site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘छाउगोठकी आमा’मा नारी चेतना

इतिहासमा प्रमुखता पाएका स्वरूप र विषय वर्तमान समयमा गौण छन्, त्यसको आवाज निकालिरहनु जरुरत परेको छैन भने इतिहासमा दमित विषय वर्तमानमा आएर मुखरित र शिखरित हुँदै जाने क्रममा देखिन्छन् ।

ती विविध विषयमध्ये नारी विषय, नारी आवाज पनि मुखरित हुँदै जाने क्रममा छ । पहिलाको तुलनामा अहिले महिलाले पाएको हक, अधिकार, अवसर, सम्मान, स्वतन्त्रता, न्यायको मात्रामा, चेतनाको मात्रामा परिवर्तन आएको भए पनि अझै पनि महिला दोयम नै छन् ।

सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक आदि क्षेत्रका पृष्ठभूमिमा अझै पनि कैयौँ महिलाहरू दबिएकै छन् । आदिमकालदेखि चलिआएको वर्चस्वचेतले पुरुष नै ठूलो भन्ने सोच–व्यवहार पुरुषको अवचेतन मनमा आजसम्म पनि बसेको देखिन्छ ।

त्यसैले आजका दिनसम्म पनि आआफ्नै ढंगबाट महिलाका निम्ति आवाजहरू उठिरहेको पाइन्छ । यसै क्रममा साहित्यका विषयहरूमा नारीचेतना आजको जल्दोबल्दो विषय बनेको छ । महिलाको स्थान र महिलाप्रतिको दृष्टिकोण आज पनि विभेदयुक्त छ । अझै पनि कतिपय स्थानमा कतिपय महिलाहरूले विभिन्न बहानामा हिंसा, अपमान, अवहेलना, असम्मान भोगिरहेकै छन् ।

लिंगभेदमा आधारित सामाजिक, सांस्कृतिक, धार्मिक तथा परम्परागत मूल्य र मान्यताका आधारमा महिलाहरूले अझै पनि विभेदकारी व्यवहार भोगिरहेकै छन् । परम्परागत मूल्य–मान्यता र अन्धविश्वासको आडमा स्थापित विश्वासहरूमा महिलाले यसो गर्न हुन्छ र यसो गर्न हुँदैन भनी खिचिएका अनेकौँ सीमाहरूले धेरैजसो महिलाको स्थिति अहिले पनि कमजोर नै देखिन्छ ।

कवि जानु धितालद्वारा लिखित एवं सोसल एन्ड एकेडेमिक इन्नोभेसन्स प्रालिद्वारा प्रकाशित ‘छाउगोठकी आमा’ (२०७९) कवितासंग्रहभित्रका विभिन्न कविताहरूमा परम्परागत र पितृसत्तात्मक संस्कृतिबाट दीक्षित हुँदै आएका नेपाली समाजका कैयौँ महिलाहरूका शारीरिक तथा मानसिक पीडा अभिव्यञ्जित छन् । समयक्रमसँगै परिवर्तनका अनेकौँ खाका कोरिए पनि विशेष गरी दुर्गम ठाउँका कैयौँ महिला अझै पनि अनेकौँ सामाजिक, पारिवारिक र परम्परागत रूढीवादी सांस्कृतिक झमेलामा अल्झिरहन बाध्य रहेको यथार्थ कवितामा अभिव्यक्त छ ।

घरदेखि टाढा छाउगोठमा बस्दाको एक्लो असजिलोपन, जबरजस्ती करणी, जंगली जनावरको आक्रमण तथा सर्पहरूको टोकाइको सिकार हुनुपरेको छाउपडी महिलाहरूको छाउगोठको भोगाइ, तिनका असह्य पीडा र क्रन्दनलाई कवि जानु धितालले ‘छाउगोठकी आमा’ शीर्षकको कवितामा जीवन्त ढंगले कलात्मक अभिव्यक्ति दिएकी छन् ।

कवि भन्छिन्–
छामी हेर, तिम्रो रगतको थोपा थोपामा 
मेरो महिनावारीको रक्तस्रावको हरक छ 
मजस्ता नारीले नबोके कहाँबाट आयौ तिमी ?
बन्द होस् त नारीका शरीरबाट रक्तस्राव 
सक्छौ भने गर प्रार्थना !
कसरी असुरक्षित म पलपल ?
अवाञ्छित मेरा थोपा थोपा !
जो छ सृष्टिको मूल मुहान 
मेरो कोख अपमानित हुने जहिले 
तिम्रो जन्म असुरक्षित हुने कहिले ??
(छाउगोठकी आमा, पृ.१) 

महिनावारीसम्बन्धी विश्वासहरू धर्म र संस्कृतिसँग जोडेर हेर्ने गरिन्छ, जुन अन्यायपूर्ण छ । यससम्बन्धी सामाजिक–सांस्कृतिक प्रतिबन्धहरूले अझै पनि कतिपय नेपाली महिलाको जीवन कष्टकर, दयनीय छ । नेपाली समाजमा महिनावारीलाई एक धार्मिक तथा सांस्कृतिक परम्परामा पापका रूपमा हेरिन्छ । यस्तो बेला महिलालाई अछुत तथा अशुद्ध मानिन्छ । उनीहरूलाई घरायसी, सामाजिक र धार्मिक कार्य गर्नबाट वञ्चित गराइन्छ ।

महिनावारी भएका महिलाले छोएका हरेक वस्तुलाई अशुद्ध ठानिन्छ । नेपालको सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्रमा यससम्बन्धी अन्धविश्वास तथा अभ्यासहरू अझै पनि कडा रूपमा पालना गरेको पाइन्छ । यी क्षेत्रमा महिनावारीका बेला उनीहरूलाई घरबाट अलग गराई एउटा छुट्टै गाईवस्तुको गोठमा बस्न बाध्य बनाइन्छ ।

परिवारका सदस्य र त्यहाँका समाजले महिनावारीलाई एक प्राकृतिक जैविक तथा शारीरिक प्रक्रियाका रूपमा व्यवहार गर्दैनन् । महिनावारी प्राकृतिक पद्धतिबाट हुने एक जैविक तथा शारीरिक प्रक्रिया भएकाले यो लुकाउनुपर्ने वा लाज मान्नुपर्ने अवस्था होइन भन्ने कुरालाई स्वीकार्नै मान्दैनन् ।

यिनै वास्तविकतालाई विषय बनाई लेखिएको नारीपक्षीय संवेदनामा आधारित ‘छाउगोठकी आमा’ कविताको माध्यमबाट कवि जानु धितालले समाजमा व्याप्त सामाजिक लिंगभेद र अन्धविश्वास, कुरीति, परम्पराको अन्त्यका लागि चेतनामा विकास गर्न आग्रह गरेकी छन् ।

नेपालको सामाजिक, आर्थिक परिवेशले सोझासाझा, निमुखा, गरिब, अशिक्षित नारीहरू बलात्कारको सिकार हुने र उल्टै नारीहरू नै कलंकित भइराखेका हुन्छन् । पुरुषहरूकै आवश्यकता र अनुकूलताबमोजिम पुरुषप्रधान सामाजिक–सांस्कृतिक दृष्टिले महिलालाई भोग्या वस्तुका रूपमा लिँदै नारी शरीर पुरुषशक्तिको दुरुपयोग र क्रीडास्थल बनेको अवस्था छ ।

शक्तिसम्पन्न शरीरले शक्तिहीन शरीरलाई दबाउन गरेको राजनीतिक प्रपञ्चबाट सबैभन्दा बढी नारीहरू प्रताडित छन् । यसबाट नारी देहलाई सम्मानका रूपमा भन्दा उपयोग गर्ने दैनिक जीवनको वस्तुका रूपमा ग्रहण गर्ने दृष्टिकोणबाट व्यवहार भएको छ ।

सदियौँदेखि स्त्रीको शरीर शोषण र उत्पीडनको मुख्य स्थान हुँदै आएको छ । जानु धितालको ‘दासी पुत्र’ कवितामा नारीलाई भोग्या वस्तुका रूपमा उपभोग गर्ने पुरुष प्रवृत्तिको तीव्र विरोध छ । यस संग्रहभित्रकै ‘मैले नाघेको सगरमाथा’ शीर्षकको कविताले ज्ञान, सीप, चेतना, रोजगारको अवसर नपाएका नारीले अन्य काम गर्ने क्षमता नदेखेपछि यौन व्यापारलाई अपनाएको विवशताको सिकार बनेका नारीको पीडादायी जीवन यथार्थलाई प्रतिनिधित्व गरेको छ ।

निम्नवर्गीय, अशिक्षित, चेतना, सीप नभएका, सोझासाझा नारीहरूको जीवनयापनको विवशतामाथि खेलेर तिनको शरीरलाई भोग गर्ने पुरुषसत्ताको अमानवीय व्यवहारप्रति कवितामा कडा आक्रोश पोखिएको छ । जानु धितालको यस संग्रहभित्रका कतिपय कवितामा ज्ञान, सीप, चेतनाले कमजोर महिलाहरू देहव्यापारलाई जीवन जिउने माध्यम बनाउन विवश पारिँदाको स्थितिलाई संकेत गरिएको छ भने उनीहरुको जीवन निर्वाहको बाध्यतालाई पुरुषले आफनो शारीरिक भोक मेटाउने आधार बनाएको यथार्थको कारुणिक अभिव्यञ्जना छ ।

कवि धितालको यस संग्रहभित्रका कवितामा आमा अर्थात् नारीको संघर्षमय जीवनको चर्चा, त्याग र समर्पण भावको पनि कलात्मक अभिव्यक्ति छ । ‘शक्तिशाली कथा’, ‘आमा’ शीर्षकका कवितालाई यसको दृष्टान्तका रूपमा लिन सकिन्छ । आमाहरू छोराछोरीका लागि आदर्श र मार्गदर्शक हुन्छन् । निःस्वार्थ माया गर्ने ममताका खानी भएका आमाले कुनै आशाविना आफ्ना सन्तानका लागि जीवनका सबै आयामलाई ममतामा बदलेका हुन्छन् ।

सन्तानलाई भरणपोषण गर्ने र पहिलो पाठशालाका रूपमा हरेक व्यावहारिक ज्ञानहरू दिने आमा नै हुन् । छोराछोरी जन्माउने, हुर्काउनेदेखि योग्य नागरिक बनाउनेसम्मको भूमिका निर्वाह गर्ने क्रममा आमाले विभिन्न संस्कार, मूल्य–मान्यता, व्यावहारिक ज्ञान, जीवनशैली, जीवन संघर्षको पाठ, आचरण, नैतिक ज्ञान, सामाजिक–सांस्कृतिक ज्ञान प्रदान गर्दछन् ।

सकारात्मक बाटोमा डोर्याउन सुरिलो र मायालु बोलीको प्रयोग गरी माया र ममताले तिनको हरेक बाटोलाई सुगम बनाउने प्रयत्न गर्छन् । छोराछोरीको हुर्काइ, सफलता, जीवनशैली र संस्कारमा बाबुले भन्दा आमाले धेरै जिम्मेवारी निर्वाह गरेका हुन्छन् । त्यसैले आमा आफ्ना सन्तानका लागि सधैँ विशेष हुने गर्दछन् । यी कवितामा आमाप्रति यस्तैयस्तै यिनै सम्मान भावको अभिव्यक्ति छ ।

नेपाली समाजमा पछिल्लो समयमा आएर महिलाहरूमाथि हुने अनेक शोषण, विभेद र हिंसाका विरुद्ध महिलाहरूमा विद्रोहचेत तीव्र, प्रतिबद्ध र प्रखर बन्दै गएको वास्तविकतालाई पनि जानु धितालले कविताको विषय बनाएकी छन् ।

नारीलाई भोग्या, दासी, प्रजनन् यन्त्र, मनोरञ्जन र विलासिताका वस्तुका रूपमा हेर्ने सामन्ती पितृसत्तात्मक समाज र परिपाटीका विरुद्ध नारीहरूले आवाज नउठाई बसेको भए हदैसम्मको पितृसत्तात्मक सोच, संस्कृति तथा व्यवहारको पराकाष्ठामा आजसम्म पनि नारीलाई ठिँगुर्याउँथे भन्दै पितृसत्तात्मक संस्कृतिजन्य विगतका नारी पीडालाई पनि जानु धितालका कविताले संकेत गरेको छ ।

महिलालाई हेर्ने परम्परागत दृष्टिकोणमा पहिलाभन्दा फेरबदल आएको चेतनाको स्थितिलाई पनि धितालले कविताको माध्यमबाट व्यक्त गरेकी छन् ।

अधिकार भन्ने कुरा खालि मागेर मात्र नपाइने र विद्रोहको कुरा खालि मुखले बोल्नु मात्र पर्याप्त नहुने वास्तविकता कवितामा व्यक्त छ । सचेत नारीहरू हिम्मतका साथ विद्रोहमा उत्रिएर उपेक्षित नारीहरूलाई पुरुषहरूका नियन्त्रण र समस्याबाट मुक्त पारेर क्षमतावान् र सशक्त बनाउनका लागि कवि धितालको आग्रह छ ।

धितालको कवितामा विभेदकारी मूल्य–मान्यतालाई चुनौती दिनमा हिम्मत प्रदान गर्ने सामर्थ्य रहेको पाइन्छ । चेतनशील नारीले आफ्नो चेतनाको शक्तिलाई केवल आफू एकजनाको स्वतन्त्रता र सुखका लागि मात्र नभई सिंगो नारीजगत्मै स्वअस्तित्वबोधको जागरण उद्बोधित गराउनका लागि सचेतताका साथ उपयोग गर्नुपर्ने धितालको आग्रह छ ।

‘छाउगोठकी आमा’ कवितासंग्रहभित्रको ‘पञ्चम सोच’ कवितालाई यसको दृष्टान्त मान्न सकिन्छ । यस कविताको माध्यमबाट पुरुषलाई नियन्त्रक मनोवृत्ति त्यागी नारी उत्थानको मार्गमा अवरोधक नबन्न र नारीलाई दृढ, आत्मविश्वासी, स्वनिर्भर, सक्षम एवम् सशक्त नारीको पहिचान बनाउनेतर्फ सहयोग गर्न प्रेरित गरिएको छ ।

यस कवितामा कवि जानुको नारी चेतना यसरी प्रक्षेपण भएको छ–
हुने भए तिमीले 
यो सम्पूर्ण आकाशलाई पनि 
आफ्नै दाबी गर्दै गर्थ्यौ होला 
नसके बाँडफाँडको 
सीमा कोर्थ्यौ होला 
भन्थ्यौ होला, 
मैले हेर्ने ताराहरूलाई 
तैँले तेरो आँखाले कसरी हेर्छस् ? 
यी पाँच आधार
न तिम्रा मात्र हुन् न मेरा मात्र हुन् 
तिमी बनेको र म बनेको 
एक्लै तत्त्व हो भने 
के त्यो तिम्रो र मेरो 
बराबरी होइन र ? 
के तिमी र म 
बराबरी होइनौँ र ?
कहिले झर्छौ वास्तविक संसारमा ?
(पञ्चम सोच, पृ. ८७) 

कवि जानु धितालका नारी विषयक कवितामा महिला र पुरुष एउटै सृष्टिका समान रचना भएर पनि विभेद, असमानता र फराकिलो दूरी कायम हुँदै जानु, महिलाहरू उपेक्षित भइरहनु भनेको समाज विकास र समृद्धिका लागि खतरा हो भन्ने सत्य अभिव्यञ्जित छ ।

छाउगोठकी आमा कवितासंग्रहभित्रको ‘छाउगोठकी आमा’, ‘दासी पुत्र’, ‘शक्तिशाली कथा’, ‘मैले नाघेको सगरमाथा’, ‘पञ्चम सोच’, ‘आमा’ जस्ता शीर्षकका कविताहरूले नारी–पुरुषबीचको दूरी र असमानताको अन्त्यको आग्रह गरेको छ ।

समाजमा हाबी भएको सामाजिक लिंगभेदजन्य सोच एवं संस्कृति र त्यसले नारीको स्वतन्त्र अस्तित्वमा पुर्याएको पीडालाई धितालले विभिन्न कविताको माध्यमबाट वाणी दिएकी छन् । पुरुषप्रधान समाज व्यवस्थाले उब्जाएको लैंगिक विभेदकारी सोच र संस्कृतिको विरुद्धमा विभिन्न विचारका साथ विरोध र विद्रोह जनाउँदै पीडित नारीहरूलाई ब्युँझिन र जुर्मुराउन कवि धितालले आफ्ना कविताको माध्यमबाट आह्वान गरेकी छन् ।

सामाजिक परिवर्तन र सुदृढीकरणका लागि नारी र पुरुषको समानतामूलक सहभागिताको आवश्यकता र महत्त्वलाई जोड दिइएको र नारी, समानता, स्वतन्त्रता तथा अधिकारप्रतिको सामाजिक चेतनाका विकासमा थोरै भए पनि टेवा पुर्याउने सामर्थ्य रहेको जानु धितालको कवितासंग्रह ‘छाउगोठकी आमा’ हरेक पाठकका निम्ति पठनीय कृति हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro