काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली यूवा महिला टिमलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रमबीच नेपाली टिमलाई बिदाइ गरेको हो ।
नेपाली टिमलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश शाह र केन्द्रीय सदस्य सरिला श्रेष्ठलगायतले बिदाइ गरेका थिए । यसपटक टिमकी नियमित कप्तान प्रिती राई चोटका कारण टिममा नहुँदा दीपा शाहीले नेपाली टिमको जिम्मेवारी पाएकी छन् ।
नेपाली टिमको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ छन् । प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले यो समूहमा घरेलु टिम म्यानमार, चीन र चाइनिज ताइपेइ छन् । नेपालले जुन ६ मा म्यानमारविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । जुन ८ मा नेपालले चीनसँग र जुन १० चाइनिज ताइपेइसँग खेल्नेछ ।
यसअघि, नेपालले छनोटको पहिलो चरणमा घरेलु टिम प्यालेस्टाइन र मारियाना आइसल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो ।
नेपाली टिम
गोलकिपर : कविता बिक, लिला जोशी, सावित्री किसन
रक्षक : सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ
मिडफिल्डर : सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, अन्जली मचामसी, साराह बज्रचार्य
फरवार्ड : अमिषा कार्की (कप्तान), ममता पुन, गरिमा राई, सन्दीपा भोलन ।