
ट्रिङ... ट्रिङ... ट्रिङ...
“हल्लो ! हजुर भन्नुस्, को बोल्नुभएको ?”
“म गृह मन्त्रालयबाट”
“नमस्कार मन्त्रीज्यू !”
“नमस्कार, नमस्कार । अँ, त्यो मैले पठाएको फाइल हेर्नुभो ?”
“हेरेँ मन्त्रीज्यू । त्यहाँ उल्लेख भएका नामहरू त सबै नक्कली रहेछन् हजुर । तीनपुस्ते थातथलो पहिचान नै मिल्दैनन् मन्त्रीज्यू ।”
“तपाईं धेरै नक्कली कुरा नगर्नूस् ! सक्कली बनाउनूस् !”
“शरणार्थी बनाउन त गाह्रो छ नि हजुर ।”
“अनागरिक घोषणा गर्दिनूस् । मेटिदिनूस् उसको नाम थर र थातथलो !”
“पहिचान मेट्न गाह्रो छ हजुर ।”
“तपाईं मसँग धेरै बहस नगर्नूस् ! नीति, पद्धति र योजना बनाउने हामी हौँ ।”
“... !”
“हेर्नूस्, तपाईंलाई’नि आर्थिक सहयोग मिल्छ, तिनीहरूको पनि उद्धार हुन्छ । कुरा बुझ्नुभो ?”
“भर्खरै बुझेँ मन्त्रीज्यू ।”
“ल, खुरुक्क यो मेरो आदेश सम्झिएर फाइल सदर गर्नूस्, नत्र हुम्लातिर गएर शरण लिन तयार हुनूस् ।”
“हस्, हजुरको जो आदेश !”
(हेटौँडा–४)