site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
नाटककार मोतीराम भट्ट तथा अरू नाटककारहरू
Ghorahi CementGhorahi Cement

श्री मोतीराम भट्ट नेपालीका सर्वप्रथम नाटककार हुन् भन्ने कुरा आजसम्मको अनुसन्धानले बताएको छ । उनीबाट नै सर्वप्रथम नेपाली भाषामा नाटक देखा परेको, अनुवाद भएको हो भन्ने कुरा विद्वानहरूको भनाइ छ । तसर्थ उनलाई नेपाली नाटकको स्रष्टा भन्नुपर्दछ भन्ने मत छ ।

भट्टजीको जन्म सम्वत् १९१३ भाद्रमा भयो र १९५३ मा ३१ वर्षको उमेरमा मृत्यु भयो । यिनले नेपाली साहित्य गतिशील बनाए । वि.सं. १९४८ (१९५९ ?) सालतिर शकुन्तला नाटक जनसमक्ष आएको अनुमान गरिन्छ । पं. श्री नरदेव शर्माद्वारा रचित यिनको जीवनीमा मोतीराम भट्टले ‘पद्मावती’ नाटक अपूर्ण, ‘काशिराम चन्द्रसेन’ अपूर्ण र ‘हुस्न अफरोज आराम दिल’ उर्दू आदि नाटक पनि लेखेको कुरा देखिन्छ । ‘प्रियदर्शिका’ र ‘शकुन्तला’ संस्कृत नाटकका अनुवाद हुन् ।

मोतीराम भट्ट नाटककार मात्र थिएनन् । उनी नाटक निर्देशक र नाटक अभिनयमा पनि ज्ञान राख्दथे । राणा मंत्रीको दरबारमा स्थापित नाट्यशालामा नाटक प्रदर्शन गर्न उनी नाटक लेखिदिने गर्दथे । उनले शकुन्तला नाटकको अनुवाद गरी आफ्नै निर्देशनमा मुख्त्यार देवशम्सेरको आग्रहमा नाटक खेलाई प्रधानमंत्री वीर शम्सेरसमक्ष (१९४९ साल) प्रदर्शन गराए ।

Dabur nepal
Agni Group

मोतीराम भट्टको पालामा नाच नाटकको खूब चहल–पहल थियो । यिनको शेषपछि केही समयको लागि नेपाली भाषाको नाटकको क्षेत्र सुस्त भै बन्दप्राय भयो ।

१९८२ सालमा पारसमणि प्रधानलिखित ‘बुद्ध चरित्र’ नाटक दार्जीलिङबाट प्रकाशित भयो । यो नाटक स्थानीय ‘दि हिमालयन एम्यूजमेन्ट एण्ड चिल्ड्रेन एसोसिएसन’को नाटक मण्डलीमा प्रदर्शनार्थ लेखिएको नाटक हो । यो कुरा श्री सूर्यविक्रम ज्ञवालीले यस नाटकमा लेखेको प्रस्तावनामा लेखेका छन् ।

मोतीराम भट्टका समकालीन पहलमानसिं स्वार (वि.सं. १९३५– १९९१) को ‘अटलबहादुर’ नाटक वि.सं. १९६२ मा प्रकाशित भयो । नेपाली भाषामा लेखिएको नाटकहरूमध्ये यो सर्वप्रथम दुखान्त नाटक हो । यो नाटक पश्चिमीय प्रसिद्ध नाटककार शेक्सपीयरको ‘हैमलेट’ नाटकबाट प्रभावित छ ।

नेपालीमा नाटक लेखिए तापनि यस बेलाका नाटकहरूमा हिन्दी, उर्दूका शब्दहरूको प्रयोग गरिएको देखिन्छ । नेपाली भाषामा अनुवाद वा मौलिक रचनाबारे अझै अनुसन्धान गर्न बाँकी नै रहेको कुरा श्री शिवगोपाल रिसाल तथा अरू अनुसन्धानकर्ताहरूको अनुसन्धानमा विचार गर्दा देखिन आएको फरक–फरक अनुसन्धानले बताउँछ ।

यहाँ, रिसालज्यूले सम्पादन गरेको ‘मालतीमाधव’को भूमिकाबाट लिइएको निम्नलिखित केही वाक्यहरूले उपर्युक्त कुराको पुष्टि गर्दछ—

‘आशुकवि श्री शम्भुप्रसाद उपाध्याय ढुंगेल संवत् १९४६ सालमा जन्मे । कविता तथा नाटकका मौलिक रचनाकार तथा अनुवादक कविजीले प्रधानमंत्री चन्द्र शम्सेरबाट आशुकविको उपाधि पाए । राणाका दरबारमा नाटक सिकाइन्थ्यो । त्यसताका ती दरबारहरूमध्ये सिंहदरबारमा नाटकको तालीम दिने गर्थे ।

यिनी फील्ड मार्शल केशर शम्सेरकहाँ जाने गर्दथे । आशुकवि विरचित ‘मालतीमाधव’ नाटक केशर पुस्तकालयमा प्राप्त भएको हो । प्रा. शिवगोपाल रिसालको भनाइअनुसार “आजसम्मको खोजको क्रममा कुनै पनि खोजुवाहरूको दृष्टिमा नपरेको र कसैले पनि उल्लेख नगरेको ‘मालतीमाधव’ नामक नाटक सं. २०२५ साल माघ २३ गते केशर पुस्तकालयमा पत्ता लाग्यो । यसका लेखक आशुकवि शम्भुप्रसाद उपाध्यायले आफ्नो हस्ताक्षरले यो पुस्तक श्री केशर शम्सेरलाई समर्पण गरेका छन् ।”

नाटकमा तीन अंक तेह्र दृश्यहरू र शून्य दृश्य दुई छन् । नाटकमा गीतहरू र गजलहरू पनि समावेश गरिएका छन् । संस्कृत साहित्य जगत्मा सुप्रसिद्ध सफल नाटककार भवभूतिको मालतीमाधवबाट यसले प्रशस्त प्रेरणा पाए तापनि यस नाटकमा अनेकौं भिन्नताहरू पाइन्छन् ।

यो भवभूतिको नाटकको भावानुवाद अथवा छायानुवाद होइन । शीर्षक भने भवभूतिकै हो । पात्रहरू पनि केही उस्तै छन् । घटना पनि कहीं–कहीं उस्तै छन् । तापनि यो आफ्नै ढंग र ढाँचाको छ । आधुनिक दृष्टिकोणको आधारमा किटान गरेर भन्ने हो भने नेपालीमा यो पहिलो स्वतन्त्र मौलिक सर्वप्रथम नाटक हो ।

पहलमानसिं स्वांरको ‘अटलबहादुर’ हैमलेटको भावानुवादजस्तो छ । बालकृष्ण समको ‘मुटुको व्यथा’ (१९८६ साल) अलि पछि आयो । शम्भुप्रसादको सम्भवतः अन्तिम कृति– (सं. १९८५–८६ तिर ?) स्वरूप यस नाटकलाई नेपाली मौलिक नाटकमा सबभन्दा जेठो भन्न आँट गरिएको छ ।

यसको नाम ‘मालतीमाधव’ रहे तापनि भवभूतिको नाटकसंग कत्ति मिल्दैन । आजसम्म पाइएका कुराहरूको आधारमा भन्ने हो भने नेपाली नाटकहरूमा सबभन्दा पहिलो मौलिक नाटक संयोगान्त नाटक हो भन्नुमा आपत्ति छैन । भवभूतिको ‘मालतीमाधव’चाहिँ मूलतः शृङ्गार रसले पूर्ण छ, तर योचाहिँ करुण एवं शान्त रसले भरिएको छ ।

उपरोक्त कथन शिवगोपाल रिसालज्यूको अनुसन्धानबाट सिद्ध गर्न खोजिए तापनि यहाँ केही अलमलमा रहनुपरेको छ । नेपाली साहित्यमा मौलिक नाटकको प्रारम्भ कहिले र कसबाट भयो भन्ने कुरामा राय बाझ्दछ । यज्ञराज सत्यालज्यूको भनाइअनुसार नेपाली नाटकको प्रारम्भ मोतीराम भट्टबाट भएको भन्ने छ ।

केही नेपाली नाटकका लेखक हृदयचन्द्र सिंह प्रधानले नेपाली प्रथम अधिष्ठाताको रूपमा समजीलाई नै मानेका छन् । उनी लेख्दछन्, “नेपाली नाट्य कवितामा एउटा सफल र सुयोग्य व्यक्ति श्री बालकृष्ण समलाई देखें । नेपाली भाषाको नाट्य साहित्यमा मौलिक नाटकको झण्डा उठाउने सर्वप्रथम नाटककार वा सूत्रधार उनी नै हुन् । उनीसंग पूर्णतया कविको गुण छ... यदि कृपणता प्रकट नगरिकन उनलाई कुनै उपाधि दिए उनलाई कालिदास अथवा शेक्सपियरको अवतार भन्न सकिन्छ । नेपाली काव्य जगत्मा आज उत्तरोत्तर नयाँ शैली र सौन्दर्यको विकास तथा आविष्कार भइरहेको देखिन्छ । यसमा प्रथम कुत्कुत्याउने यिनै बालकृष्ण शम्सेर हुन् ।”

कमलमणि दीक्षितद्वारा छापिएको पुस्तक ‘यस्तो पनि’ मा पहलमानसिं स्वांरको ‘अटलबहादुरलाई’ नै नेपाली भाषामा पहिलो छापिएको नाटक मान्ने विचार व्यक्त गरेका छन् । १९६२ सालमा छापिएको ‘अटलबहादुर’ नाटकको बारेमा काशीका नेपाली पुस्तकका प्रकाशक विश्वराज हरिहर शर्माको सूचीपत्रमा लेखिएको अनि मेदिनीप्रसादको ‘ज्ञानभङ्ग तरंगिणि’लाई काशीबाटै प्रकाशित हुने भारत जीवनले सन् १९०३ मा छापेको भेट्टाएका छन् ।

१९३५ सालमा प्रकाशित तीर्थप्रसाद आचार्यको ‘विचित्र रत्नभण्डार’को बारेमा लेख्दै दीक्षितज्यू मोतीराम भट्टको नछापिएका अप्रकाशित नाटकहरूलाई नगनेको खण्डमा नेपाली भाषामा छापिएको पहिलो नाटक हुने श्रेय त्यही अछामनिवासी लेफ्टेन पहलमानसिंहका नाटकहरूमध्ये (को) ‘अटलबहादुर’ वियोगान्त नाटकलाई नै छ कि क्या’ भनि लेखेका छन् ।

तर उनले आफ्नो लेखको तेस्रो पानाको अन्तिम प्यारामा (कण्डिका) लेखेका छन्, “माथि भनेसरह हाम्रो भाषामा सबभन्दा पहिलो प्रकाशित भएको नाटक ‘ज्ञानभङ्ग तरंगिणि’ (नाटक लेखिएको समय छैन) हो । यो अटलबहादुरको प्रकाशनपछि अरू दस वर्षसम्म फेरि कुनै नाटक हाम्रो भाषामा प्रकाशित भएको बुझिन्न” । दीक्षितज्यूको उपर्युक्त कुरा नाटक छापिई प्रकाशमा आएको कुरा मात्र भयो ।

तारानाथ शर्माले ‘नेपाली साहित्यको ऐतिहासिक परिचय’ पुस्तकको पाना ५७ को अन्तिम प्यारामा लेखेका छन्... “नेपाली नाटकमा नयाँ कुराको प्रवेश ‘अटलबहादुर’बाट भएको छ । हुन त मोतीराम भट्टले गरेको ‘प्रियदर्शिका’को अनुवाद शम्भुप्रसाद ढुंगेलले गरेको ‘शकुन्तला’को अनुवादमा प्रशस्त मौलिकताका झिल्काहरू र प्रतिभाका किरणहरू पाइन्छन् ।”

तापनि ‘अटलबहादुर’ नै पहिलो मौलिक नाटक भएको हुनाले यसको भाषा पनि प्रभावशाली र यसको नाटकीयता उति परिष्कृत नभए पनि महत्त्वपूर्ण स्थान ओगट्न पुगेको छ । अझ शर्माजीले आफ्नो पुस्तकको पाना १३ को दोस्रो प्यारामा ‘मोतीराम भट्टले मौलिक नाटक लेखेनन्’ भनि ठोकेर लेखिदिनुभएको छ ।

जे होस् पहलमान सिं स्वांरले नेपाली नाट्य साहित्यप्रति राखेको प्रेमले नै विदेशमा रहेर पनि ‘अटलबहादुर’, ‘अभिज्ञान शाकुन्तल’, ‘लालुभागा’ (खण्डित) आनन्दराज, विष्णुमाया नाटिका (साझा प्रकाशनद्वारा २०३३ मा प्रकाशित) ‘रत्नावली नाटिका’ ‘विमला देवी’ ऐतिहासिक नाटक (२०३३ माघ २४ मा पहलमानसिंह स्वांरद्वारा प्रकाशित) आदि कृतिहरूद्वारा नेपाली साहित्यमा ठूलो देन दिएका छन् । फेला परेका उनका प्रशस्त रचनाहरू प्रकाशमा आउन थालेका छन् ।

केदार शम्सेर थापा क्षेत्रीले नेपाली भाषा राम्रो प्रयोग गरी नाटक लेखेका छन् । यो कुरा उनको ‘वीर सुदर्शन’ले बताउँछ । यिनका अरू नाटक हुन ‘वीर ध्रुव चरित्र’, ‘दुर्गा भक्ति तरंगिणी’, यो नाटक सुब्बा वीरेन्द्र केशरी उपाध्याय पण्डित संशोधित हो र सम्वत् १९७३ साल आषाढ़ शुक्ल १५ वार ७ मा प्रकाशमा आयो ।

उपर्युक्त सबै मत आ–आफ्नो किसिमले दिइएको छ, तर यसो विचार गर्दा यदि पहलमानसिं स्वांरको नाटक ‘अटलबहादुर’लाई मौलिक नाटक नभनि अनुकरण वा भावानुवाद भन्ने हो भने र नछापिएको र प्रदर्शन भएको नाटकलाई मौलिक नाटक मान्ने विचार गर्न सकिए भने मौलिक नाटकको बारेमा खुट्याई हेर्दा भाषा शैली सबै कुरामा विचार गर्दा १९५० सालमा समजीले लेखेको नाटक ‘तानसेनको झरी’लाई नै सम्झनु  पर्छ की ?

समजीको सो नाटक १९८० सालमा लेखिई १९९४ सालमा गाईजात्रामा र सिंह शम्सेरको दरबारमा प्रदर्शन पनि भएको थियो । यो नाटक कुनै नाटकको भावानुवाद, छायानुवाद वा अनुवाद हैन । यो चोखो मौलिक नाटक हो । तसर्थ समजीको यही नाटक ‘तानसेनको झरी’लाई नै नेपाली भाषामा सर्वप्रथम मौलिक नाटक मान्नुपर्ला की ? यदि प्रकाशित नाटकमध्ये पूर्णरूपेण मौलिकता भएको छान्ने हो भने समजीको १९८६ सालमा ने.भा.प्र.स.बाट प्रकाशित ‘मुटुको व्यथा’लाई नै सर्वप्रथम मौलिक नाटक मान्नुपर्ला की ?

(मल्ल लिखित पुस्तक ‘नेपाली रंगमंच’बाट)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro