site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चर्च ब्वाइजलाई एक खेलअगावै उपाधि पक्का गर्ने मौका
Tiktok banner adTiktok banner ad

काठमाडौं । गत वर्ष ‘बी’ डिभिजन लिगमा च्याम्पियन बनेर शीर्ष लिगमा पाइला टेकेको चर्च ब्वाइज युनाइटेडलाई मंगलबार एक खेलअगावै सहिद स्माकर ‘ए’ डिभिजन लिगको उपाधि जित्ने अवसर छ । आज चर्च ब्वाइजले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

लिगमा अब दुई खेल मात्र बाँकी छ । यस्तो अवस्थामा लिगको उपाधि होडमा दुई क्लब चर्च ब्वाइज र साविक विजेता मछिन्द्र क्लब मात्र बाँकी छन् । चर्च ब्वाइजको ४४ अंक छ भने मछिन्द्रको ३९ अंक छ । दुई क्लबबीच पाँच अंकको अन्तर छ । लिगमा ६ अंकको खेल बाँकी छ । 

आज चर्च ब्वाइजले एक अंक जोडे उपाधि पक्का हुनेछ । कारण, चर्च ब्वाइजले मछिन्द्रलाई ६ अंकले पछाडि पार्नेछ । मछिन्द्रले बाँकी दुवै खेल जित्नुका साथै चर्चले अन्तिम खेल हारे पनि अंक बराबर हुनेछ । लिगको नियमावलीअनुसार अंक बराबर भएमा ‘हेड टु हेड’का आधरमा निर्णय हुनेछ । ‘हेड टु हेड’मा चर्च ब्वाइज अगाडि छ । चर्च ब्वाइजले पहिलो चरणमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो चरणमा २–१ ले विजय हासिल गरेको थियो । त्यसकारण आज चर्च ब्वाइजले एक अंक जोडे पनि उपाधि पक्का गर्नेछ । 

चर्च ब्वाइज २०७६ सालमा ‘सी’ डिभिजन लिगको हैसियत हासिल गर्नु अघि पाँच पटक छनोट प्रतियोगितामा असफल भएको थियो । २०६६ सालमा स्थापना भएको चर्च ब्वाइज जब ‘सी’ डिभिजन लिगमा बढुवा भयो, त्यसपछि भने क्लबले पछाडि फर्केर हेर्नु परेको छैन । तेस्रो डिभिजनमा बढुवा भएकै वर्ष ‘सी’ च्याम्पियन बन्दै चर्च ब्वाइज ०७७ सालमा ‘बी’ डिभिजन लिगमा उक्लिएको थियो । 

त्यही च्याम्पियन लय कायम राख्दै चर्च ब्वाइजले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा एक खेल अगावै उपाधि पक्का गरेर शीर्ष डिभिजनको लिगमा बढुवा भएको थियो । आज चर्च ब्वाइजलाई पुनः अर्को मौका छ । एक खेल आगवै ‘ए’ डिभिजन लिगको उपाधि पक्का गर्ने । 

तर, चर्चको बाटोमा आज थ्री स्टार प्रतिद्वन्द्वी छ । थ्री स्टारलाई रेलिगेशनबाट बच्ने दबाब छ । थ्री स्टारलाई रेलिगेशनबाट बच्न बाँकी खेल जित्नै पर्छ । अन्यथा अन्य टिमको नतिजामा भर पर्नुपर्नेछ । थ्री स्टार पछिल्लो १३ खेलमा जितबिहीन छ । १३ मध्ये थ्री स्टारले ६ खेल बराबरी गरेको छ भने बाँकी खेलमा पराजित भएको छ । 

अहिले थ्री स्टार विक्रम लामाको कप्तानीमा खेलिरहेको छ । तर, संयोग उनै विक्रम लामा चर्च ब्वाइज ‘बी’ डिभिजन च्याम्पियन बनेर शीर्ष लिगमा उक्लदा क्लबको सारथी थिए । उनी प्रत्यक्ष रूपमा टिमको ‘टच लाइन’मा थिएनन् । तर, महाभारतमा अर्जुनको सारथी कृष्णजस्तै चर्च ब्वाइजको सारथी विक्रम थिए । 

उनै विक्रम आज चर्च ब्वाइजविरुद्ध आफ्नो रणनीति बुन्नेछन् । विक्रमलाई आजको खेल जित्नै पर्ने बाध्यता छ । यसअर्थमा पनि आजको खेल हेर्न रोचक हुनेछ । 

खेल हुनेछ दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

विभागीय डर्बीमा आर्मी र पुलिसको भिडन्त

लिगमा आजै दुई विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । १६औँ चरणको खेल सकिँदासम्म पुलिस अंक तालिकाको पुछारमा थियो । त्यसपछि भने नेपाल पुलिस क्लबको उकालो चड्ने ग्राफ बढेको छ । अहिले ३७ अंकका साथ चौथो स्थानमा छ । जुन तेस्रो स्थानको जावलाखेल युथसँग अंक बराबरी हो । मछिन्द्रभन्दा दुई अंकले पछाडि हो । गत आइतबार च्यासल मैदानमा पुलिसले मछिन्द्रलाई २–१ ले हराएको थियो । उक्त हारसँगै मछिन्द्र उपाधि होडमा कमजोरमा बनेको हो । त्यसैकारण मछिन्द्रका पदाधिकारी खेलाडी खेल सकिएपछि रेफ्रीमाथि जाई लागेका थिए । 

Police 1686019243.jpeg

पुलिसले पछिल्लो पाँच खेलमा विजयी नतिजा निकालेको छ । पछिल्लो १३ मध्ये पुलिसले दुई खेल हारेको छ भने एक खेल बराबरी खेलेको छ । बाँकी सबै खेल जित्न सफल भएको छ । ठीक विपरित त्रिभुवन आर्मीलाई अब रेलिगेशनको चिन्ता सुरु भएको छ । आर्मी अहिले ३० अंकका साथ ११औँ स्थानमा छ । जुन रेलिगेशनमा रहेको फ्रेण्ड्सभन्दा चार अंकले मात्र माथि हो । आठौँ स्थानमा रहेको एपीएफ, नवौँ स्थानको संकटा, दशौँ स्थानको एनआरटीको पनि समान ३० अंक छ । 

आज पुलिस क्लबविरुद्ध खेलेपछि आर्मीले अन्तिम खेल हिमालयन शेर्पाविरुद्ध खेल्नेछ । हिमालयन शेर्पाले भने अर्को सिजन पनि ‘ए’ डिभिजन लिगमा स्थान पक्का गरिसकेको छ । आर्मी र पुलिसबीचको खेल दिउँसो ३ बजे एन्फा मुख्यालयको मैदानमा हुनेछ । 

रेलिगेशन ब्याटल
लिगको अन्य खेलमा खुमलटार र सशस्त्र प्रहरी बल (एपीएफ)बीच प्रतिस्पर्धा हुनेछ । खुमलटार रेलिगेशनमा पर्ने लगभग पक्का जस्तै भएको छ । खुमलटार २४ अंकका साथ अंक तालिकाको पुछारमा छ । एपीएफ भने ३० अंकका साथ आठौँ स्थानमा छ । खुमलटार र एपीएफले दिउँसो ३ बजे च्यासल मैदानमा प्रतिस्पर्धा गर्नेछन् । 

APF1686019202.jpeg

ललितपुर डर्बी
आजै अर्को खेलमा सातदोबाटो युथ र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । सातदोबाटो ३२ अंकका साथ पाँचौँ स्थानमा छ भने जावलाखेल ३७ अंकका साथ तेस्रो स्थानमा छ । सातदोबाटोले आज साँझ ६ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro