
काठमाडौं । अन्तिम दिन ७–अन्डर ६५ स्कोर गरेका सुवास तामाङले शुक्रबार समग्रमा २१–अन्डर २६७ स्कोरसहित सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।
नेपालका नम्बर एक एमेच्योर सुवासले अर्का एमेच्योर सद्भाव आचार्यलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् । सुवासको करिअरमा यो पाँचौँ प्रो उपाधि हो ।
जारी सिजन भने सुवासको यो दोस्रो प्रो उपाधि हो । सुवासले यसअघि सूर्य नेपाल गल्फ टुर २०२२–२३ कै सातौँ प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका थिए ।
राष्ट्रिय टिमका खेलाडी युवा गल्फर सदभावले १–अन्डर ७१ सहित समग्रमा १७–अन्डर २७१ को स्कोरमा दोस्रो स्थान हासिल गरे ।
सद्भाव एमेच्योरर्फ पनि दोस्रो भए । धरानका नीरज तामाङले आज ४–अन्डर ६८ को स्कोर निकाले र समग्रमा १२–अन्डर २७६ स्कोरसहित तेस्रो भए । प्रोफेसनलतर्फ भने नीरज पहिलो भए । नीरलले दुई लाख ७० हजार रुपैयाँ नगद पुरस्कार जिते ।
अन्तिम १८ होलको खेल बाँकी हुँदा सुवास सद्भावभन्दा दुई स्ट्रोकले पछाडि थिए । सुवास र सद्भाव दुबैले फ्रन्ट नाइन समान ३–अन्डर ३३ को स्कोरमा सकेका थिए । तर, ब्याक नाइनमा सद्भावले खेल बिगारेपछि सुवास उपाधि जित्न सफल भए ।
फ्रन्ट नाइन समान ३–अन्डर ३३ को स्कोरमा सक्नेक्रममा सुवास र सद्भाव दुवैले तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । अन्तिम नौ होलको खेल बाँकी हुँदा पनि सद्भाव दुई स्ट्रोकले अगाडि थिए । तर, सद्भावले ब्याक नाइनमा खेल बिगारे । १६औँ होलमा बर्डी प्रहार गरे पनि सद्भावले १०, १३ र १४औँ होलमा एक–एक सट खेर फालेपछि ब्याक नाइन दुई ओभर ३८ को स्कोरमा सके ।
यता सुवासले भने १० देखि १३औँ होलसम्म लगातार तीन बर्डी प्रहार गरे । १४औँ होलमा एक सट खेर फाले पनि ५–पारको १५औँ होलमा इगलको सफलता हासिल गर्दै सुवासले ब्याक नाइन ४–अन्डर ३२ मा पुरा गरे र सहजै उपाधि आफ्नो नाममा लेखाए ।
प्रोतर्फ शीर्ष स्थान हासिल गर्न सफल नीरजले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा सकाए । नीरजले दोस्रो, तेस्रो र आठौँ होलमा बर्डी प्रहार गर्दा चौथो होलमा बोगी खेपे । त्यसपछि नीरजले १३ र १५औँ होलमा एक–एक सट खेर फाले ।
साविक विजेता शुक्रबहादुर राईले पनि फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ को स्कोरमा सकाए । उनले पहिलो, तेस्रो, सातौँ तथा ११ देखि १४औँ होलमा चार गरी कुल सात बर्डी प्रहार गरे । शुक्रले नवौँ, १५ र १८औँ होलमा बोगी खेपे ।
उपाधि रक्षा गर्न चुकेका शुक्रले ४–अन्डर ६८ मा खेल सकाउँदा समग्रमा ११–अन्डर २७७ सहित चौथो स्थान प्राप्त गरे । प्रोतर्फ दोस्रो हुदै शुक्रले एक लाख ७० हजार रुपैयाँ नगद प्राप्त गरे । यो पुरस्कार राशीमा भने शुक्रले नम्बर एक खेलाडीको स्थानलाई जोगाएका छन् । शुक्रले यो सिजन कुल ६ लाख ३४ हजार रुपैयाँ नगद प्राप्त गर्दै सर्वाधिक पुरस्कार हात गरे ।
भुवन नगरकोटीले समग्रमा ५–अन्डर २८३ स्कोर गरे । अन्तिम दिनको खेल इभन–पार ७२ मा सकाउँदै भुवन पाँचौँ भए । प्रोतर्फ उनी तेस्रो भएर एक लाख २० हजार प्राप्त गरे । २–ओभर ७४ स्कोर गर्दै समग्रमा ३–अन्डर २८५ सहित दिनेश प्रजापति छैटौँ भए । प्रोतर्फ चौथो भएका उनले नगद एक लाख प्राप्त गरे ।
समग्रमा १–अन्डर २८७ स्कोरसहित तोरणविक्रम शाही सातौँ भए । उनले आज इभन–पार ७२ मा खेल सकाए । प्रोतर्फ भने पाँचौँ स्थान हासिल गरेका तोरणविक्रमले ८६ हजार रुपैयाँ नगद हात पारे । ३–ओभर ७५ सहित समग्रमा १–ओभर २८९ को स्कोर गरेका शिवराम पौडेल आठौँ भए ।
उनले ७९ हजार रुपैयाँ नगद प्राप्त गरे । प्रोतर्फ उनी छैटौँ स्थानमा आए । समग्रमा २–ओभर २९० सहित जयराम श्रेष्ठले ७३ हजार रुपैयाँ नगद प्राप्त गरे । उनले आज ४–ओभर ७७ मा खेल सकाए । प्रोतर्फ जयराम सातौँ भए ।
पूर्णप्रसाद शर्मा र राजेन्द्र थापामगरले प्रोतर्फ संयुक्तरुपमा आठौँ स्थान बाँडे । उनीहरूले समग्रमा ३–ओभर २ सय ९१ स्कोर गरे । दुबैले जनही ६५ हजार रुपैयाँ नगद प्राप्त गरे ।
प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीए नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको थियो ।
कुल १५ लाख २० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको शीर्ष २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत भोलि प्रो–एम प्रतियोगिता हुनेछ । कुल २५ प्रो र १०० कर्पोरेट खेलाडीले प्रतियोगितामा भाग लिनेछन् ।