अहिले नेपालको राजनीतिमा दुई व्यक्ति अत्यन्त शक्तिशाली देखिएका छन् । यी दुईजना प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीभन्दा पनि बढी शक्तिशाली बनेका छन् भनेमा अतिशयोक्ति नहोला । ती शक्तिशाली दुई नाम हुन् – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने ।
यी दुवै नेताको पक्षमा जुन प्रकारको अपार जनसमर्थन देखिएको छ त्यसले स्थापित राजनीतिक शक्तिलाई जरैबाट हल्लाएको छ भने जनसाधारणलाई उनीहरूको लोकप्रियताले खुसी बनाएजस्तो देखिएको छ । तर, यी नेताहरू आफ्नो बढ्दो लोकप्रियताकै आडमा स्वेच्छाचारी बन्ने जोखिम पनि उत्तिकै चुलिएर गएको छ ।
स्वेच्छाचारी बन्ने बाटोमा रविभन्दा बालेन अगाडि देखिइसकेका हुनाले समयमै उनका क्रियाकलापमा केही टिप्पणी गर्न जरुरी भएको हो ।
राजनीतिक नेतृत्वले जब आफूलाई कुनै पनि आलोचनाभन्दा माथि सम्झिन्छ र उसको कुनै पनि निर्णयलाई समर्थकले उग्रतापूर्ण अन्धसमर्थन गर्छन् त्यसबेला स्वस्थ आलोचना गर्नेहरू हरेस खान थाल्छन् ।
लेख, समाचार वा सामाजिक सञ्जालमा कुनै विषयमा टिप्पणी गर्दा एकोहोरो ढंगले गाली गर्नेमात्र नभई उत्तेजनात्मक, घृणाजन्य र मनपरी गाली गर्ने तिनका हजारौं समर्थकले गर्दा सहीलाई सही र गलतलाई गलत भन्न नसक्ने अवस्था सिर्जना भएको छ । लोकतन्त्रका लागि यो अत्यन्त खतरनाक संकेत हो । रास्वपाले आफ्ना समर्थकलाई यस्तो नगर्नु भनेर बारम्बार सम्झाएको पनि छ तर बालेनले त सम्झाएको पनि देखिँदैन ।
समर्थकका डरले प्रशंसा गर्यो भन्ने आरोप लागे पनि बालेनले काठमाडौं महानगरपालिकाको मेयर भएपछि गरेका प्रशंसायोग्य कामको उल्लेख नगरी उनका गल्तीमात्र निकाल्न खोज्नु पनि अर्को अतिवाद हुन्छ ।
सहरका ठूला भवनहरूको नक्सा पास गर्दा पार्किङ्ग बनाउँछु भनेको ठाउँ पछि भाडामा लगाउने कार्यलाई उनले निस्तेज पारे । काठमाडौंका सडकहरू पहिलेभन्दा सफा र सुन्दर देखिएका छन् । अनि काठमाडौंमा शक्तिको आडमा जथाभावी निर्माण गर्नेहरूलाई पनि नियम मान्नुपर्छ नत्र बालेनले छोड्दैनन् भन्ने सशक्त सन्देश दिएका छन् ।
धेरै विद्यालयले आफूले दिनुपर्ने छात्रवृत्ति नदिएको विषयमा महानगरले जुन कारबाही अघि बढाएको छ त्यो पनि स्वागतयोग्य छ । विद्यालय र विद्यार्थीको खाजाका विषयमा अनुगमन गरेको र स्वास्थ्य संस्थाहरूमा मापदण्ड कार्यान्वयन गर्न खोजेको कार्यको पनि समर्थन गर्नुपर्छ ।
मेयर बालेनको व्यक्तिगत छवि स्वच्छ हुनु र भ्रष्टाचारको विषयमा कठोर अडान लिनु सबैभन्दा सशक्त पक्ष हो । तर, यी गुण र कार्य क्षमताका कारण उनले गरिब जनतालाई दुःख दिने, काम गरेर खान नदिने र देशको अन्तर्राष्ट्रिय सम्बन्ध खलल पार्ने कार्य भने गर्नु हुँदैन र गर्न पाउनु हुँदैन ।
बालेन मेयर भएर आएपछि उनले आफू गरिब जनताको प्रतिनिधि होइन भन्ने स्पष्ट सन्देश दिए । चुनाव ताका नै तराईमा ७० बिघा जमिन भएको भनेर प्रचार गरिएको थियो । ठ्याक्कै ७० बिघा हो होइन तर आफू जमिनदार भएको कुरा अन्तर्वार्ताहरूमा उनले आफैँ स्वीकारेका छन् । जमिनदार हुनुका कारणले भ्रष्टाचारी नहुन मद्दत भयो होला तर जमिनदारी प्रवृत्तिले गरिबप्रति उनलाई निरंकूश बनाएको पनि स्पष्टै देखिएको छ ।
सडक पेटीमा दस मुठा साग बेच्ने वा ठेलामा खानेकुरा बेच्ने वा बाटोमा मकै पोलेर बस्नेहरूको पेटमा कसेर लात हान्दा यिनको जमिनदारी सोचले अलिकति पनि मानवीय संवेदनाको पर्वाह गर्न दिएन । किनभने सामन्तीहरू झुत्राझाम्रा, गरिब, फोहोरी मान्छे हेर्न सक्दैनन् । सामन्तहरू गरिबलाई गरिबीको चपेटाबाट माथि उठाउनुभन्दा भोकले मरे भने किरिया गर्न दाउरा किनेर महान् देखिन सदा तत्पर हुन्छन् ।
के काठमाडौंका सडकहरूमा गरिब हिँड्नु हुँदैन ? काठमाडौंमा गरिबले बाँच्नु हुँदैन ? के यो सहरमा धनी र तिनका गुमस्ताले मात्र बसोबास गर्नुपर्ने हो ?
होइन भने मेयरले गरिबलाई विस्थापित गर्नु पूर्व कुनकुन ठाउँमा, कुनकुन समयमा कति कति जनाले सडकमा बसेर बेच्न पाउने, तिनले कति शुल्क तिर्नुपर्ने, सफाइका कस्ता नियम पालना गर्नुपर्ने भन्ने नियम बनाउनुपर्ने होइन? संसारभरका सहरमा सडक बजार हुन्छन्, सडकमा खानेकुरा बेचिन्छ, सडकमा सानातिना काम गर्ने मान्छे हुन्छन् ।
संसारकै गरिब देशको सूचीमा तलबाट अगाडि रहेको नेपाल र यसको राजधानी सहरमा भने गरिबले बाँच्न नसक्ने अवस्था सिर्जना भएको छ । तैपनि, त्यसको यथोचित विरोध भएको छैन । किन विरोध हुँदैन ? बालेनका हुँडारहरूले सामाजिक सञ्जालमा गर्ने आक्रमणको डरले विरोध हुँदैन । केही विरोध गर्नेले कस्तो आक्रमण सहनु परेको हुन्छ भन्ने त सामाजिक सञ्जालमा खुला प्रदर्शनमा रहेकै छ ।
बालेन स्वेच्छाचारी भएको अर्को उदाहरण केही समयअगाडि सिंहदरबारको फोहोर नउठाउने निर्णय पनि हो । फोहोर व्यवस्थापन गर्ने कार्यमा केही मन्त्रालयले असहयोग गरेको कुरालाई 'इस्यु' बनाएर नेपालको सरकारी कामकाजको केन्द्रमाथि त्यसरी अत्याचार गर्न हुँदैन थियो । सरकारले कुनै बहाना बनाएर महानगरपालिकाले विभिन्न शीर्षकअन्तर्गत पाउने रकम हस्तान्तरण गर्न आलटाल गर्योभने के हुन्छ ? यस्तो हचुवा निर्णय त अपरिपक्व र सनकी व्यक्तिले मात्र गर्छ ।
उनको सनकको अर्को उदाहरण 'ग्रेटर नेपाल'को नक्सा आफ्नो कार्यकक्षमा राख्नु पनि हो । भारतले आफ्नो संसद्मा 'भारतवर्षको पौराणिक नक्सा (मुराल)' राख्दा नेपाल, पाकिस्तान, बङ्गलादेश आदि त्यसभित्र परेको र त्यसले नेपालीको चित्त दुःखाएको सही हो । तर, कसैले चित्त दुख्ने काम गर्दा आफूले पनि त्यहीअनुरुपको व्यवहार गर्नु त परिपक्वता भएन ।
केही दिनअगाडि बालेनले एउटा स्टाटस राखेका थिए - सांसद विकास कोषको रकमका बारेमा । त्यो सटिक पनि थियो । जेठ १६ गते फेसबुकमा राखेको उनको स्ट्याटसमा बालेन लेख्छन् - “सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्युहरू ?”
यो स्ट्याटस राख्दा उनले जुन तरिकाले सोचेका हुन् ‘ग्रेटर नेपाल’ को नक्सा आफ्नो कार्यकक्षमा राख्दा पनि सोही तरिकाले सोच्नुपर्ने थियो । किनभने महानगरपालिकाको काम परराष्ट्र सम्बन्धमा टिप्पणी गर्ने वा सम्बन्धमा खलल गर्ने होइन । उनले एक राजनीतिक व्यक्तिको रूपमा सो निर्णय लिएको भए पनि महानगरपालिकाको पद र कार्यालयलाई दुरुपयोग गर्नु हुँदैन थियो ।
‘ग्रेटर नेपाल’को नक्साको विषयमा पनि उनमा अपरिपक्वता देखिन्छ । नेपालले सन् १८१६ मार्च ४ मा अंग्रेजसँग सुगौली सन्धि गरेर अहिलेको नक्सालाई मानेको हो ( त्यसमा चुच्चे भाग पनि पर्थ्यो) । अब, सो नमान्ने हो भने र भारतले उनको मागको आधारमा साँच्चै ग्रेटर नेपाल मानिदियो भने त्यसपछिको नेपालमा कसले शासन गर्छ ? अहिले नेपालको भूभागमा बस्ने मानिसको जनसंख्या कति होला र ‘ग्रेटर नेपाल’ भनिएको भूभागमा बस्ने कति होलान् ? अनि त्यस्तो अवस्थामा निर्वाचन हुँदा को सत्तामा पुग्ला ?
यसको मतलब, कसैले ‘ग्रेटर नेपाल’को सोच अघि बढाउँदैछ भने उसले नेपालको हित होइन नेपाललाई भारतसँग मिलाउने षडयन्त्रमा साथ दिँदैछ भन्ने बुझ्नुपर्छ ।
बालेन लोकप्रिय छन्, स्वच्छ छविका छन् र केही गरौँ भन्ने चाहना पनि राख्छन् तर उनी अनुभवहीन, अपरिपक्व, झोँकी र अस्थिर मनःस्थितिका देखिन्छन् । उनले विश्व प्रसिद्ध सिनेमा ‘स्पाइडर म्यान’ हेरेका भए बुझ्नुपर्ने थियो - “महान् शक्तिसँगै महान् जिम्मेवारी पनि आउँछ” । नभए त त्यो शक्ति विध्वंशकारी हुनजान्छ ।