
नयाँ ठाउँ तिमीसँग भेट्न सधैँ आतुर हुन्छ मेरो मन । कहिले थाक्दैनन् मेरा आँखा तिम्रो सुन्दरताको दृश्यपान गर्न । तिम्रो सुन्दर जवानीसँग जिस्किन जहिल्यै उत्तेजित हुन्छ मन ।
जिरीबाट फर्केर दोलखाको भीमेश्वर नगरपालिकातर्फ उक्लँदै छौँ हामी । यात्राको परानुभूति अवर्णीय लाग्छ मलाई ।
२०७८ चैत्र २२ गते । न्यायिक समिति, पनौतीबाट अवलोकन भ्रमणमा ठूलै दलबलसहित छौँ हामी । हामी झर्यौँ, सडक माथितिर र तल वनतिर फुलेका रङबिरंगी गुराँस हेर्दै ।
दुईवटा बसमा छौँ हामी ४५ जनाको टोली । नेतृत्व छ नगर उपप्रमुख गीता बन्जारा अनि वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीको । मेलमिलापकर्ताहरू छन् । हामी केहीथान कर्मचारी छौँ ।
म चढेको गाडीमा इन्द्र सर छन् । हामी गाउँदै, थपडी बजाउँदै रम्दै छौँ । मध्याह्नको धुप, गर्मी नै छ र पनि बेलाबेलामा चल्ने चिसो हावाले शीतल प्रदान गरेकै छ ।
अकस्मात् अर्काे गाडी केही प्राविधिक खराबी भएर रोकियो । केही बेर हामी उत्रियौँ । सडकमा महिला साथीहरू टिकटक बनाउन थाले त कोही तस्बिर लिन । करिब ४० मिनेटको यत्नमा पनि चालकले गाडीमा के भएको हो, भेउ पाउन सकेनन् । त्यसैले एउटै गाडीमा चढेर झर्यौँ तलतिर ।
बैँसले कुत्कुतिएका बारी अनि कान्लापाखा रमाइला लाग्दा छन् । पारितिर उच्च ललाट बोकेर बसेको पहाड हाँस्दै छ । यो मधुमास हो वसन्त ऋतुको । त्यही भएर राताम्मे मात्र हैन, सेताम्मे गुराँस फुलेका छन् वनतिर ।
सुन्दर प्रकृतिले मेरो ध्यानाकृष्ट गर्छ आफूतिर । मेरो मुटुको जुइना समातेर बोलाउँछ उतै । तर, के थाहा उसलाई म त छोटो यात्रामा छु । उसको खातिरदारीमा रमेर बसिरहन पाउन्नँ ।
हामी दोलखा जिल्लामा छौँ । दोलखा – जहाँ १८ किमिमाथि हिमाली हावापानी पाउने र उत्ति नै तल जाँदा बेँसीको हावापानी पाउने जिल्ला । प्रकृतिको मनोरम छटा भएको जिल्ला । तामाकोसीको जिल्ला ।
भीमेश्वर र कालिञ्चोकजस्ता प्राचीनतम धार्मिकस्थलको जिल्ला । सैलुङको चर्चित जंगल जहाँ अजम्बरीको रुख छ भन्ने कहावत पनि छ । अपर तामाकोसी आयोजना यहीँ ।
दोलखाको भीमेश्वर नगरपालिका । वि.सं. २०५३ मा नगरपालिका घोषणा भएको हो । ९ वडामा विभाजित छ भीमेश्वर । हाम्रा निम्ति खानाको प्रबन्ध गरिएको छ नगरपालिकाको तर्फबाट ।
खाना खाएर हामी नगरपालिका परिसरमा प्रवेश गर्छौँ । उपप्रमुख कमला बस्नेत, प्रमुख प्रशासकीय अधिकृत र न्यायिक समिति सदस्य रूपा शाही भुजेलले आत्मीय स्वागत गरे । बडो भव्य रहेछ पालिका भवन । हलको निर्माण उस्तै राम्रो । सजावट कुरै नगरम ।
मैले हाम्रो नगरपालिकाको भवन सम्झेँ, मन खुस भएन !
क्रमशः आसनग्रहण गराइयो । स्वागत मन्तव्यको जिम्मा रूपा शाहीको भागमा पर्यो–
‘पनौती र दोलखाको भेट भयो आज
धेरै कुरा मनमा राखेँ बोल्न लाग्यो लाज ।’
कवितात्मक भावमा रूपाजीले स्वागत मन्तव्य दिइन् । उनी साहित्यमा बडो रुचि राख्दिरहिछन् । उनी दोहोरी पनि गाउँछिन् रे ! गजल, मुक्तक, दोहोरी उनका मन पसन्द विषय हुन् ।
हिस्सी परेकी उनी मिजासिलो मुस्कानसहित प्रस्तुत भइन् । उनका निला समुद्रजस्ता गहिरा एकजोडी आँखाले मलाई खिच्यो । पनौतीमा केही महिना कामको सिलसिलामा बसेकीले उनले आफ्ना अनुभव पनि सुनाइन् ।
एकसरो सामान्य परिचय सबैले गरे । हाम्रा मेलमिलापकर्ता लोकनाथ सापकोटाले कवितामा परिचय दिए । बीचबीचमा कार्यक्रम सञ्चालक प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले दोलखा र भीमेश्वर नगरपालिकाका बारेमा जानकारी गराए ।
बालमैत्री नगरका रूपमा घोषित यो नगरमा खरीढुंगामाथि फिल्म सिटी बनाइँदै रहेछ । जिल्ला प्रशासन कार्यालय, सामुदायिक आँखा अस्पताल, पशुपति चौलागार्इं अस्पताल, नगरपालिका कार्यालय सँगै रहेछन् । यहाँ ऐतिहासिक हरिसिद्धि जात्रा लाग्दो रहेछ । त्यसताका जात्रा चलिरहेको रहेछ ।
त्यहाँ माहोल नै साहित्यिक भयो । रमाइलो गर्न रुचाउने मानबहादुर खड्का उत्तिक्कै फरासिला लागे । उनले झन् साहित्यिक माहोल बनाए, ‘फिल्म सिटीको आँगनबाट’ कविता सुनाएर ।
हरेक गुराँसका बोटहरूलाई नागरिकता दिए हुन्छ भन्दै उनले सुन्दर विम्बहरू प्रयुक्त कविता सुनाए । उनी राम्रा कवि रहेछन् । मैले पनि केहीथान मुक्तक सुनाएँ ।
यस वर्ष न्यायिक समितिमा दर्ता भएका विवाद ६५ रहेछन् । तीमध्ये ५६ वटा फर्छ्योट गरिसकिए । जग्गा, सार्वजनिक जग्गा मिचिएको जस्ता विवाद न्यायिक समितिमा आउने जानकारी रूपाजीले गराइन् ।
घरेलु विवाद, लेनदेनका विषय पनि आउँदा रहेछन्, समितिमा । केही विवाद अदालतका निम्ति रिफर गरिएको जानकारी पनि पाइयो । मेलमिलापकर्ताहरूको सक्रियता राम्रो रहेको जानकारी दिए मेलमिलापकर्ता विष्णु खतिवडाले ।
पनौती नगरपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराए इन्द्रप्रसाद अधिकारीले । सँगै आत्मीय सत्कारको निम्ति भीमेश्वर नगरलाई धन्यवाद पनि दिए । पनौतीकी उपप्रमुखले न्यायिक समितिका गतिविधिबारे जानकारी गराउँदै भीमेश्वर नगरपालिका परिवारलाई धन्यवाद दिइन् । उनले पनौती नगरपालिकाका तर्फबाट मायाको चिनो हस्तान्तरण गरिन् ।
अन्त्यमा आफ्ना कुराहरूसहित धन्यवाद दिइन् भीमेश्वरकी उपप्रमुख कमला बस्नेतले । यो औपचारिक कार्यक्रमपछि हरेक समारोहझैँ समूह–समूहमा फोटो खिच्ने काम भयो ।
मैले मेरा केही पुस्तक बोकेको थिएँ । फलतः दुईथान किताब उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा न्यायिक समिति सदस्यहरूमा हस्तान्तरण गरेँ । दृश्य भावुक बन्दै थियो । साहित्यमा रुचि राख्नेहरू भावुक हुन्छन् भन्थे, हो रहेछ !
प्रमुख प्रशासकीय अधिकृतले अंकमाल गरे । रूपाजीका आँखामा अश्रुबुँद देखिए । उनले कुनै न कुनै साहित्यिक समारोहमा भेट हुने आशा गरिन् । कस्तो मन नै जाममा परेजस्तो भान भो !
साहित्यले मानिसलाई निकट बनाउँदो रहेछ । अघिसम्म को हो को, एकैछिनमा आत्मीयता । अजिब छैन त ! केवल एक घण्टा त भयो देखभेट भएको । चिनाजानी गरेको । यो चिनारीको कथा कहाँ पुरानो हो र हजुर ! तर, वर्षाैँ पुरानोजस्तो लाग्ने ।
आश्चर्य नमान्नुस् । साहित्यिक मन अलिक बढी नै भावुक हुनेरहेछ । हामीले गह्रुँगो गरी बिदाइका हात हल्लायौँ । मन नमिठो भयो । नियास्रो पारेर खुसी भाग्यो । हाम्रो गाडी अघि बढ्दा पनि तिनका हात हल्लिरहेका थिए । तिनका हातसँगै हाम्रो मन हल्लिरहेको थियो । मेरो यात्राको एउटा अगोचर र अज्ञेय पाटोमा उनीहरू रहिरहे । अघिसम्मका फुरुकफुरुक र उत्साह सब पानीपानी भएजस्तो भान हुन्छ मलाई ।
मेरो मन केही उदास र मौन भयो । के हराएजस्तो, केही गुमेजस्तो । रिक्ततापूर्ण ।
अपराह्न ४ बजेतिर हामीले चरिकोटलाई धन्यवाद दिँदै फर्कियौँ । सडकको वल्लो छेउदेखि पल्लो छेउसम्म दायाँबायाँ नै सडक साँघुरिएको थियो । बजारमा मान्छेको भिड देख्दा व्यस्तता राम्रै देखिन्थ्यो । सातदोबाटबाट दाहिने मोडिएर हामी चोयाड्ड हुँदै कालिञ्चोक जाने बाटोतिर पुग्छौँ र त्यहाँबाट अघि बढ्छौँ ।
मैले नियालेँ, त्यतातिर सडकका दायाँबायाँ लज र होटेलहरू प्रशस्तै देखिए । साथीहरूतिर हेरेँ, थकित थिए । प्रायः निदाएका, कोही ननिदाए पनि सुस्ताएका । म भने नयाँ ठाउँ नयाँ बाटो दृश्यपान गर्दै थिएँ । पारि हेरँे, थली परेको राम्रो गाउँ रहेछ ।
यात्राक्रममै चन्द्रावती खोला तरियो । भीमेश्वर–८, वोच पुगियो । धुलाम्मे सडक । ठाउँठाउँमा बेस थुपारिएको छ, सायद सडकमा अलकत्रे पिच हाल्न होला । यो सम्याएर छरिदिएको भए पनि हुने नि, हरे देशको विकास !
मुडेबजार । हाम्रातिर मुडेको आलु भन्थे । सहरतिर पनि उत्तिक्कै चर्चित छ, त्यहाँको अर्ग्यानिक आलु । तर, सडकको दुरावस्था उस्तै छ । धुलाम्मे । हामी चढेको गाडी रोकियो ।
छुर्पी, आलु, खुर्सानी बेच्न राखिएको रहेछ । खरीढुंगाबाट बनेका उपहार सामग्रीहरू पनि सजाएर राखिएको रहेछ । साथीहरूले छुर्पी किने । केही बेरको अलमलपछि हामी ओरालो झर्यौँ ।
सिलढुंगा नामको सानो बजार आयो । हामी सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका पुगेछौँ । सूर्यास्त हुने याम । यतिखेर भने साथीहरू गाएर रम्दै छन् । सबैका आ–आफ्नै दुःख होलान्, तर बेपरवाह छौँ सबै । दुःखका भन्डार घरतिरै छोडेर केही समय भए पनि सुस्ताउन हिँडेका हामी । श्रद्धा थापा, शान्ता सुवेदी, उमा बोगटीलगायत साथी नाच्दै छन् । सिटमा बसेका गीत गाउँदै छन् । नगाउने थपडी बजाउँदै छन् ।
पातलो बस्ती आयो । क्षितिजमाथिको घाम थामेर राख्न सकेनौँ र त रिमरिमे साँझ आयो । पातला ठूलापाखर आएछ । गुम्बा देखियो । थली परेको पातलो बस्ती । घरका छतहरूमा ध्वजा र थान्काहरू फहरिएको देख्दा यो तामाङ बस्ती भएको ठम्याउन मुस्किल भएन । ठूलो पाखर गाउँपालिका । पालिकाको सीमा छोएर गएको छ सडक ।
अँध्यारो भो । ठम्याउन मुस्किल ठाउँ । सुनकोसी गाउँपालिका आएछ । देब्रेतिर अलिअलि देखिन्छ पारिपारिसम्म छरिएको बस्ती । लामो यात्रा र मनोरञ्जनको थकाइ । खाडीचौर पुग्दा साँझको ६ नाघिसकेको थियो ।
यसो हेर्छु, चिसोको खास्टो ओढेर निदाएका छन् मेरा साथीहरू । अँध्यारो छ बाहिर । केही देखिन्न । देखिन्छ त केवल घरका झ्यालझ्यालका जस्केलाबाट निस्केको मधुरो उज्यालो ।
खाडीचौरमा एक छिन गाडी रोकियो ।
‘प्रदीपजी, खाना कता खाने होला ? घर पुग्दा त मध्यरातै हुन्छ नि,’ इन्द्र दाइलाई खाना खुवाउने चिन्ताले सताएछ ।
‘दाइ, जिरोकिलो, पाँचखालमा पो खाने हो कि ! त्यहाँ साथीको होटेल छ, खाना पनि राम्रै हुन्छ,’ मैले जवाफ दिएँ ।
‘सम्पर्क छ ? हामी धेरैजना छौँ, त्यहाँ पुग्दा खाना पर्याप्त नहुन सक्छ,’ उहाँले थप चिन्ता व्यक्त गर्नुभयो ।
मैले कुमार भट्टराईलाई फोन गरेँ । उनी मेरो साथी । उनले भाइ गणेशको नम्बर दिएर आफू होटेलमा नभएको बताए । मैले गणेशलाई फोन गरेँ र खाना तयार पार्न भनेँ ।
गणेश मेरा नजिकका ज्वाइँ पर्छन् । उनले हामी आइपुग्दा खाना तयार भइसक्ने बताए ।
साथीहरू सबै ब्युँझिएका छन् । गाडी विस्तारै अघि बढ्दै छ । अँध्यारो छोपिएर फैलिएको छ धर्तीमा । एकाध गाडीहरूका उज्यालो । पारि गाउँतिरका घरतिर देखिने धिपधिपे रोसनीबाहेक सर्वत्र कालो अध्याँरो छ । लाग्छ– हामीबाहेक दुनियाँ मस्तराम भएर निदाइसक्यो !
उज्यालो साँघुरिँदै जानु र अँध्यारो फैलिँदै जानु यति बेला अस्वाभाविक हैन । साथीहरू फेरि रमाइलो गर्न थाल्छन् । म पनि सहभागी हुन्छु ।
करिब आठ बजेतिर हामी जिरोकिलोमा पुग्छौँ । मुस्कानसहित गणेश र कल्पना जोडीले हाम्रो स्वागत गर्छन् । खाना तयार हुँदै छ । हामी केही बेर बाहिरै यताउता गर्छौँ ।
खाना तयार भएसँगै भोक र थकाइको दोहोरो मारमा परेका हामी खानामा झुम्मिन्छौँ । भोक मिठो कि भोजन ? आज त दुवै मिठो भएको छ । अन्त्यमा, मिठो खानाको निम्ति धन्यवाद दिँदै हामी हाम्रो गन्तव्यतर्फ लाग्छौँ ।
रात फक्रिँदो छ । चिसो स्याँठ गाडीको झ्यालबाट भित्र छिर्दाे छ । हामीलाई केही परवाह छ्रैन । आफ्नै सुरमा छौँ हामी । यसो हेरेँ, जूनको उज्यालो भुईंमा अलिअलि झरेको देखेँ । मन उसै आनन्दित भो ।