सुशील लामा
हिजो,
अलौकिक तिम्रो रूप
न मैले देखेर चिन्न सकेँ
न चिनेर तिमीलाई बुझ्न सकेँ
तिम्रो उधारो आश्वासनको छायामा
मेरो भरोसाको जिन्दगी
एक युग बाँची हेरेँ
तिम्रो आदर्शको पाइनले चम्केको
आयातित ठूलाठूला वादको पछि लागेर
धर्म बिर्सिदिएँ
कर्म भुलिदिएँ
आफ्नाहरूको मूर्ति तोडेर
आयातितहरूको तस्बिर पुज्न थालेँ ।
तिम्रो चर्को भाषणमा
चर्को घामको पर्वाह गरिनँ
म तिम्रै छाया बनेर तिम्रै पछिपछि लागिरहेँ ।
जंगलमा बसेँ
कुना–कन्दरामा कन्दमूल खाँदै
जिन्दगीलाई बचाइराखेँ ।
बुर्जुवा शिक्षाको काम छैन भन्यौ
किताब हाल्ने झोलामा किताबको सट्टा
बम, बारुद, ग्रिनेट केके हो
फुस्रा सपना बोकेर हिँडेँ ।
तिम्रो आश्वासनमा
तिम्रो आदेशमा
तिम्रो भरोसामा
मैले आफ्नो तन्नेरी जोवन
पट्यारलाग्दो
वन, पाखा र पहरामा बिताएँ ।
आज,
तिम्रो अलौकिक जिन्दगीको अर्को अध्याय
तिम्रो बठ्याइँ
तिमीले अंकमाल गरेको परिवर्तन
तिमीले बनाउँछु भनेको नयाँ नेपाल
देशको निष्कलंकित स्वाभिमान र स्वाधीनता
गौरवमयी कुमारी इतिहास
भुटानी शरणार्थी शिविर क्याम्पको बाटो हुँदै
रक्ताम्य भई ढलेर
रगतैरगतको आलो टाटो बोकी
तेस्रो मुलुकका आधुनिक सहरहरूमा
आधुनिक सपनाको बेर्ना सार्दै छन् ।
तिमी दंग छौ
हिजोको शपथ भुलेर
आफ्नो निजी स्वार्थमा रमेर
कठै, कस्तो बहुरूपी तिम्रो रङरूप !
भोलि,
तिमीले निर्माण गरेको विगतको
झुटहरूको पर्दाफास हुँदै
अज्ञात बन्धनमा बाँधिएको वर्तमानले नखोतलेको
तिम्रो एकएक कर्तुतहरूको
भेट हुन नसक्ने भोलिहरूले
समयलाई साक्षी राखेर हिसाबकिताब गर्नेछन्
बितेका आत्माहरूको रगत, पसिना, आँसुले
सिँचेको वन, पाखा, पखेरामा
फुलेको जंगली बुकी फूल
तिम्रो अत्याचारको अन्त्येष्टिमा
श्रद्धाञ्जली अर्पण गर्न
तयार हुन्छ ।