काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको उद्देश्य नभएको र गन्तव्य पनि नभेटिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रमले वास्तविकता नै ढाँट्ने प्रयत्न गरेको बताए ।
वर्तमान नीति तथा कार्यक्रममाथि पहिलो वक्ताका रूपमा टिप्पणी गरेका ओलीले देशको अवस्थाका विषयमै सरकार बेखबर देखिएको बताए ।
“सरकारलाई देशको अर्थतन्त्रको अवस्थाबारे थाहा छैन कि जनतालाई ढाँट्न चाहन्छ ?,” उनले भने, “अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा भूकम्प, कोभिड महामारी र रुस–युक्रेन युद्धलाई कारण देखाइएको छ ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दातृसंस्थालाई गरेको ‘ब्रिफिङ’मा पनि राजस्व उठाउन नसकेको कुरा बताएको भन्दै उनले आपत्ति जनाए ।