहसम्म अनुभवी बनाएको छ । मलाई धेरै सिकाएको छ । जुन म जीवनभरि अँगाालेर हिँड्नेछु ।” 

उनले सेतो जर्सीमा खेल्दाका विभिन्न अनुभव रहेको उल्लेख गरेका छन् । “यो खेलबाट टाढा जाने मेरो निर्णय सजिलो छैन । तर मलाई अहिले उचित समय हो भन्ने लागेको छ,” उनले थप लेखेका छन्, “मसँग जति थियो मैले सबै कुरा दिएँ र यही खेलले मलाई सोचेको भन्दा धेरै दिएको छ ।” 

करियरमा आफूले विभिन्न आरोहअवरोह भोगेको र त्यसबारे आफूलाई मात्र थाहा भएको उनले बताएका छन् । उनले थपे, “मैले धेरै क्षण भोगेको छु । जुन क्षणहरू कस्ता थिए, त्यो लग्यो मलाई मात्र थाहा छ । म यो संरचना, खेल, मैदानका सहकर्मी र हातेमालो गर्ने प्रत्येक व्यक्तिहरूप्रति विशेष आभार प्रकट गर्न चाहन्छु ।”

यसै वर्ष सिड्नीमा सम्पन्न अस्ट्रेलियाविरुद्धको टेस्ट नै कोहलीको अन्तिम टेस्ट बनेको छ । पछिल्लो समय एकपछि अर्को अनुभवी खेलाडीले टेस्ट क्रिकेटबाट सन्न्यास लिइरहँदा आसन्न इंग्ल्यान्ड टेस्ट शृंखलामा भारत युवा खेलाडीमा सीमित बन्ने निश्चित भएको छ । 

birat-(6)-1747045605.png
 

भारतबाट रविचन्द्रन आश्विन, रोहित शर्मा र कोहलीले सन्न्यास लिँदा अजिन्क्या राहाणे, चेतेश्वर पुजारा पनि टिममा हुने छैनन् । यी अनुभवी खेलाडीको अनुपस्थितिले भारतीय टोलीको प्रदर्शन फितलो हुने अनुमान छ । 

१४ वर्षे टेस्ट क्रिकेटको करियरमा रमाएका कोहली यो संरचनामा भारतीय टोलीका सफल कप्तानमध्येका एक हुन् । टेस्ट क्रिकेटमा कोहलीले कप्तानी सम्हाल्दा भारतले ६८ खेलमध्ये ४० खेलमा जित निकालेको छ । कोहलीकै कारण भारतले केही कीर्तिमानी जितसमेत अनुभव गर्न पायो । 

भारत सन् २०१८–०१९ को बोर्डर–गाभास्कर ट्रफीमा पहिलोपटक अस्ट्रेलियालाई उसैको घरमा हराउन सफल बन्यो । उक्त शृंखलामा भारतले घरेलु टिमलाई २–१ ले निराश बनाएको थियो । कोहलीको कप्तानीमा रहँदा भारतीय टिमको दबदबा उस्तै थियो । जुनसुकै खेलमा २० विकेट लिन सक्ने बलरको साथ हुँदा त्यसबेला भारतीय टिमलाई जुनसुकै देशमा पनि उत्कृष्ट नतिजा निकाल्न सक्ने ‘भयानक’ टोलीका रूपमा चिनिन्थ्यो ।

टेस्ट क्रिकेटमा कोहलीको उदय र पतन 

कोहलीको यो निर्णयले विश्व क्रिकेटलाई नै अच्चम्मित बनाएको छ । एकनासको प्रदर्शनका कारण कोहली १४ वर्षमा नै यो संरचनामा चर्चाको केन्द्र बने । 

टेस्ट क्रिकेटमा कोहलीले सन् २०११ मा भारतीय टिमबाट ‘डेब्यु’ गरे । जहाँ भारतले किंग्सटनमा वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गरिरहेको थियो । तर, कोहलीको वास्तविक उदय भने सन् २०१४ मा अस्ट्रेलियाविरुद्ध टेस्ट क्रिकेटबाट भयो । 

जहाँ उनी अस्ट्रेलियाका निम्ति खरो चुनौती बने । उनले यो शृंखलामा चार टेस्टबाट चार शतकसहित ६९२ रन बनाए । यो नतिजासँगै कोहलीका निम्ति अस्ट्रेलिया टेस्ट क्रिकेटमा सबैभन्दा रोजाइको प्रतिद्वन्दी बन्यो । सन्न्याससम्म आइपुग्दा कोहलीले अस्ट्रेलिया विरुद्धमात्रै टेस्ट क्रिकेटमा नौ शतकसहित तीन हजार ३२० रन बनाएका छन् । 

सन् २०१५ र २०१९ बीच कोहली एकपछि अर्काे कीर्तिमान तोड्दै चर्चाको शिखरमा रहे ।  कोहलीका निम्ति सन् २०१६ विशेष रह्यो । उनले इंग्ल्यान्डविरुद्ध करियरकै उत्कृष्ट इनिङ खेल्दै २३५ रन प्रहार गरेका थिए । उनले इंग्लिस टोलीविरुद्ध चार शतक प्रहार गर्दा सन् १९९८ मा सचित तेन्दुल्करको झल्को दिए ।  उक्त शृंखलामा उनले कुल १२१५ रन बनाए । तर, त्यसको दुई वर्षसम्म प्रतिद्वन्द्वीका निम्ति कोहली टेस्ट क्रिकेटमा विश्व क्रिकेटका सबैभन्दा कठिन ब्याटर बने । 

birat-(8)-1747045678.png
 

सन् २०१९ को डिसेम्बरसम्म टेस्ट क्रिकेटमा कोहलीको एकल राज रह्यो । उनले बंगलादेशसँग इतिहासमै पहिलोपटक भारतले खेलेको ‘पिंक बल टेस्ट’ खेलमा शतक प्रहार गरे । तर यसपछिको तीन वर्षसम्म कोहलीको प्रदर्शन निराशजनक रह्यो । करिब साढे तीन वर्ष कोहलीले शतक प्रहार गर्न सकेनन् । 

यसैबीच सन् २०२२ मा भारतले दक्षिण अफ्रिकासँग पराजय भोगेपछि कोहलीले तीनै तहका संरचनाबाट कप्तानी छाडे । कप्तानी छोड्नुले कोहलीबाट टिमको अतिरिक्त दबाब कम हुन पुग्यो । यसपछि कोहलीको ब्याटबाट पुनः शतक बन्न थाले । तर, उनको पुरानो लय भने कहीँ हराएजस्तै भयो । २०१९ को सेप्टेम्बरसम्म ५५.१० रहेको उनको औसत झर्दै ४७ मा आइपुग्यो । 

जे होस्, कोहलीले सन्न्यास लिनुअघि टेस्ट क्रिकेटमा १० हजार रन पूरा गर्ने लोभ देखाएनन् । भारतको जर्सीमा उनले नौ हजार २३० रन बनाइसक्दा १० हजार पुग्न ७७० रनमात्र बाँकी थियो । उनले यो संरचनामा २१० इनिङ खेल्दा ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro