उसले सोच्यो, अरूले तात्तातो चिया पनि दस मिनेटमा खाइसिद्धयाउँछन् । तर यसले एक गिलास रक्सी खान ठ्याम्मै एक घण्टा लगाउँछ ।
‘उसले’ भनेको पसले साहूजी हुन् । गाहकीले जति छिटो, जति धेरै खाएर सिट छोड्यो उति नयाँ गाहकीले ठाउँ पाउँछन् र उनको बिक्री बढ्छ । तर यसले एक गिलास रक्सी खान एक घण्टा लगाउँछ, दुई गिलास खायो भने दुई घण्टा र तीन गिलास खायो भने तीन घण्टा लगाउँछ ।
तीन गिलासभन्दा बढीचाहिँ खाँदैन । यो पनि पसले साहूजीका लागि चिन्ताजनक कुरा भएको छ । गाहकीले जति धेरै खायो, जति धेरै मात्यो उसलाई उति नाफा हुन्छ । झगडिया गाहकी परेछ भने पनि केही फिक्री छैन, अर्को दिन उही गाहकी आउँदा खाना तेर्स्याउन पाइहाल्छन् । अझै थपथाप गरेर ।
थोरै खाएर धेरै बेरसम्म बस्ने गाहकीप्रति उनको ठ्याम्मै सहानुभूति छैन । किनभने यहाँ थोरै खाने नेता, मन्त्री, हाकिमभन्दा धेरै खानेहरू नै सम्मानित छन् । अतः उनी पनि धेरै खानेहरूप्रति नै श्रद्धावान् छन् । तर यसले...
‘यसले’ भनेको अर्थात् ‘यस’ भन्नेको परिचय दिन त बाँकी नै छ । ‘यस’ भन्नेको परिचय मैले दिनुभन्दा उसकै मुखबाट सुन्दा तपाईंहरूलाई बढी प्रस्ट हुनेछ । ऊ नितान्त पारदर्शी मान्छे हो, अतः आफ्नो बारे केही कुरा लुकाउँदैन ।
उसको थोरै खाने र आफ्नो तथा आफूसित सम्बन्धित विषयमा धेरै बोल्ने बानीले गर्दा एक दिन म धेरै खानेले त्यस दिन अलि धेरै खाएर उसको परिचय सोध्न पुगेछु । हाम्रो वार्तालाप उसको परिचयार्थ तपाईंहरूका लागि फलदायी हुनेछ ।
“क्षमा गर्नुहोला, यहाँको परिचय पाउन सक्छु ?”
ऊ मेरै टेबुलको अघिल्तिर बसेको थियो र आफ्नो आडैको अपरिचित व्यक्तिसँग धार्मिक कर्मकाण्डमा निहित अपारदर्शिता नै पाखण्ड हो भन्ने चर्चा गर्दै थियो । साधारणजस्तो लाग्ने त्यो अपरिचित व्यक्ति बुझे पनि नबुझे पनि ‘अँ अँ’ भन्न बाध्य थियो ।
मेरो विनय हस्तक्षेपले ऊ मतिर फर्कियो अर्थात् बल्ल हामी दुवै आमुन्नेसामुन्ने भयौँ ।
“के भन्नुभो तपाईंले ?” उसले गौडले मतिर हेर्दै भन्यो ।
सामान्यस्तरको भट्टीपसलमा जाँड खाने व्यक्तिसित परिचय सोध्नु उचित होइन भन्ने थाहा हुँदाहुँदै पनि परमजिज्ञासा र कुरौटे हुने मुडसम्म आफूले पनि धोकेको हुनाले पुनः सोधिहालेँ, “कृपया यहाँको परिचय पाऊँ न !”
“ए ! ठीक सोध्नुभयो तपाईंले ।” उसले हँसिलो मुख लगाउँदै भन्न थाल्यो, “उसो त मलाई धेरैले चिन्छन्, तपाईं नौलो पर्नुभो क्यारे । मेरो घर उः त्यै हो, ...हीँबाट देखिन्छ... रातो चाइनिज इँटले बनेको दुईतले घर, माथि डिस एन्टेना र सोलार प्यानल पनि देखिन्छ नि, हो त्यै हो मेरो घर । देख्नुभो त ?”
उसले ‘देख्नुभो त’ भनेपछि मैले देखेँ । तर ठम्याउन सकिनँ । रिङरोडवारि नै टाढाको थुम्कोमा दस–बीसओटा नयाँ बनेका घरहरू गुजमुज्ज थिए । राता घरहरू पनि चार–पाँचओटा थिए । कुनचाहिँ हो कुन्नि । तापनि भनेँ, “अँ, देखेँ ।”
“तपाईंलाई एक गिलास थपौँ ?”
“भैगो, धन्यवाद !”
“म पनि थप्छु ।” उसले मानेन र करायो, “साहूजी, यहाँ हामीलाई दुई गिलास !”
अब उसटो दोस्रो गिलास र मेरो पाँचौँ गिलास चल्नेछ । मैले उसको घर होइन नामकाम मात्रै बुझ्न चाहेको थिएँ । उसको घर रातो होस् कि सेतो, दुईतले होस् कि एकतलेसित मलाई कुनै चासो थिएन । तापनि म उसको उदारताबाट प्रभावित भएँ ।
“अनि यहाँको परिचय...”
“भन्दै छु । के भने, ठाउँ न ठेगानको मान्छेको परिचय परिचय पनि हुँदैन । कसो ?”
उसको दर्शनमिश्रित नीतिवाक्यसहित आइलागेको ‘कसो’ले मलाई झर्को लाग्यो । तर उसैद्वारा प्रदत्त एक गिलास घुट्क्याउँदै थिएँ, अतः हँसिलो अनुहार लगाएर भनेँ, “सारै बेस कुरा भन्नुभयो ।”
ऊ प्रसन्न भयो र भन्न थाल्यो, “यहाँ घर बनाएको त अहिले चार पुगेर पाँच वर्ष मात्रै भएको छ । घर त हाम्रो बीच सहरमै थियो । हाम्रो भन्नाले भाइहरूको । उनीहरू पनि यतै सरे । मचाहिँ मधेसतिर बस्थेँ । त्यहाँ हाम्रो चारओटा मौजा थिए । थिए किन भन्या भने २०२१ सालमा भूमिसुधार लागेपछि सबै गए । हा–हा–हा–हा...”
ऊ मजाले हाँस्यो । मानौँ सम्पत्ति सिद्धिएर ऊ अत्यन्त प्रफुल्ल छ । म भने उसको परिचय पाउन व्याकुल थिएँ । अतः मैले मुख आँ गर्न मात्रै के थालेको थिएँ उसैले उछिन्यो ।
“मौजा गए पनि जग्गाजमिन छँदै छ । राजधानीका यी मिसावटी र प्रदूषित खाद्यपदार्थहरू, त्यो पनि पैसो हालेर खानुपरेको छैन । दाल, चामल, आलु, प्याज, अझ लसुनसमेत मधेसबाटै आउँछ । अनि सिजनका...”
“किन नआउनु भू.पू. जिम्दारसाप भएपछि ।”
आडैको टेबुलबाट चर्को स्वर हाम्रो टेबुलतिर आयो । हामी दुवैले चर्को स्वर आएको टेबुलतिर हेर्यौँ । त्यहाँ एउटा अलिअलि मोटो, अलिअलि कालो, अलिअलि कठोर मुखमुद्रा भएको व्यक्ति हामीतिर, विशेषतः ऊतिर हेरेर व्यंग्यपूर्वक पहेँला कोदालीपाते दाँत देखाएर हाँस्दै रहेछ ।
ऊ सशंकित भयो । अनि टेबुलमाथि निहुरेर मतिर घिच्रो लम्काउँदै मैले मात्रै सुन्ने गरी साउती गर्यो ।
“माओवादी समर्थकजस्तो लाग्छ, कसो ?”
“कुन्नि ।” मैले वास्ता गरिनँ ।
“समर्थक कहाँ, माओवादी नै लाग्छ, कसो ?”
“होला ।” म फर्किएँ ।
“म के भन्दै थिएँ रे ?” उसले सशंकित दृष्टिले पुलुक्क त्यो मान्छेतिर हेर्यो र ठाडो भएर बस्दै भन्न थाल्यो, “अँ, म भन्दै थिएँ सिजनमा आँप, लिची र कटहरजस्ता फलफूल पनि आइपुग्छ– ताजा, स्वादिष्ट र प्रदूषणरहित । बुझ्नुभो, आँप, लिची र कटहरका सयओटाजति बोटको बगैँचा छ मेरो ।”
“तर मैले सोध्न खोजेको...”
“अनि एक बिघाको पोखरी पनि छ । त्यसमा माछापालन गरेको छु । एक बिघा भनेको यहाँको साढे तेह्र रोपनी हुन्छ ठ्याक्कै । माछा पनि उतैबाट आउँछ ।” मैले चुरोट सल्काएँ । तर उसलाई टक्र्याइनँ ।
“ल हेर्नुस्, म केही कुरा लुकाउँदिनँ... एहे ! तपाईं चुरोट खानुहुँदो रै’छ ।” अनि उसले शिखर सल्काएर मेरो बिजुलीतिर हेर्दै अगाडि भन्न थाल्यो, “त्यहाँ हाम्रो गाउँमा एउटा हाईस्कुल पनि छ मेरै बुबाज्यूले स्थापित गर्नुभएको, जनताका लागि पनि त केही गर्नुपर्यो नि ! त्यहीँ म फ्री पढाउँथेँ । आफूले स्थापित गरेको स्कुलमा तलब लिएर पढाउनु पनि त भएन । अनि मैले पढाउँदा कहिल्यै कुनै विद्यार्थीलाई पिटिन, कुटिनँ ।”
मलाई लाग्यो ऊ मलाई कुट्दै छ, पिट्दै छ । म चोटले चिच्च्याएझैँ भएँ ।
“मैले त तपाईंको परिचय...”
“हो त नि, तपाईंले परिचय सोध्नुभएको । हेर्नुस्, म केही कुरा लुकाउँदिनँ, के भने, सार्वजनिक जीवनमा मान्छे प्रस्ट हुनुपर्छ । मुसुमुन्द्रे हुनु हुँदैन, कसो ?”
म कसो भनूँ ? अलमलिएँ । तर ऊ अलमलिएन र केही नलुकाई भन्न थाल्यो, “मेरै एउटा सालो थियो... मतलब अहिले पनि छ । हिजो पनि मन्त्री थियो, आज पनि मन्त्री नै छ ।”
“एहे !” मेरो स्वर विस्मयादिबोधक भयो ।
“हिजो पञ्चायती मन्त्री थियो, आज बहुदलीय प्रजातान्त्रिक मन्त्री भएको छ । पञ्चबाट प्रजातान्त्रिक हुने सल्लाह मैले नै दिएको हुँ उसलाई । हिजो सबै कुरा भित्रभित्र गुपचुप हुन्थ्यो, आज सबै कुरा छ्यांग छ । लुकाउनुपर्ने केही छैन, लुकाउनु पनि हुँदैन ।”
“एहे ! तपाईं त मन्त्रीज्यूको भेना पो हुनुहुँदो रहेछ ।” मैले उसको परिचयको पुच्छरको टुप्पो भेट्टाएँ, “उसो भए तपाईं...”
“अनि मेरा एकजना साढु एस्.पी. पनि छन्, सारै फरासिला र दयालु, मैले सिफारिस गर्दा कैयौँलाई नोकरी लगाइदिएका छन् । एउटा मेरा भान्दाइ उद्योगपति हुनुहुन्छ... गार्मेन्ट फ्याक्ट्री छ उहाँको... उहाँले पनि मेरो वचन हार्न सक्नुहुन्न...”
मैले उसका कुरा अझै अगाडि सुन्न सकिनँ । किनभने मलाई अब यसले नोकरी लगाइदिन्छ कि भन्ने आस पलाउन थालेकाले मक्ख पर्दै थिएँ । निकै बेरपछि कल्पनाको यस मुग्धताबाट बिउँझेर मैले अब ता यस व्यक्तिको परिचय नलिई नछाड्ने अठोट गरेँ ।
“कृपया यहाँको परिचय पाऊँ न !”
“हेर्नुस्, म केही कुरा लुकाउँदिनँ । म प्रस्ट मान्छे हुँ । उसै पनि प्रजातन्त्रमा केही कुरा लुकाउनु हुँदैन । जनतालाई धोका हुन्छ । प्रजातन्त्रमा प्रजातन्त्र नै त लुकाउन सकिन्छ, अरू के नै पो लुकाउन सकिन्छ र ? प्रजातन्त्र जति लुक्छ त्यति प्रस्ट हुन्छ । तर व्यक्तिले लुक्नु हुँदैन । प्रजातन्त्रमा प्रस्ट भनेको झ्यालको सिसा हो, ऐना होइन । कसो ?”
उसले ‘कसो’ भनेपछि मैले बुझेँ उसका कुरा सकिए । उसले भर्खर भनेका कुरा आफूले ठ्याम्मै नबुझे पनि नोकरी कतै मिलाइदिन्छन् कि भन्ने आसले पुनः बिन्ती बिसाएँ । आदरपूर्वक बिसाएँ ।
“ठीक मर्जी भो । उसो भए हजुरको परिचय पाऊँ न !”
“हजुरको परिचय मलाई थाहा छ !”
आडैको टेबुलबाट अघिकै मान्छेको व्यंग्यात्मक कर्कश वज्रघोष सुनियो । ऊ जुरुक्क उठेर हाम्रो टेबुलसामु आएर ठिंग उभियो । अनि मेरो सामु बसेका मेरा भावी अन्नदातातिर उपेक्षापूर्वक हेर्दै पुनः बोल्यो, “मान्छेको संस्कार नै उसको वास्तविक परिचय हो ।” अनि उसले मतिर हेर्दै भन्यो, “यिनको परिचय यिनको अगाडि हैन पछाडि छ । ल हेर्नुस् !”
मैले आफूसामु बसेको व्यक्तिको पछाडि हेरेँ । त्यहाँ मेरोसामु बसेको मान्छेकै छाया रहेछ– निकै बाक्लो, कालो र अपारदर्शी । अनि टेबुलमाथि आफूसामु बलेको मैनबत्तीतिर हेरेँ, प्रकाश रहेछ– निकै सफा, स्वच्छ, स्पष्ट र पारदर्शी ।
(गरिमा, जेठ २०५७)
(ब्राजाकीको ‘पारदर्शी मान्छे’ बाट ।)