काठमाडौं । नेपालको व्यापारीक हब भनेर चिनिन्छ काठमाडौंको ‘महाबौद्ध’ ।
देशभरका पसल तथा व्यापारिक क्षेत्रबाट ‘होलसेल’ सामान लिन आउनको घुइँचोले हिँड्न पनि अप्ठेरो पर्थ्यो । तर पछिल्ला दिनमा न्युरोड, महाबौद्धमा सन्नाटा छाएको देख्दा चिन्तित छन् व्यवसायी । महाबौद्ध क्षेत्रलाई चिनियाँ होलसेल बजारको रुपमा चिनिन्छ ।
चीनबाट आएका सामान सोही क्षेत्रमा बढी पाइने विश्वास छ ।
कोरोना महामारीभन्दा पहिले यस क्षेत्रमा हिँड्नसमेत असहज हुन्थ्यो । यहाँ होलसेलका सामान खरिद गर्नको लागि देशका विभिन्न ठाँउबाट व्यापारीहरू आइपुग्थे ।
“कोभिडको समयमा व्यापार ठिकै थियो । अहिले त खत्तम छ । दुई वर्षयता पसल डुब्यो । अहिले त झनै खत्तम भयो,” २० वर्षदेखि महाबौद्धको वटुमार्गमा फेन्सी पसल गर्दै आएका देवीलाल गुप्ता गुनासो गर्छन् ।
वटुमार्गमा उनले ‘आरती फेन्सी पसल’ २० वर्षदेखि चलाउँदै आएको भए पनि अहिलेजस्तो कहिल्यै नदेखेको बताउँछन् । “यस्तो सुनसान मैले कहिल्यै पनि देखेको थिइनँ,” उनले भने । कोभिड अघिसम्म उनलाई पसलमा आउने ग्राहकसँग बोल्ने पनि फुर्सद हुँदैनथ्यो ।
“त्यसबेला पसलमा लागेको भीड म्यानेज गर्न समेत गाह्रो हुन्थ्यो,” उनले भने, “कोभिडअघि यहाँ पसलकै लागि होलसेलमा सामान खरिद गर्नेको भीड हुन्थ्यो तर अहिले दिनमा एक दुई जना आउँछन् त्यो पनि एक–दुई पिसमात्रै किनेर जान्छन् ।”
उनका अनुसार अहिले व्यवसायीको नराम्रो समय चलेको रहेछ ।
“सहकारीले पनि डुबायो,” उनी भन्छन्, “अलिअलि जम्मा गरेको पैसा पनि नदिइ सहकारी सञ्चालक बेपत्ता छन् । पसलमा व्यापासर छैन । पहिले यो ठाउँमा खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो । अहिले हुर्नुस् त एउटा मान्छे पनि छैनन्, आउँदैनन् । मान्छेसँग पैसै छैन भन्छन् ।”
उनले पहिले दैनिक पाँचलाखको व्यापार हुने भए पनि अहिले १५ देखि २० हजारसम्मको मात्रै हुने गरेको बताए । त्यस्तै साधना कलेक्सन सेन्टरका सञ्चालक नरेश विष्ट पनि विगत २२ वर्षदेखि महाबौद्धको वटुमार्गमा व्यापार गर्दै आइरहेका छन् ।
उनको गुनासो पनि गुप्ताको जस्तै छ । यस्तो कमी त उनले कहिल्यै पनि देखेका थिएनन् ।
“मैले यहाँ व्यापार गर्न लागेको २२ वर्ष भयो,” उनी भन्छन्, “यत्तिको अचम्मको समय मलाई थाहा नै भएको थिएन । ग्राहक घट्न थालेको ठ्याक्कै एक वर्ष भयो । अहिलेको के कुरा गर्नु दसैँमा पनि यसपल्ट व्यापार भएन । अहिले बजारमा मान्छे नै आउन छाडिसके ।”
“बिहान ८ बजेदेखि बेलुका ६–७ बजेसम्म पसल खुला हुन्छ,” उनले भने, “तपाइँलाई पत्यार नलाग्न सक्छ कुनै कुनै दिनमा बोहनीसमेत हुँदैन । दिनभरमा व्यापार भयो भने पनि ४–५ हजार हुन्छ । दिनमा २० हजारको व्यापार नभएको छ वर्षदिन बढी भइसक्यो ।”
उनका अनुसार भुइँचालोको बेलामा पनि व्यापार राम्रो थियो । अहिले टिसट, ट्राउजर, सर्टहरूको होलसेल छ ।
“कोभिडपछि हामी चीन पनि गएका छैनौं । व्यापार छैन, पैसा पनि छैन,” उनले भने, “एक लाखको सामान हाल्नको लागि २० लिएर किन चीन जानु ! व्यापार यस्तो छ । त्यो पैसा कहिले जम्मा हुने खै ?”
मुना रेडिमेटकी सञ्चालिका मुनाले १० वर्ष यस क्षेत्रमा व्यापार गर्दै आइरहकी छन् । उनी भन्छिन्, “खै हामीले त यति धेरै वर्ष भयो व्यापार गर्न थालेको तर कहिलै यस्तो भएको थिएन । यो पहिलोपटक नै हो । अहिले त व्यापार गर्न धेरै गाह्रो भइसक्यो ।”
उनी आफ्ना वरिपरिका सटर देखाउँदै भनिन्, “यहाँ कुनैमा तपाइँले कस्टुमर देख्नुभयो ? सबै पसलमा साहुजीहरुमात्रै बसेका छन् ।” कुल प्रसाद दंगाल महाबौद्धको गुच्चाटोल सबलबहालमा के एल ट्रेडर्स विगत २६ वर्ष वर्षदेखि संचालन गर्दैछन् ।
उनको दुखेसो पनि अरुको जस्तै छ ।
“व्यापारको कुरा नगरौँ, बोहनीसमेत हुन छाड्यो,” उनले भने, “पहिले यहाँ खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो । अहिले भरियाहरु पनि त्यसै बसेका छन् । काम छैन । बिहानै आउँछन् । एउटा भारी आयो भने ६ जना त्यसको पछि लाग्नुपर्ने अवस्था छ उनीहरुको पनि । ।”