site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विराटनगरको ‘कस्टम यार्ड’मा बिहीबार पहिलो कार्गो रेल आउँदै, व्यवसायीले स्वागत गर्ने
फाइल तस्बिर : भारतको बथनाहाबाट विराटनगरको बुधनगरसम्म ट्रयाक परीक्षण गर्न आएको भारतीय रेल । 

विराटनर । भारतबाट विराटनगरको बुधनगरस्थित ‘कस्टम यार्ड’मा कार्गो रेल आउने तय भएको छ । भारतबाट भोलि जुन १ तारेख बिहीबारका दिन कार्गोरेल नेपाल आइपुग्ने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअघि यस विषयमा भन्सार र भारतीय रेल्वेका अधिकारीले विराटनगरका उद्योगी व्यवसायीसँग छलफल गरेका छन् । केही दिनअघि विराटनगर आएका भारतीय अधिकारीहरुले उद्योग संगठन मोरङमा छलफल गरेका थिए । छलफलमा नेपाली उद्योगी आफूहरुले विगत लामो समयदेखि कार्गो रेल आउने विषयमा पर्खिएको बताएका थिए ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयष प्याकुरेलले रेलमा औद्योगिक कच्चा पदार्थ, फलामका बिलेटलगायत सामग्री नेपाल आउने बताए । उनले भने, “हामीले विगत लामो समयदेखि माग गर्दै आएको विषयको सम्बोधन भएको छ । विराटनगरस्थित रेल्वे यार्डमा पहिलोपटक कार्गो रेल आउन लागेको हो ।”

प्याकुरेलले एक औपचारिक कार्यक्रमबीच कार्गोको स्वागतमा नेपाली उद्योगी÷व्यवसायी बुधनगरस्थित कस्टम यार्ड पुग्ने बताए ।

उद्योग संगठन मोरङका महानिर्देशक चुणामणि भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी हुनुअगावै कार्गो ल्याउने विषयमा छलफल गर्न भारतीय अधिकारीहरु आएको जानकारी दिए । छलफलमा भारतीय रेल्वेका सिनियर डिभिजनल अफिसर अमित सिंह, भारतको जोगबनीस्थित रेल्वे ट्राफिकका संजय कुमार, गुड्स सुपरिटेन्डेन्ट अभय कुमारलगायत थिए ।

सुनसरी–मोरङ औधोगिक करिडोरका उद्योगीले विराटनगर भन्सार यार्डसम्म कार्गो ब्रोडगेज रेल्वे यार्ड सञ्चालन गर्न विगत लामो समयदेखि माग गर्दै आएका थिए । भारतले हस्तान्तरणको तयारी गरे पनि नेपाल पक्षले यसमा चासो दिएको थिएन । 

बुधनगरम्म ट्रयाक बिछ्याउनेदेखि, स्टेसन तथा यार्ड निर्माणको कार्य यसअघि नै सम्पन्न भइसकेको थियो । तर, नेपालतर्फको कटहरीमा जग्गा मुआब्जा विवादका कारण रेल्वेको यार्ड निर्माण हुन र ट्रयाक बिछ्याउन विलम्ब भइरहेको छ ।

रेल्वे यार्डसम्म कार्गो रेल नआउँदा औधोगिक कच्चा पदार्थ आयात र तयारी वस्तु निकासी गर्दा उद्योगीले महँगो मूल्य तिर्नुपर्ने बाध्यता छ । यार्डसम्म रेल्वेमा सामान आयात गर्ने व्यवस्था भए त्यसले ठूलो खर्च कटौती हुने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल बताउँछन् । “रेल्वेबाट औद्योगिक कच्चा पदार्थ आयात हुँदा अहिले हुँदै आएको खर्चमा  प्रतिशतसम्म ढुवानी खर्च घट्नेछ,” उनले भने ।

बथनाहादेखि विराटनगरसमम रेल्वेको काम सुरु भएको १२ वर्ष भयो । मोरङको कटहरीसम्मको १८ दशमलव ६ किलोमिटर लम्बाई ब्रोडगेज रेलमार्ग भारत सरकारको सहयोगमा निर्माणाधीन छ । करिब चार अर्ब भारतीय लगानीमा भारतको इरकोन कम्पनीले सन् २०११ मा रेलको ट्रयाक बिछ्याउनेलगायत काम सुरु गरेको थियो ।

सन् २०१७ मै रेल्वेको निर्माण कार्य सम्पन्न भइसक्नु पर्नेथियो । हालसम्म विराटनगर आईसीपीसम्मको आठ किलोमिटर क्षेत्रमा रेल चल्न सक्ने संरचना भने तयार भइसकेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना रेल्वे पूर्णरुपमा सञ्चालन भए यो क्षेत्रको औद्योगिक विकासमा थप टेवा पुग्ने बताउँछन् । सबै संरचना तयार गर्न नेपालले ११९ बिघा जमिन अधिग्रहण गरेर निर्माण कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने सहमति थियो ।

तर, कटहरी गाउँपालिका वडा नं १ का २२ जना जग्गाधनीले ६ बिघा जमिन अधिग्रहण गर्न नदिने भन्दै सर्वोच्चमा मुद्दा हालेका छन् । मुआब्जासम्बन्धी मूल्य कम भएको भन्दै स्थानीय रुष्ट छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro