
काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसद्मा निरीह भएको बताएका छन् ।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बनेको बताए ।
प्रधानमन्त्रीको नागकिरता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको उनले बताए । उनले अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसद्मा कुतर्क प्रस्तुत गरिरहेको भन्दै विरोध जनाए । उनले प्रधानमन्त्रीले संसद्लाई ढाँट्न नमिल्ने पनि बताए ।
"आज संसद्मा नेपालको प्रधानमन्त्री इतिहासमै निरीह हुनुभयो । यसरी निरीह भएर कहिल्यै पनि प्रस्तुत भएको छैन । किनभने उहाँसँग कुनै तर्क नै छैन । उहाँको धारणा नै कमजोर र फितलो छ । उहाँले विधेयक प्रमाणीकरणको गलत बाटो अपनाउनुभएको छ," उनले भने ।