जैनेन्द्रकुमार
अनुवादक : वासु शशी
मौन मुग्ध सन्ध्या स्मित प्रकाशमा हाँसिरहेकी थिई । त्यसबखत गंगाको निर्जन बगरमा एकजना बालक र एउटी बालिका आफू र अरू सबै संसारलाई बिर्सेर, गंगाको किनारमा बालुवा र पानीलाई आफ्नो एक मात्र आत्मीय बनाएर, तिनैसँग खेलिरहेका थिए ।
प्रकृति यी निर्दोष परमात्माका अंशहरूलाई निस्तब्ध र निर्निमेष नियालिरहेकी थिई । बालक कहीँबाट ल्याएर एक टुक्रा लट्ठीले किनारको पानीलाई छ्यापछ्याप गरिरहेको थियो । पानी मानौँ चोट खाएर पनि बालकसँग मितेरी लाउनका लागि विह्वल भई उर्लिरहेको थियो । बालिका आफ्नो खुट्टामा बालुवा जम्मा पारेर थपथपाउँदै एउटा भर्साई बनाइरहेकी थिई ।
बनाउँदा बनाउँदै भर्साईबाट बालिकाले भनी, “हेर, ठीक–ठीकसँग बनिनस् भने म तँलाई फोडिदिन्छु ।” फेरि बडो प्रेमपूर्वक थपथपाउँदै ऊ त्यसलाई ठीक पार्न लागी ।
ऊ सोचिरहेकी थिई– यसमाथि म एउटा कुटी बनाउँछु, यो मेरो कुटी हुनेछ । अनि मनोहर ? अहँ, ऊ कुटीमा बस्नेछैन, बाहिर उभीउभी भर्साईमा पात–पतिंगरहरू झोसिरहनेछ । जब ऊ हार खानेछ, खूब कराउनेछ, तब म उसलाई आफ्नो कुटीभित्र लैजानेछु ।
उता मनोहर आफ्नो पानीसँग हिलमिलिएर खेलिरहेको थियो । यता अकारणै उसमाथि रोष र अनुग्रह व्यक्त गरिँदै छ भन्ने उसलाई के थाहा ?
बालिका सोचिरहेकी थिई, “मनोहर कति असल छ, तर बडो विद्रोही छ । हामीलाई जिस्क्याइ मात्र रहन्छ । अब हुलदंंगा मच्चायो कि हामी उसलाई कुटीभित्र पस्नसम्म पनि दिन्नौँ । पस्न खोज्यो भने ऊ सँग शर्त लगाएर मात्रै मान्नेछु ।”
बालिका सुरबाला सात वर्ष पुगेकी थिई । मनोहर करिब दुई वर्षजति ऊभन्दा जेठो थियो ।
बालिकालाई अचानक सम्झना भयो– भर्साईको छानो गरम हुनेछ । त्यसमा मनोहर रहन्छ कसरी ? म त रहन सक्छु । तर, मनोहर त जल्नेछ । उसले फेरि सोची– उसलाई म भन्दिन्छु, “हेर, छानो ज्यादै तातेको छ, तिमी पोलिनेछौ, तिमी नआऊ ।”
तर, उसले मानेन भने ? ऊ मेरो साथमा बस्न आयो भने ? म भन्छु, “सुन, पर्ख, मै बाहिर आइदिन्छु ।...”
तर, उसले मेरो नजिक आउनलाई हठ गर्छ । तर, म उसलाई आउन दिन्नँ । बिचरा होला र ? जरुर गर्छ, ऊ बडो हठी छ । पोलिनेछ– के फाइदा ? बढ्ता कराउन थाले, म धक्याइदिन्छु, र भन्छु, “अरे, पोलिनेछाैं मूर्ख !”
यति सोचेकोमा उसलाई बडो मजा आयो, तर उसको मुख सुक्यो । उसका लागि साँचासाँचै धक्का खाएर मनोहर ढलेको हास्योत्पादक तथा करुण दृश्य सत्य घटनाजस्तै भएर प्रत्यक्ष भयो ।
बालिकाले एकदुईपल्ट भर्साईमा कडा हात लगाएर हेरी– भर्साई ठीक बनिसकेको थियो । एउटी आमा जसरी सतर्क सावधानीका साथ आफ्नो नवजात शिशुलाई ओछ्यानमा पल्टाउन छोडिदिन्छे, त्यसरी नै सुरबालाले आफ्ना खुट्टा सुस्तसुस्त भर्साईको मुनिबाट तानी ।
यस क्रियामा मानौँ ऊ साँचासाँचै भर्साईलाई थपथपाइरहेकी थिई । उसका पाउमा त भर्साई अडेको थियो, पाउको आश्रय छुटेपछि बिचरो कहीँ भताभुंग नहोस् । खुट्टाहरू राम्ररी निस्केपछि पनि भर्साई जब जस्ताको तस्तै अडिरह्यो त बालिका एकपल्ट आह्लादले नाच्न लागी ।
बालिका तुरुन्तै बेकुफ मनोहरलाई यस अलौकिक चातुर्यले परिपूर्ण भर्साईको दर्शन दिन दौडँदै गएर चिच्याएर ल्याउन उद्यत भई । मूर्ख लडका पानीसँग अल्झिरहेको थियो, यहाँ यस्तो जबर्जस्त कारीगरी भएको छ– त्यो ऊ के देख्दथ्यो । यस्तो पक्की भर्साई उसले कहीँ देखेको पनि छ ।
तर, सोची– कहिल्यै छैन, पहिले कुटी त बनाऊँ । यो सोचेर बालिकाले एकपल्ट अलिकति बालुवा उठाई र बडो सुस्तरी भर्साईको शिरमाथि छोडिदिई । फेरि दोसोपल्ट, फेरि तेसोपल्ट, फेरि चौथौपल्ट । यसरी चारपटक बालुवा विस्तारैविस्तारै छाडेर सुरबालाले भर्साईको शिरमा आफ्नो कुटी तयार पारी ।
भर्साई तयार भयो । तर, बालिकाले छिमेकको भर्साईको पूरापूरा सम्झना गरी त थाहा पाइयो, एउटा कमी रहन गएको छ । धूवाँ निस्कने कहाँबाट ? अलिकति सोचेर उसले एउटा सिन्का उठायो र त्यसलाई बंग्याएर त्यसमा गाडिदिई अस्तु, ब्रह्माण्डको सबभन्दा सम्पूर्ण भर्साई तथा विश्वको सबभन्दा सुन्दर वस्तु तयार भयो ।
ऊ त्यस उद्दण्ड मनोहरलाई यस अपूर्व कारीगरीको दर्शन गराउनेछ, तर अहिले अझ अलिकति जाँचबुझ त गरूँ । सुरबाला आँ मुख बाएर, एकटक यो श्रेष्ठ भर्साई हेर्दै विस्मित–पुलकित भइरहेकी थिई । परमात्मा कहाँ विराजमान छन् भनेर कसैले यस नानीसँग सोधे उसले भन्दिनेछ, यस भर्साईमा ।
आफ्नी ‘सुरी–सुरो सुर्री’लाई सम्झदै पानीसँगको सम्बन्धविच्छेद गरेर हातको लट्ठीलाई न्वारानदेखिको बलले गंगाको धारामा फ्याँकेर जब मनोहरले मुन्टो फर्काएको थियो, त्यति बेला श्री सुरबाला देवी एकटकसित आफ्नो परमात्मलीलाको चटकलाई बुझ्ने र सुल्झाउने काममा लागिरहेकी थिई ।
मनोहरले केटीको दृष्टिको अनुशरण गरेर हेर्यो, श्रीमतीजी बिलकुल आफ्नो भर्साईमा अड्किएकी छ । उसले जोडसित गलल हाँस्दै एकै लातले भर्साईको काम तमाम पारिदियो ।
थाहा छैन कुनचाहिँ किल्लामाथि विजय प्राप्त गरेको हो, गर्वले फुलेर निर्दयी मनोहर चिच्यायो, “सुर्रो रानी !”
सुर्रो रानी चूपचाप उभिरही । उसको मुखमा जहाँ कुनै बेला एकप्रकारको विशुद्ध रस थियो, त्यहाँ अब एक किसिमको शून्य फैलिएको थियो । रानीको सामु एउटा स्वर्ग उपस्थित भएको थियो । त्यो उसैका हातले बनाइएको थियो र ऊ एकजना व्यक्तिलाई आफ्नो साथमा लिएर त्यस स्वर्गका एकएक मनोरमता तथा स्वर्गीयता देखाइदिन चाहन्थी । हरे, बिचरी । त्यही व्यक्ति आयो र त्यसैले लात हानेर त्यसलाई चकनाचूर पारिदियो । हाम्री रानी व्यथित भई ।
मेरा विद्वान् पाठकहरूमध्ये कसैले पाए ती मूर्खहरूलाई सम्झाउँथ्यो, “यो संसार क्षणभंगुर छ । यसमा पनि के दुःख, के सुख । जो जसमा बनाइएको छ, त्यो त्यसैमा लय भएर जान्छ – यसमा शोक र उद्वेगको के कुरा ?
यो संसार पानीका थोपाथोपा हो, फुटेर एक दिन पानीमै मिल्न जानेछ । फुटेर जानुमै थोपाहरूको सार्थकता छ । जो यति कुरा बुझ्दैन, त्यो दयाको पात्र हो । ए मूर्ख केटी ! तँ बुझ । सबै ब्रह्मको हो, सब त्यसैमा लीन भएर जानेछ । तसर्थ, तँ केका लागि व्यर्थ व्यथा सहिरहेकी छस् ?
बालुकाको तेरो भर्साई क्षणिक थियो, क्षणमै लुप्त भयो, बालुवामै मिसिएर गयो । यसमा खेद नगर, यसबाट शिक्षा ले । जसले लात हानेर त्यसलाई भत्कायो, त्यो त परमात्माको केवल साधन मात्र हो ।
परमात्मा तँलाई नयाँ शिक्षा दिन चाहन्छन् । नानी ! तँ मूर्ख किन बन्छस् ? परमात्माको यसै शिक्षालाई बुझ र परमात्माकहाँसम्म पुग्ने प्रयास गर । आदि–आदि ।
किन्तु, बिचरी केटीको दुर्भाग्य, कुनै विज्ञ बुद्धिमान् पण्डित तत्वोपदेशका लागि त्यस गंगा–तटसम्म पुग्न सकेनन् । मलाई त यस्तो सन्देह पनि लाग्दछ कि सुरी एकदम यस्ती जड–मूर्ख छ कि कुनै परोपकाररत पण्डितले परमात्माको निर्देश पाई त्यहाँ पुगेर उपदेश दिन थाले पनि ऊ तिनको कुरा न सुन्नेछ, न बुझ्नेछ ।
तर, अब त त्यहाँ निर्बुद्धि शठ मनोहरबाहेक अरू कोही थिएन र मनोहर विश्व–तत्त्वको एउटा कुरा पनि जान्दैनथ्यो । उसको मन थाहा छैन कस्तो भइरहेको थियो, मानौँ कसैले भित्रैभित्र निचोरिरहेको थियो । तर, उसले केही भएको छैन जस्तो गरेर भन्यो, “सरो, धत् बहुलाई । रिसाउँछयौ ?”
सुरबाला त्यसै उभिरही ।
“सुरी, किन रिसाउँछस् ?”
केटी पटक्कै चलिन ।
“सुरी ! सुरी ! ...ए सुरी !”
अब मनको कुरा लुकाइराख्नु सम्भव थिएन । मनोहरको आवाज हठात् कामेजस्तो भयो ।
सुरबाला अब मुख फर्काएर उभिरहेकी थिई । स्वरको यस कम्पनसँग शायद उसको सामना भएन ।
“सुरी... ए सुरिया ! म मनोहर हुँ... मनोहर ! मलाई पिट्दैनस् ।”
यति कुरा मनोहरले उसको पिठ्यूँ पछाडिबाट भन्यो, यसरी भन्यो जसबाट ऊ रोइरहेको छैन भन्ने प्रकट गर्न चाहन्थ्यो ।
“हामी बोल्दैनौँ ।” बालिका नबोलीकन बस्न सकिन । उसको भर्साई शायद स्वर्गविलीन भएको थियो । त्यसको ठाउँ, केटीको सम्पूर्ण दुनियाँको ठाउँ मनोहरको कामेको आवाजले ओगट्यो ।
मनोहरले बडो जोड लगाएर भन्यो, “सुरी ! मनोहर तेरो पछाडि उभिरहेको छ । त्यो बडो दुष्ट छ । नबोले नबोल, तर त्यसलाई किन बालुवाले हिर्काउन्नस्, किन पिट्दैनस् ? त्यसलाई झापट दे — अब कहिल्यै त्यो कसूर गर्दैन ।”
केटीले कराएर भनी, “चूप लाग हो !”
“हेर्दैनस् ?”
“ठीक छ नहेर । हेर्दै नहेर । म अब कहिल्यै अगाडि आउन्नँ, म यही लायक रहेछु ।”
“भनिसकेँ मैले तिमीलाई, तिमी चूप लाग । हामी बोल्दैनौँ ।”
बालिकाको व्यथा र क्रोध उहिल्यै खतम भइसकेको थियो । त्यो पग्लिएर बगिसकेको थियो । यो कुनै अर्कै भाव थियो । यो त उल्लास थियो जो रिसको व्याजको रूप धारण गरिरहेको थियो । अर्को शब्दमा यो थियो स्त्रीत्व ।
मनोहरले भन्यो, “लौ सुरी ! म बोल्दिनँ । म बसिदिन्छु । यहीँ बसिरहन्छु जबसम्म तँ भन्दिनस्, उठ्न पनि उठ्दिनँ, बोल्न पनि बोल्दिनँ ।”
मनोहर चूप लागेर बस्यो । केही बेरपछि हार खाएर सुरबालाले भनी, “मेरो भर्साई किन भत्काइदिएको हँ ? हाम्रो भर्साई बनाइदेऊ ।”
“लौ, अहिल्यै बनाइदिन्छु ।”
“हामीलाई त्यस्तै चाहिन्छ ।”
“त्यस्तै बनाइदिन्छु, अझ त्योभन्दा राम्रो ।”
“हाम्रो भर्साईमा हाम्रो कुटी थियो, त्यसमा धूवाँ जाने बाटो थियो ।”
“लौ, सब लौ । तिमी बनाउँदै जाऊ न, म भन्दै जानेछु ।”
“हामी बनाउन्नम् ।”
“तिमीले के खान भत्काएको ? तिमीले भत्कायौ, तिमी नै बनाऊ ।”
“ठीक छ, तर तिमी यता त हेर ।”
“हामी हेर्दैनम्, पहिले भर्साई बनाइदेऊ ।”
मनोहरले एउटा भर्साई बनाएर तयार पार्यो । उसले भन्यो, “लौ, भर्साई तयार छ ।”
“तयार छ ?”
“हो ।”
“धूवाँ जाने बाटो बनायौ ? कुटी बन्यो ?”
“त्यो कसरी बनाउने— भन त मलाई ।”
“पहिले बनाऊ, तब बताउँछु ।”
भर्साईको शिरमा एउटा सिन्का घुसारेर, एउटा एउटा पातको छानो छापेर उसले भन्यो, “बन्यो ।”
तुरुन्त यता फर्केर सुरबालाले भनी, “खै देखाऊ ।”
“सिन्का ठीकसित लागेन हो,” “पात यसरी राख्नुपर्छ,” आदि–आदि संशोधन गरिसकेपछि मनोहरलाई हुकुम दिई—
“अलिकति पानी ल्याऊ, भर्साईको शिरमा राख्छु ।”
मनोहरले पानी ल्याइदियो ।
गंगाजलले कर–पात्रद्वारा ऊ भर्साईको अभिषेक गर्न अगाडि बढेकै मात्र के थियो, सुर्रो रानीले एक लात हानेर भर्साईको शिरलाई भताभुंग पारिदिई ।
सुरबाला रानी हाँसेर नाच्न थाली । उत्फुल्ल भएर मनोहर गललल हाँस्न थाल्यो । त्यस निर्जन–निछ्याममा त्यो निर्मल शिश–हास्य–रस लहराउँदै लहराउँदै व्याप्त भएर गयो ।
सूर्य महाराज बालकहरूको जस्तो रातो मुखले गुलाबी मुस्कान मुस्काइरहेका थिए । गंगा मानौँ, सब थोक बुझेर दंग भइरहेकी थिई । अनि, अनि त्यो लामो अग्लो दिग्गज वृक्ष मानौँ, दार्शनिक पण्डितजस्तै यावत् हास्यको सारशून्यताको मनैमन गम्भीर तत्त्वालोचन गर्दै, हाँसोमा निमग्न भइरहेका मूर्खहरूमाथि अलिकति दया बक्सन चाहन्थ्यो ।
(बीसौँ शताब्दीका प्रसिद्ध हिन्दी लेखक । विशेषतः आख्यानमा सिद्धहस्त । मानवीय मनोविज्ञान उनका उपन्यासहरूमा अभूतपूर्व रूपमा आएको छ । ‘सुनिता’ र ‘सागपत्त’ उनका ख्यातिप्राप्त उपन्यासहरू हुन् ।)
(वासु शशीको अनुवाद तथा प्रद्युम्न जोशीको सम्पादन रहेको ‘विश्वका श्रेष्ठ कथा’बाट ।)