site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफैँलाई जतन नगरेपछि
SkywellSkywell

जीवन (जीवनकुमार प्रसाईं) बेलाबेलामा नेपाल आउँथे । उनी हरेकपटक नेपाल आउँदा देख्थे, यहाँ पनि मान्छे आवश्यकताभन्दा धेरै दौडधुपमा छन् । चाहिनेभन्दा धेरै खाइरहेका छन् । शरीरलाई अनावश्यक तनाव र बोझ बोकेर हिँडिरहेका छन् । यहीक्रमले यो बढ्ने हो भने भोलि के हुन्छ, विभिन्न जर्नल र ग्रान्टमा लेखिसकेका उनले पत्रिकाहरूमा लेख्न थाले । उनका लेख राजनीतिक विश्लेषण र कूटनीतिमा केन्द्रित हुँदैन थिए । देश बनाउने रोडम्याप उनका कलमले लेख्दैन थिए । उनका लेख कसरी स्वस्थ जीवन जिउने, सधैँ स्वस्थ र फुर्तिलो कसरी रहने भन्ने तथ्यको सेरोफेरोमा घुम्थे । खासमा मान्छेले नबुझेरै हो, दुःख पाएको । आफैँवरिपरिको वातावरण मात्र जोगाउन सके त्यो नै सर्वोत्तम हुने उनले लेख्न थाले ।

अंग्रेजी दैनिकहरूमा उनका लेख आइरहेका बेला एक दिन कसैले भन्यो– लेखहरू लेख्नुको सट्टा पुस्तक नै लेखे के हुन्छ ? उनलाई पनि सुझाव नराम्रो लागेन । सुझावले केही घोत्ल्यायो । लाग्यो– हो त, आफूले लेखेका सामग्री पुस्ताकाकार पनि हुने । जतन पनि हुने । त्यसैले उनले पुस्तक लेख्न थाले । ‘जीवन जिउने काइदा’बाट सुरु भएको उनको किताब लेखनयात्रा आजपर्यन्त जारी छ ।

जीवन आफ्नो चौथो पुस्तक ‘धेरैको धपेडी’ लेखन यसरी सुरु गर्छन्– 
अंकुरण हुनसक्छ शीतमा 
चाहिन्न सिँचाइ धेरै ।
रमाउन सक्छ जीवन प्रीतमा
कम हुँदैन थोरै । 
नहराओस् जीवन भीडमा 
नभोगी आनन्द मेरै ।

KFC Island Ad
NIC Asia

अर्थात्, थोरैमा सन्तोक मान, धेरै नखोज । थोरैमा नै छ आनन्द, धेरै त दुःखको कारण हो भन्ने उनले यो पुस्तकमा दिन खोजेको सन्देश हो । सुख र खुसीको भेद छुट्ट्याउन नसक्दा त्यही नै दुःखको कारण बनिरहेको अहिलेको विश्व यथार्थलाई जीवनले यो पुस्तकमा लेखेका छन् ।

‘ठूलो भाग खोज्ने मन (मान्छे)को स्वभाव नै हो, शरीरको आवश्यकता होइन । धेरै खाएपछि भित्र एक किसिमको धपेडी सुरु हुन्छ । पेट फैलिन्छ, अम्ल र ग्यास निर्माण हुन थाल्छ । पेटको अम्ल माथितिर फैलिएर हृदय पोलेको (हार्टबर्न) अनुभव हुनसक्छ ।...’ जीवनको ‘धेरैको धपेडी’को पृष्ठ ५ को एक हरफले भन्छ ।

Royal Enfield Island Ad

हरेक मान्छे अहिले धपेडीमा छ । दौडधुपमा छ । र, यसकै कारण दुःखी छ भन्ने उनको निष्कर्ष छ । सित्तैमा मिठो पाए सकेसम्म नछाड्ने मानवीय प्रवृत्तिले स्वयं उसैलाई क्षति गरिरहेको उनी बताउँछन् । यो सत्यलाई हृदयंगम गर्न नसक्दा मान्छेले भोगिरहेको दुःखबाट कसरी पार पाउने ? उनले लेखेका छन् ।

अलिअलि विज्ञान, अलिअलि दर्शन अनि अलिअलि साहित्य मिसाएर पुस्तक लेख्नु जीवनको विशेषता हो । हामी बसेको समाज बुझ्न सके सुखको सागर नबुझे पनि फरक नपर्ने उनको सन्देश हो ।

अलिकति कममै असली दम हुन्छ । जब थोरै हुन्छ, त्यहाँ मन, चित्त र बुद्धि केन्द्रित हुन्छन् । धेरैलाई महत्त्व दिनेहरू अन्ततः दुःखी हुने गरेका आफूले संसारभर देखेको उनी सुनाउँछन् ।

विज्ञान र प्रविधिको विकास भयो । नयाँनयाँ आविष्कार भए । त्यसप्रति मान्छेको आकर्षण बढ्यो । मान्छे सुविधाभोगी हुँदै गए । तर, मान्छे जति धेरै सुविधाभोगी भए, त्यति नै दुःखी हुँदै गए । अन्ततः उनको निष्कर्ष छ– जसरी खाना धेरै भएपछि शरीरलाई त्यसले असर गर्छ, त्यसैगरी सुविधा धेरै भएपछि त्यसले मान्छेको जीवनलाई नै असर गर्छ । मान्छे दुुःखी हुन्छ । यसकै सेरोफेरोमा उनको ‘धेरैको धपेडी’ केन्द्रित छ ।

जीवनलाई विश्वास गर्ने हो भने थोरैले काम चलाउने बानी दिगो आनन्दको आधार हो । तर, धेरै उत्पादन गर्ने र धेरै खर्च गर्ने बानी मान्छेमा रहेको जीवन बताउँछन् ।

जो थोरै पाउँदा पनि रमाउँछ, उसैले धेरै कमाउँछ । जो थोरैमा रमाउँछ, उसले अभावमा पनि जिन्दगीलाई समृद्ध बनाउने जीवनको निष्कर्ष छ ।

बसिखाने मानवीय चाह बढ्दै जाँदा त्यही नै मृत्युको कारण भएको बनेको उनी बताउँछन् । सात तलामाथिको ट्रेडमिलमा लिफ्ट चढेर जाने सुविधाभोगी प्रवृत्ति जति मौलाउँदै छ, त्यति नै मान्छेको जिन्दगी पीडादायी र दुःखी हुँदै गएको उनको धारणा छ ।

उनी भन्छन्, “उपभोक्तावादी सोचले वातावरणीय सन्तुलन बिगार्दै छ । बाँच्नका लागि नभइ नहुने स्वच्छ हावा, स्वच्छ पानी, मलिलो माटोको आज अभाव हुन थालेको छ । बसिखाने बानीले दीर्घरोग बढायो ।”

जति धेरै सुविधाका लागि मान्छे मरिमेट्न थाले, त्यति नै पैसा, पद र प्रशंसाका लागि दौडधुप गर्ने गरेको र त्यही नै दुःखको कारण भएको जीवनको अनुभव छ ।

“उपभोक्तावादी सोचले समृद्धि त बढायो, तर सुख बढाएन,” उनी भन्छन्, “अस्पताल त थपिरहेकै छन्, तर औषधिले निको पार्न नसक्ने रोग थपिँदै छन् ।” मान्छले आजसम्म पनि यसप्रति ध्यान नदिएको उनको गुनासो छ । जहाँ ध्यान दिनुपर्ने त्यहाँ नदिएको भन्ने उनको चिन्ता छ ।

सम्पत्ति र सुविधाका साधनको जतन त मान्छेले गर्‍यो, तर आफ्नै जिन्दगीको जतन भने नगरेकामा जीवन बेलाबेला घोरिन्छन् । किन यसो भयो होला भनेर चिन्तन गर्छन् । अक्सर विज्ञानका प्रयोगशालामा बसेर रासायनिक वस्तुको अनुपातमा खेल्नुपर्ने जीवन जिन्दगीमा जोडघटाउ किन मिलेन भनेर घोत्लिइरहन्छन् । मान्छे आफैँले आफ्नै जिन्दगीको जतन किन नगरेको होला भनेर यसको रौँ चिरा केलाउँछन् ।

सनातनदेखि चल्दै आएको संस्कृति र सम्पदामा मान्छेले धावा बोल्यो । प्रकृतिमा त्यसले असर गर्‍यो । जलवायु परिवर्तन भयो । प्राकृतिक प्रकोपका घटना बढे । विनाशको क्रम बढ्यो । कति जीवजीवात्माको यही कारण अस्तित्व समाप्त भयो । मान्छेकै जिन्दगी संकटमा पर्ने अवस्था आइसक्यो । यसका पछाडि मान्छे स्वयंको हात रहेको जीवन बताउँछन् । तर, यसप्रति न व्यक्तिलाई चिन्ता छ न जगत्लाई उति धेरै चासो छ ।

“आज हाम्रो समाजमा यति धेरै आवश्कताभन्दा बढी चिजहरू छन्, जुन वास्तवमा नभए पनि हुन्छ । चार÷पाँच वर्षका बालबालिका झोलाभरि किताब बोेकेर भोलि स्कुल नजाउन्जेलसम्मका नसकिने होमवर्क लिएर आउँछन् । हामी आफैँ धपेडीमा छौँ,” जीवन अगाडि थप्छन्, “आज हरेक क्षेत्रमा ओभर रियाक्ट छ । आज नेताहरू किन धेरै बोल्छन् भने उनीहरूले गर्न सक्ने मात्रै बोल्यो भने उनीहरूलाई जनताले पत्याउँदैनन् । बोलेको कुरा भोलि पूरा हुँदैन । पूरा नभएपछि भोलि द्वन्द्व सिर्जना हुन्छ । हुने र नहुनेबीचको द्वन्द्वले समाजमा वैमनस्यता खडा गरिरहेको छ ।”

असन्तोकी मनले शरीरको आवश्यकताभन्दा धेरै लिने गरेको उनी बताउँछन् । यही नै समस्या भएको उनको निष्कर्ष छ । “आवश्यकताभन्दा धेरै खायो भने त्यसले शरीरलाई असर गर्छ । हाम्रो बुवाआमाको पालामा मान्छेले कतिपटक खान्थ्यो ? दिनमा दुईपटक, बढीमा तीनपटक । तर, हामी अहिले कतिपटक खान्छौँ ? शरीरले आवश्यकताभन्दा धेरै जसरी ग्रहण गर्न सक्दैन, जीन्दगीको सवालमा पनि त्यही नै हो ।”

व्यक्ति, राष्ट्र र जगत्को आवश्यकता मात्र होइन, इको सिस्टमको पनि आफ्नै आवश्यकता हुने उनी बताउँछन् । आवश्यकताभन्दा कम वा बढी भएपछि त्यसले इको सिस्टममै प्रहार गर्ने र अहिले त्यही भइरहेको उनको भनाइ छ । पुर्खाबाट सुरु भएको परम्परा र रीतिरिवाजले इकोलोजीलाई ब्यालेन्स गर्ने बताउँदै उनी भन्छन्, “प्रविधिको त्यति मात्रै प्रयोग गर्ने हो, जति हामीलाई आवश्यक छ ।”

विज्ञान, दर्शन र साहित्यलाई मिसाएर जीवन भन्छन्– कम हुँदैन थोरै । “आधुनिक प्रविधिको प्रयोग गरेर आज हामी आवश्यकताभन्दा धेरै उत्पादन क्षमता बढाउँला, तर हाम्रो नाति पुस्ताको समयमा माटो मरुभूमि भयो भने त्यो बेला हामी के गर्छौँ ?,” उनी भन्छन् । जिन्दगीलाई जतन गरे लामो समय रहने, नगरे वक्ररेखाहरूको यात्रा गर्दै चाँडै अन्त्य हुने उनको निष्कर्ष छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro