
काठमाडौं । चीनले उत्तरी बेइजिङको पहाडी जिल्ला ह्वाइरोमा विश्वको सबैभन्दा शक्तिशाली वाइन्ड (हावा चल्ने) सुरुङको निर्माण सम्पन्न गरेको छ ।
जेएफ–२२ ना दिइएको सुरुङको व्यास चार मिटर रहेको छ । यसले प्रतिसेकेन्ड १० किलोमिटर रफ्तारसम्मको उच्च वेगमा हावाको प्रवाह उत्पन्न गर्न सक्ने बताइएको छ । यसको अर्थ यो सुरुङ ध्वनीको गतिभन्दा ३० गुणा तीव्र हाइपरसोनिक उडान गराउन सक्षम हुनेछ ।
यो सुरुङको स्वामित्व रहेको इन्स्टिच्युट अफ मेकानिक्सले चीनको हाइपरसोनिक महत्वाकांक्षालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएको छ ।
अन्तरिक्षको यात्रा गर्ने प्रणाली र हाइपरसोनिक विमान एवं सैन्य उद्देश्य प्राप्ति गर्न अनुसन्धान र विकासका लागि यो सुरुङले योगदान दिनेछ ।
चीनले सन् २०३५ सम्म एक घण्टाभित्र मानिसलाई अन्तरिक्षमा लगेर पृथ्वीको जुनसुकै बिन्दुमा अवतरण गराउनसक्ने हाइपरसोनिक विमानको 'फ्लिट' निमार्ण गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ ।
तर, हाइपरसोनिक विमानहरुका क्षेत्रमा अत्यधिक अनुसन्धान आवश्यक छ । यसको उच्च गतिका कारण हाइपरसोनिक यान वरपरका हावाका अणुहरू अत्यधिक तात्छन् र संकुचित हुन्छन् । यसक्रममा अणुहरू छुट्टिन्छन् र एकअर्कासँग प्रतिक्रिया गर्छन् ।
त्यसैले हाइपरसोनिक विमानको विकासको लागि यो जटिल भौतिकी बुझेर सुरक्षित विमानको विकास गर्नु आवश्यक छ । यो सबै अध्ययनका लागि अब चीनमा यो सुरुङले भूमिका खेल्ने छ ।