site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
लोकतन्त्रको जुनकिरी  

उदार लोकतन्त्र यतिखेर प्रतिरक्षात्मक पङ्क्तिमा पुगेको छ । सन् १९९० को दशकमा सोभियत साम्राज्यको पतनपछि उदार लोकतन्त्र एकछत्र विश्व व्यवस्था बनेको देखिन्थ्यो । अहिले चीनले सबैभन्दा पहिले र ठूलो चुनौती प्रस्तुत गरेको छ प्रचलित विश्व व्यवस्था र मान्यतामा । चीनलाई भौतिक विकासको उदाहरण मान्ने मुलुक र व्यक्तिको सङ्ख्या चानेचुने छैन । त्यसका तुलनामा उदार लोकतन्त्रप्रति शङ्का गर्नेहरू भने बढ्दै गएको देखिएको छ । 

यसरी हालको विश्व व्यवस्थामा चुनौती उपस्थित हुनुमा उदार लोकतान्त्रिक विश्व व्यवस्थाको अगुवा मानिने अमेरिका बढी जिम्मेवार देखिन्छ । तत्कालको निहित स्वार्थभन्दा लोकतन्त्रका स्थापित मूल्यमान्यतालाई बलियो बनाउन ध्यान दिएको भए अहिलेको अवस्था सायद उत्पन्न हुने थिएन ।

संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक चीनले उदार लोकतन्त्रलाई बीसौं र एक्काइसौं शताब्दीमा सधैँ नै चुनौती दिइरहेकै थियो । त्यसबाहेक संसारभर नै लोकतान्त्रिक पद्धतिबाटै अधिनायकवादी शासकहरू प्रकट भए । संसारको सबैभन्दा ठूलो लोकतन्त्र कहलिन रुचाउने भारतमा धार्मिक कट्टरपन्थीहरू चुनावबाटै सत्तामा पुगे । आणविक महाशक्ति रुसमा पनि उदार लोकतान्त्रिक मूल्यहरू हेर्दाहेर्दै बिलाए । बालिग मताधिकारबाटै भ्लादिमिर पुटिन सत्तामा पुगे र कब्जा गरे । पछिल्ला जानकारीहरूका आधारमा संसारमा उदार लोकतन्त्रवादीहरू प्रतिरक्षात्मक र अनुदार कट्टरपन्थी अधिनायकहरू आक्रामक अवस्थामा छन् । अर्थात्, लोकतन्त्रका शास्वत मूल्यहरूमा निरन्तर आक्रमण भइरहेको छ ।

Dabur Nepal
NIC Asia

यस्तो प्रतिकूल अवस्थामा अधिनायकवादीहरूको सानोतिनो हार पनि लोकतन्त्रका लागि जुनकीरीकै जस्तो भए पनि 'उज्यालो' देखिँदो रहेछ । त्यसमाथि आन्दोलन वा क्रान्तिबाट नभएर चुनावबाट अधिनायकहरूलाई धक्का पुग्दा उदार लोकतन्त्र बलियो भएको भान पर्दोरहेछ । भारतको कर्नाटक राज्य, थाइल्यान्ड र टर्कीमा भएका निर्वाचनहरू परिणाम विश्वको उदार लोकतन्त्रवादीका लागि जुनकीरी हुन पुगेका छन् ।

कर्नाटकमा भाजपाको हार 

कर्नाटकमा भाजपाको हारले कांग्रेसहरूमात्र होइन भाजपा विरोधी सबै दल र समूह उत्साहित भएको हुनुपर्छ । अझै अर्थात् केन्द्रमा आठ वर्षभन्दा बढी शासन गरिसक्दा र उत्तर भारतमा एकछत्र प्रभाव जमाउन सफल हुँदा पनि धार्मिक कट्टरपन्थीहरूको प्रभुत्व भएको भारतीय जनता पार्टी (भाजपा)ले कर्नाटकको सत्ता गुमायो । अब भाजपा दक्षिण भारतका कुनै राज्यमा पनि सत्तामा छैन । अर्थात्, कम्तीमा दक्षिण भारतमा कट्टरपन्थीको प्रभुत्व रहेनछ भन्ने स्पष्ट भयो । कर्नाटकका जनताले भाजपाको केन्द्रीकरण र धार्मिक ध्रुवीकरणको राजनीतिलाई अस्वीकार गरिदिए । कर्नाटकमा जस्तै देशभरको कट्टरता विरोधी मत एकत्रित भयो भने त भाजपा आउने चुनावमा नराम्ररी पराजित हुनेछ ।

भाजपाले हार्दा भारतीय राष्ट्रिय कांग्रेसले एकल बहुमत पाएको छ। अगिल्लो दशक देखि नै निरन्तर खस्कँदै गएको कांग्रेस बौरिएको लक्षण देखियो । कर्नाटकको सन्देश देशभर पुग्यो भने कांग्रेस समर्थकहरूलाई सञ्जीवनी बुटी बन्न सक्छ । कर्नाटकमा जस्तै धार्मिक कट्टरपन्थीहरूको अधिनायकवादी शासनको जोखिमप्रति देशभरका अल्पसङ्ख्यक र उदारवादी सावधान भए भने सन् २०२४को चुनावमा भाजपा सत्ताबाट बाहिर पुग्न सक्छ । त्यसबाट भारतमात्र होइन दक्षिण एसियामै लोकतन्त्रको हावा चल्नेछ । कम्तीमा संसारको सबैभन्दा ठूलो लोकतन्त्र कहलिने मुलुकमा उदार लोकतन्त्र र मानवीय मूल्यको उपहास त बन्द हुनेछ । 
 
(यता भारत रिझाउने नाममा गरिएको राम र राखीको उत्ताउलो प्रदर्शन पनि काम नलाग्ने हुनसक्छ । त्यसो भए त अमेरिकाको प्रतिवेदनमा राप्रपाले आपत्ति जनाउनपर्ने कुरै नलेखिएला कि त्यतिबेला ? अनि 'योगी महाराज'ले 'नेपाल नरेश'को स्वागत जति गरे पनि कसैको टाउको नदुख्ने दिन आउला कि ? मठाधीशको दर्शनमा त किन टाउको दुखाउनू ? )

थाइल्यान्ड

समाज अपेक्षाकृत खुला भएर पनि शासन प्रायः अनुदार अधिनायकहरूले गर्ने गरेको मुलुक हो  थाइल्यान्ड । त्यहाँका जनता भने अधिनायकहरूलाई परास्त गर्ने मौका छोप्न कहिल्यै चुक्दैनथे । यसपटक भने सेनाले सत्ता हत्याएको एक दशक पुग्न लाग्दा भएको अपेक्षाकृत स्वतन्त्र निर्वाचनमा जनताले सैनिक सत्तासँग घुमाउरो सम्झौता समर्थकहरूलाई नराम्ररी हराइदिए । सैनिक शासनको विरोधको पर्याय बनेको फेउ थाई पार्टी पहिलो त हुन सकेन तर पहिलो हुने मुभ फरवार्ड पार्टी पनि सैनिक शासन विरोधी नै हो । यसैले थाई बहुमत प्रत्यक्षरूपमा सैनिक शासन विरोधी देखियो । मुभ फरवार्ड एक कदम अगाडि राजतन्त्र विरोधी पनि छ । 
   

थाइल्यान्डको सेनाले सधैँ जनमतको निरादर गर्ने गरेको छ । राजतन्त्रलाई आड बनाएको सेनाले सही अर्थमा बन्दुककै बलमा शासन गरेको छ । थाई जनताले भने मौका पाउनेबित्तिकै सेनाको बन्दुके हैकम अस्वीकार गर्दैआएका छन् । यसपटकको चुनावमा पनि सैनिक शासनको विपक्षमा जनताले मत दिए । सेनासँगै त्यहाँको राजतन्त्र पनि अलोकप्रिय बन्दै गएको छ । लाग्छ, अहिले जनमत संग्रह भए राजतन्त्रविरुद्ध ठूलो बहुमत प्रकट हुनेछ । राजाले सेनासँग नाभी गाँस्दा राजतन्त्रविरुद्ध जनमत पनि बढ्दै गयो । जनता बलियो हुनु राम्रै त हो ।   

टर्कीका अधिनायकको सत्तामा सङ्कट

टर्कीका अधिनायक रिसेव तैयब एर्दोआनले सायद सोचेकै थिएनन् होला यसरी पहिलोपटक बहुमत नआएर  पुनःनिर्वाचनमा जानुपर्ला भनेर । एर्दोआनले दोस्रोचरणमा  केमाल किलिचदारओलुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । एर्दोआन टर्कीलाई अधिनायकवादतर्फ लैजाने शासक हुनपुगे । यद्यपि, उनी पनि लोकतान्त्रिक विधिबाटै सत्तामा पुगेका थिए ।

टर्कीको विपक्ष भारतमा जति पनि सुरक्षित र संगठित छैन । जनतामा एक प्रकारको भय व्याप्त छ । टर्कीको जनसङ्ख्या मुसलमान बहुल भए पनि युरोपको संगतले समाज अपेक्षाकृत उदार मानिन्छ । तर, एर्दोआनले बिस्तारै सत्ताका सबै अङ्गमा कब्जा गर्दै लगे । फलस्वरूप, युरोपेली संघमा प्रवेश गर्ने तयारीमा पुगेको टर्की बिस्तारै अधिनायकहरूको धुरीमा पुग्यो ।
एर्दोआनको हारे भने टर्कीको लोकतन्त्रले जित्नेछ । हारेनन् नै भने पनि त्यहाँका उदार लोकतन्त्रवादीहरूले जुनकीरीको नै सही उज्यालो त भेट्ने नै छन् । 

बहुमत नपाएपछि एर्दोआन उग्रराष्ट्रवादी साना दलहरूको झुन्ड बनाएर पनि सत्तामा टिक्ने प्रयत्न गर्दैछन् । तेस्रो स्थानमा आएका सिनान ओआनले एर्दोआन र किलिच दारओलुमध्ये कसलाई समर्थन गर्ने भन्ने सायद अझै टुंगिएको छैन । तर, जे भए पनि टर्कीको राजनीतिले सही दिशामा कोल्टे फेरेको देखिन्छ ।

चुनावले अधिनायकवादी शासन कायमै राख्ला कि लोकतन्त्र ल्याउला भनेर संसारले टर्कीलाई हेरिरहेको छ । यसको उत्तर टर्कीका जनताले २८ मे का दिन दिने नै दिनेछन् । 


लोकतन्त्रमा मात्र भ्रष्टाचार हुन्छ ?

विसं २०४८ पछिका सबैको सम्पत्ति छानबिन गर्ने भनेर के सम्प्रेषण गर्न खोजिएको ? त्यसअघि भ्रष्टाचार थिएन भन्न कि लोकतान्त्रिक पद्धति भ्रष्ट हुन्छ भन्न ? पञ्चायतकालमा पञ्चहरूमात्रै होइन राजाका भाइ, रानीसमेतको नाम काण्डहरूमा जोडिएको थिएन ? पञ्चायतका झड्केला र मानसपुत्रहरूले लोकतान्त्रिक पद्धतिलाई बदनाम गर्न तयार र सम्प्रेषण गरेको भाष्यमा कांग्रेस एमाले किन मौन ? 

भ्रष्टाचार पहिले पनि थियो र अहिले पनि छ । संसारभर छ । संसारका धेरै देशमा भ्रष्टाचार गर्नेविरुद्ध कारबाही हुन्छ । नेपालमा पनि भएको छ । ठूला भ्रष्टाचारका घटनामा प्रायः ठूलाबडाको पनि संलग्नता हुन्छ तर कारबाहीमा भने मामुली मान्छेहरू पर्छन् । नेपालमा पनि यस्तै हुनेगरेको छ । राणाहरूले हाकाहाकी लुट्थे । पञ्चायत कालमा राजाका आडमा भारदारहरूले भ्रष्टाचार गर्थे र कहिलेकाहीँ कारबाहीको सनक चड्दा गुमस्ताहरूको बलि दिइन्थ्यो ।

राणाकालमा कसरी भ्रष्टाचारको तानाबाना बुनिन्थ्यो भन्ने रोचक दृष्टान्त लीलाध्वज थापाको एउटा उपन्यासमा छ । महसुर गुन्डालाई बडाहाकिम बनाएर विशेषगरी तराईका गोश्वारामा पठाइन्थो । बदमासलाई बडाहाकिम बनाएपछि उसले त्यहाँ अत्याचार, भ्रष्टाचार, दमन र शोषण गर्ने नै भयो । सहनै नसकिने भएपछि  जनताले श्री ३ महाराजकी दुहाइ भन्न थाल्थे । अनि काठमाडौंबाट दौडाहा पठाइन्थ्यो । जनताले उजुर गरे भनेर बडाहाकिमलाई पाता कसेर काठमाडौं लगिन्थ्यो । उसको सर्वस्व हरण हुन्थ्यो र बाहुली दाखिला गरिन्थ्यो । सोझा जनता श्री ३ प्रभुबाट न्याय भयो । बदमास बडाहाकिमले सजाय पायो भनेर जय जय मनाउँथे रे । 

भ्रष्टाचार नियन्त्रणका लागि गरिने भनिएका छानबिन वा उच्चस्तरीय आयोग राणाकालीन दौडाहाजस्तै हो । भ्रष्टाचार कम हुनेगरी संरचनागत सुधार नगर्ने, राजनीतिक दलका प्रमुखहरू सबैको जीवनशैली जनसाधारणका आँखाले समेत ठम्याउन सक्नेगरी भ्रष्ट हुने, भ्रष्ट भन्ने जान्दाजान्दै दलका नेताले उमेदवार बनाउने र जनताले भोट दिएर जिताउने अनि भ्रष्टलाई कारबाही गर्ने भनेर चिच्याइरहने । स्यालले चील आयो भनेर हल्ला गरेपछि गाउँलेहरू आकाशमा हेर्न लागेकै बेला कुखुरा चोरेजस्तै हो सम्पत्ति छानबिनको हुइँया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कहिल्यै संस्थागतरूप लिन दिइएन । आयुक्त नियुक्त गर्न प्रायः राणाकालमा बडाहाकिम छानेजसरी नै भ्रष्टाचारका अनुभवी छान्ने गरियो । त्यसैले चटकेहरूले 'हिरो' हुने मौका पाए । नेपाली समाजको त चरित्र नै बनेको छ चटकेको पछि लाग्ने ।

सरकारी निर्णय पारदर्शी र निर्णयकर्ता उत्तरदायी हुने व्यवस्था मिलाइयोस् । तजबिजी अधिकार कसैसँग नहोस् र सबैभन्दा बढी समाजले भ्रष्टाचारलाई पौरख मान्न छाडोस् त । कसैले कारबाही नगरे पनि घट्छ भ्रष्टाचार । यसैले लोकतन्त्रलाई बदनाम गर्न भ्रष्टाचारको हौवा नमच्चाऊ । संसारमा सर्वसत्तावादी शासक बढी भ्रष्ट भएका हजारौं उदाहरण छन् । नेपालमै पनि २०४८ भन्दा पहिले भ्रष्टाचार कम थियो र ? चर्चा पो धेरै हुन पाउँदैन थियो । बस । नत्र स्विस बैंकका किस्सा सुनिने पक्कै थिएन ।  
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro