काठमाडौं । हलिउड अभिनेता रे स्टिभेन्सनको ५८ वर्षको उमेरमा मृत्यु भएको छ । रोम, भाइकिंग्स, डेक्सटर, थोर, स्टार वार्सदेखि भारतीय चलचित्र आरआरआरमा समेत अभिनय गरेका स्टिभेन्सको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन । भारतीय फिल्म निर्देशक एसएस राजामौलीले उनको मृत्युको खबरले स्तब्ध भएको भन्दै ट्विट गरेका छन् ।
मृत्युको समयमा उनी एक एक्सन चलचित्र क्यासिनो इन इस्चियामा काम गरिरहेका थिए। २५ मेमा पर्ने जन्मदिनको चारदिनअघि उनको मृत्यु भएको हो ।
स्टिभेन्सनको जन्म उत्तरी आयरल्यान्डमा भएको थियो । तर, उनी आठ वर्षको हुँदा इङ्गल्यान्डमा सरेका थिए। सामाजिक सञ्जालमा विश्वभरका कलाकार एवं अन्य व्यक्तिले स्टिभेन्सनप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
