काठमाडौं । निकिता पौडेल अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी श्रीमतीका रूपमा बढी चर्चित छिन् । तर, उनको आफ्नो छुट्टै पहिचान छ । २१ वर्षअघिदेखि उनी सञ्चार र चलचित्र क्षेत्रमा क्रियाशील छिन् ।
विदेशमा मिडियासम्बन्धी अध्ययन गरी फर्किएर निकिताले यसै क्षेत्रमा योगदान दिइरहेकी छिन् । गोपीकृष्ण मुभिजकी प्रबन्ध निर्देशक, फिल्म निर्माता, टीभी फिल्मी टेलिभिजन च्यानलकी अध्यक्ष र नेपाल चलचित्र विकास बोर्डको पहिलो महिला अध्यक्ष हुन्, निकिता ।
‘कुसुमे रुमाल २’, ‘सुन्दर मेरो नाम’, ‘प्रीतिको फूल’लगायत चलचित्र उनले निर्माण गरेकी छिन् । निकिता मिडिया सोसाइटीकी कोषाध्यक्ष पनि हुन् । उनी निर्माणधीन गोपीकृष्ण सेन्टर कम्प्लेक्सकी डाइरेक्टर समेत हुन् ।
रविले रास्वपा स्थापना गर्नुमा उनको पनि मुख्य भूमिका छ । उनले रविलाई नयाँ पार्टी खोल्न भरपुर हौसला दिएकी थिइन् । पुराना पार्टी र नेताबाट अब देश बन्दैन भन्ने उनको निष्कर्ष थियो । रास्वपा गठनपूर्व पार्टीको विधान बनाउने, नाम, चुनाव चिह्न तय गर्ने चार/पाँचजनाको टिममा उनी पनि थिइन् ।
होस्टेलमा बाल्यकाल
विराटनगरमा जन्मिएकी निकिताले दार्जिलिङको कर्साङमा एलकेजीदेखि नै होस्टेलमा बसेर पढेकी हुन् । उनकी आमा सुमित्रा र बुवा उद्धव पौडेल दुवै चलचित्र क्षेत्रमा व्यस्त थिए ।
त्यसमै करियर बनाइरहेका दम्पतीले छोराछोरीलाई कर्साङको होस्टेलमा राखिदिए । त्यति बेला नेपाली चलचित्रको निर्माण अहिलेको तुलनामा धेरै कठिन थियो । नेपाली सिनेमाका सुटिङबाहेक रेकर्डिङ, मिक्सिङलगायत काम भारतमा गरिन्थ्यो । एउटा चलचित्रमा हात हालेपछि वर्ष दिनजसो नै व्यस्त हुने समय थियो त्यो । त्यही भएर निकिता र उनका दुवै भाइ निरज र निरकलाई होस्टेलमा राखियो ।
सन् १९८६ अप्रिल ५ देखि गोर्खाल्यान्डको ठूलो आन्दोलन भयो । त्यसपछि निकिताले केही वर्ष नेपालका विभिन्न विद्यालयमा होस्टेलमा बसेर पढिन् । कक्षा–६ देखि उनलाई पुनः मसुरी (भारत)मा होस्टेलमा राखियो । होस्टेलमा बस्दा मादल र भ्वाइलिन बजाउँथिन् ।
त्यसैले पनि होला, उनलाई सुरतालको ‘कम्बिनेसन’को ज्ञान छ । निकिता नृत्य गर्थिन् । नाटक पनि खेल्थिन् । त्यहाँबाट ‘ओ’ लेबलको पढाइ सकाइन् । होस्टेलमा बस्दा आफ्नो देश र परिवारप्रतिको माया झन् बढेको उनको अनुभव छ ।
मिडिया अध्ययन र मिडिया अनुभव
लामो बिदामा घर आउँथिन् । घरमा प्रायः सुटिङ भइरहेको हुन्थ्यो । लाइट, क्यामेरा, एक्सनको साउन्डले उनमा प्रभाव पारिरह्यो । सुटिङको माहोल, क्यामेराम्यान र निर्देशकको ‘एक्सन’ उनलाई खुब रमाइलो लाग्थ्यो । लाइट, क्यामेरा, एडिटिङका सामग्री देख्दा त्यही विषय पढ्न पाए हुन्थ्यो भन्ने रहर जाग्थ्यो ।
निकितालाई थाइल्यान्डको अमेरिकन युनिभर्सिटीमा आईटी पढ्न पठाइयो । तर, सँगैको अर्काे भवनमा पढाइने मिडियाप्रति उनको आकर्षण बढ्दै गयो । आईटीको पढाइ बीचमै छोडिन्, मिडियातर्फ मोडिइन् । मिडिया प्रोडक्सन एन्ड कम्युनिकेसन विषय लिएर मास्टर्स सकाइन् । त्यसपछि नेपाल फर्किइन् ।
काठमाडौं फर्किएपछि पहिलो जागिरका रूपमा उनी कान्तिपुर टीभीमा आबद्ध भइन् । सन् २००२ देखि २००६ सम्म कान्तिपुरमा कार्यक्रम निर्माताका रूपमा काम गरिन् । उनले निर्माण गरेका ‘के आज घरमा’ र ‘कुक बुक’ महिलामाझ निकै लोकप्रिय थियो ।
कामसँगै मास कम्युनिकेसन पढाइ हुने कलेजमा फिचर राइटिङ र हिस्त्री अफ सिनेमाका कक्षा पनि लिन थालिन् । कान्तिपुरमा काम गर्दा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङले आफूलाई धेरैपटक अभिनयका लागि अफर गरेको उनी बताउँछिन् ।
धेरैपटक अफर गरेपछि एउटा भए पनि म्युजिक भिडियोमा अभिनय गरौँ भन्ने सोचिन् । तर, बुवाले स्वीकृति नदिएपछि उनी अघि बढिनन् । निकितालाई अभिनयप्रति खासै रुचि पनि थिएन ।
“सबैले गर भनेकोले एउटाचाहिँ गरौँ कि मात्रै भएको हो,” उनी भन्छिन्, “यदि, मैले त्यति बेला म्युजिक भिडियोमा अभिनय गरेको भए मेरो अफिसको भित्तामा त्यो फोटो राख्न पाइन्थ्यो नि !”
उद्धव पौडेलले रेडियो फिल्मीको लाइसेन्स लिए, निकिताले चलाइन् । दुई वर्षको रेडियो अनुभवपछि आफैँ अध्यक्ष बनेर टीभी फिल्मी च्यानल सुरु गरिन् । गोपीकृष्ण मुभिजमा पनि म्यानेजिङ डाइरेक्टरका रूपमा संलग्न भइन् । गोपीकृष्ण हलसँगै त्यहाँको ‘नेटवर्किङ’को बिजनेस पनि हेर्ने थालिन् ।
जीवनमा ‘मुभ अन’को सोच नै रविसँगको विवाह
निकिताको वैवाहिक सम्बन्ध बिग्रियो । त्यसमा सम्झौता गरेर अघि बढ्न चाहिनन् । अलग्गिएर करियरलाई अगाडि बढाइरहेकी थिइन् । रविको पनि वैवाहिक सम्बन्ध बिग्रिएको थियो । उनी अमेरिकाबाट नेपाल फर्किएका थिए । निकिता चलचित्र बोर्डको अध्यक्ष रहँदा कामको सिलसिलामा न्युज२४ मा पहिलोपटक रविसित भेट भयो ।
पहिलो भेटमै रविको भिजनले उनलाई तान्यो । पछि एक साथीमार्फत जीवनलाई नयाँ तरिकाले ‘मुभ अन’ गर्ने सल्लाह भयो । त्यसपछि उनीहरू नजिकिए । निकितालाई लाग्थ्यो– परिपक्व भएपछिको सम्बन्ध र निर्णय दिगो हुन्छ ।
निकिता र रविका धेरै कुरा समान थिए । एकले अर्काेको काममा सपोर्ट गर्न सक्थे । त्यसैले असल जीवनसाथी बन्न सक्ने ठहरका साथ कोर्ट म्यारिज गरे । जीवन एक्लै पनि बाँच्न सकिन्छ, तर ‘ट्युनिङ’ मिलेको पात्र जीवनसाथी भए जिन्दगी सुन्दर हुन्छ भन्ने सोच निकिताको थियो ।
उनीहरूले बिहे गर्दा रवि न्युज २४ मा ‘सिधा कुरा जनता’सँग चलाउँथे । उनका प्रस्तुति र कार्यक्रमबाट केही व्यक्तिहरू खुसी थिएनन् । बिहेपछि यसको सिधा असर आफूमा परेको निकिताको बुझाइ छ ।
उनका अनुसार चलचित्र बोर्ड अध्यक्षका रूपमा काम गरिरहेकी निकिताले मन्त्रालयबाट उचित माहोल पाइनन् । सञ्चार मन्त्रालयबाट ‘छोड्नुस् !’ भन्ने संकेत पाइन् । सोही कारण दुईवर्षे कार्यकाल नसकिँदै पदबाट राजीनामा दिइन् ।
निकिताले चलचित्र बोर्ड अध्यक्षका रूपमा दुई मुख्य काम गरेको देखिन्छ ।
उनले नेपालमा पहिलोपटक बक्सअफिस प्रणालीको सुरुआत गरिन् । अर्को, ‘आमा’, ‘कुमारी’लगायत पुराना १३ नेपाली चलचित्रलाई डिजिटलाइज गरिन् । त्यो कार्यले अहिले पनि निरन्तरता पाएको छ ।
पौडेल बोर्ड नेतृत्वमा आउनुअघि तत्कालीन अध्यक्ष राजकुमार राईको कार्यकालमै बक्सअफिस लागु गर्न सफ्टवेयर टेन्डर आह्वानसम्मको चरण पार भएको थियो । त्यसपछिका कार्यलाई निकिताले अगाडि बढाएर लागु गरेकी हुन् । तर, राजनीतिक कारण आफूले पूरा कार्यभार सम्हाल्ने वातावरण नपाउँदा नमजा लागेको उनी सुनाउँछिन् ।
आफ्नै बुवालाई भोट हालिनन् !
उद्धव पौडेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा गगन थापाविरुद्ध उठेका थिए । त्यससँगै उनी पनि बुवाको चुनावी अभियानमा होमिइन् । तर, राजनीतिप्रति उनको चाख घटेको थियो ।
देशको अस्थिरतासँग दिक्क थिइन् । कुनै नेता र पार्टीमा मिसन र भिजन देखिनन् । त्यसैले बुवालाई पनि भोट हाल्न गइनन् । जो आए पनि यस्तै हो भन्ने उनलाई लाग्न थालेको थियो । पुराना पार्टी र नेतासँग आशा–भरोसा थिएन ।
जीवनकै पहिलो भोट बालेनलाई
राजनीतिमा रविको राम्रै चासो थियो । केही नयाँ गरौँ भन्ने उनको सोच थियो । त्यसले बिहेपछि निकितामा पनि राजनीतिप्रति चाख बढ्यो । स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरतर्फ उठेका सबै उमेदवारका विषयमा अध्ययन गर्न थालिन् ।
जनताले परिवर्तन खोजिरहेको निकिताको ठम्याइ थियो । स्वतन्त्र रूपमा काठमाडौंको मेयरमा उठेका बालेन शाहप्रतिको ‘क्रेज’लाई उनले नियालिरहेकी थिइन् । युवापुस्ताको जोस, परिवर्तनको आशाले जीवनमै पहिलोपल्ट बालेनलाई भोट हालिन् ।
त्यसपछिको भोट उनले रास्वपालाई हालेकी हुन् । बालेनले काठमाडौंमा मेयर जित्छन् भन्दै निकिताले रविसँग बाजी नै राखेकी थिइन् । उनी रविलाई पुराना दलमा गएर परिवर्तन सम्भव छैन, नयाँ सोचका साथ आउनुपर्छ भनेर सम्झाउने गर्थिन् ।
राजनीतिमा लाग्ने सोच बनाइरहेका श्रीमान् (रवि) लाई निकिताले भनेकी थिइन्, “अब पुराना पार्टीमा गएर केही परिवर्तन हुँदैन । बालेनले जिते भने आफैँले नयाँ पार्टी खोल्नुपर्छ ।”
बालेनको जितसँगै निकिताले बाजी जितिन् । जनताका आवाज सुनेका रविले पनि जनता कति हदसम्म राजनीतिक दल र नेताहरूसँग वाक्कदिक्क भएका रहेछन् भन्ने बुझिहाले ।
उनले तुरुन्तै विभिन्न क्षेत्रमा रहेका युवा जमात समेटेर राष्ट्रिय स्वतन्त्र पार्टी खोलिहाले । हुन पनि त्यो सही समय थियो । जनतामा पुरानाप्रतिको अविश्वास र नयाँ आउनुपर्छ भन्ने चाहनाबीच जन्माइएको पार्टी हो, रास्वपा ।
राष्ट्रिय स्वतन्त्रता पार्टीको जन्म
निकिताले अहिलेसम्म पार्टीको साधारण सदस्यता समेत लिएकी छैनन् । तर, पार्टी खोल्दाका सुरुआती दिनहरूमा उनी हरेक कार्यमा सँगै थिइन् । पहिलो बैठक त उनकै घरमा भएको थियो । तर, कसैको पनि परिवार (श्रीमान् वा श्रीमती) प्रत्यक्ष रूपमा पार्टीमा सहभागी नहुने नियम आफैँले बनाएको उनी बताउँछिन् ।
उनी भन्छिन्, “नेपालको आजको राजनीति बिग्रेको पनि परिवारको सिधा हस्तक्षेप र परिवारका सदस्यहरूले पाइरहेको लाजमर्दो आरक्षणले हो । यदि, मलाई सांसद, मन्त्री हुन मन लाग्यो भने टिकट लिएर जनताको भोट मागेरै आउँछु । समानुपातिक र मायादया चाहिँदैन ।”
पार्टीको सदस्य नभए पनि उनले आफूले जानेको मिडियासम्बन्धी जिम्मेवारी लिएकी थिइन् । क्याम्पियन डिजाइन गर्ने, हेर्ने र प्रमोसनका पार्ट उनैले सम्हालेकी थिइन् । श्रीमान्को दुवैपटकको चुनावताका निकिता चितवनमा बसेर क्याम्पियनमा सहभागी भएकी थिइन् ।
परिवारवाद हटाउनुपर्छ भन्नेमा उनी दृढ सुनिन्छिन् । श्रीमान्ले बोलेका कुरामा केही चित्त नबुझे सल्लाह दिनेचाहिँ गर्छिन्, निकिता ।
पार्टीमा आबद्ध हुने उनको सोच छैन । तर, राजनीति बुझ्नुपर्छ भन्ने निकिता ठान्छिन् । समाजसेवामा रमाउने उनले अबका दिनमा श्रीमान्को नामको रवि लामिछाने फाउन्डेसनमार्फत महिला, बालबालिका र पिछडिएको समुदायका लागि काम गर्ने सोच बनाएकी छिन् ।
के देश परिवर्तनोन्मुख भएको हो ? निकिता भन्छिन्, “रवि लामिछानेबाट जनताहरूले धेरै आशा गरेको देख्दा लाग्छ, रवि लामिछानेजस्तै कोहीसँग नडराउने चार/पाँचजना हुनुपर्छ । उहाँजस्ता केही व्यक्तिहरू अझै आउने हो भने देश पक्कै परिवर्तन हुन्छ ।”
महिलाको ‘साथी’ बनाउने सोचमा नारी टीभी
महिला हिंसाविरुद्ध अघि बढ्ने, महिलाको आवाजलाई समाजमा प्रस्तुत गर्ने सोचका साथ निकिताले नारी टीभीको कल्पना गरेकी हुन् । टीभीका कार्यक्रम, विषय सम्पूर्ण रूपमा नारीप्रति केन्द्रित हुने उनी बताउँछिन् ।
महिलाका मुद्दा, महिला सशक्तिकरण, साना तथा घरेलु महिला उद्यमीलाई सघाउने, महिला हिंसाविरुद्ध खडा हुने, छोरीहरूलाई सबल, सक्षम बनाउने र सबल, सक्षम छोरीहरूका प्रेरणादायी कथाहरू देखाउनेलगायत कार्यक्रम यो च्यानलबाट प्रसारण गरिनेछ ।
रविलाई राजनीतिमा निकिताको पूर्ण साथ छ । निकिताका टीभी कार्यक्रममा पनि रविको भरपुर समर्थन छ । ‘माइतीघर’को कन्सेप्ट रविकै हो । माइतीघर कार्यक्रम हरेक नेपाली नारीको दुःख पोख्ने माध्यम बन्नेमा निकिता ढुक्क छिन् ।
तस्बिर : सुनिल प्रधान