
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू मौलिक विशेषता बोकेको प्रधानमन्त्रीको भएको जिकिर गरेका छन् । आफूलाई यसअघि सत्ता र प्रतिपक्षमा रहेका दुवै दलले समर्थन गरेको उनले बताए ।
सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा गरिएका प्रश्नहरूको मंगलबार जवाफ दिँदै उनले यसअघि आफूलाई सत्ता र प्रतिपक्ष दुवैले समर्थन गरेको स्मरण गरेका हुन् ।
“मौलिक विशेषता छ । अघिल्लोपटक सत्तापक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ मचाहिँ,” उनले भने, “यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिँदैन । नेपालको इतिहासमा मौलिक भेटिएको छ । ९९.२५ ले समर्थन गरेको भनेको शतप्रतिशत प्रतिनिधिसभाका सदस्यले समर्थन गरेर बनेको प्रधानमन्त्री हुँ ।”
प्रधानमन्त्री प्रचण्डले थपे, “हिजो सत्तापक्ष, प्रतिपक्ष दुवै, अहिले त्यही कार्यक्रमलाई निरन्तरता दिने मान्छे प्रधानमन्त्री ।”
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो प्रशंसा गरेको भन्दै उनले यस्तो अवस्था नेपाली राजनीतिक इतिहासमा दुर्लभ भएको जिकिर गरे ।
“हिजो मैले प्रधानमन्त्री भएर पहिलोपटक संसद्मा प्रधानमन्त्रीको रूपमा सम्बोधन गर्दै केही धारणा र विचारहरू प्रस्तुत गर्दै गर्दा अहिले प्रतिपक्ष दलको नेताले मेरो भनाइहरूलाई हिस्टोरिकल र एक्सिलेन्ट दुईबाट शब्दले उठेर हात मिलाउनुभएको थियो, त्यो अहिले पनि टीभीमा पनि देखिन्छ,” उनले भने, “म त्यही मान्छे हुँ । यो विशेषता पनि नेपालको संसदीय इतिहासमा कहिलेकाहीँ मात्र भेटिने दुर्लभ विशेषता हो ।”
उनले यो कुरालाई मध्यनजर गर्दै अहिलेको नीति तथा कार्यक्रमलाई ध्यान दिनुपर्ने बताए ।