site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
लहरो त तानियो घर्केला त पहरो ?

मुलुकमा भ्रष्टाचार छ । यदाकदा भ्रष्टाचारीविरुद्ध कारबाही पनि हुन्छ । मन्त्रीहरूले समेत सजाय पाएका छन् । ‘नक्कली भुटानी शरणार्थी’ काण्डमा पनि धेरैले अनुमानै नगरेको तहमा कारबाही भयो । पूर्वगृहमन्त्री, पूर्व गृह सचिवलगायत धेरै जना पक्राउ परेका छन् । एक जना पूर्वमन्त्री बहालवाला सांसद फरार छन् । 


प्रहरीले भरपर्दो प्रमाण नभेटेर पक्राउ नगरेको बताए पनि जनताले अरू केही ‘ठूला माछा’लाई अभियुक्त ठानेका छन् । पूर्वप्रधानमन्त्रीहरू नै शङ्काको घेरामा छन् । नेपाल प्रहरीले कारबाही अगाडि बढाएपछि नागरिक समाजका ‘अगुवा’लगायत राजनीतिक नेताहरू जस लिने होडवाजी देखिएका छन् ।


प्रहरीको कारबाहीमा विश्वास गर्न भने जनमानस अझै तयार देखिँदैन । हुँदाहुँदा अमेरिकाको दबाबमा कारबाही भएको वा अमेरिकी गुप्तचर संस्थाले समानान्तर अनुसन्धान गरिरहेको हल्ला चलाउन थालिएको छ । षड्यन्त्रको सिद्धान्त, वैदेशिक हस्तक्षेपको हल्ला सजिलै पत्याउने गर्छ नेपाली जनमत । राज्यका संस्थाहरूप्रति विश्वास कति गुमेको छ भने सामान्य जनतासमेत नेपाल प्रहरीले नै यति ठूलो कारबाही गर्ने आँट गरेको हो भनेर मान्नै तयार भएनन् । 

Dabur Nepal
NIC Asia


किन हुन्छ त यस्तो ? 


किनभने राज्यका सबै संस्थाहरूको साख षड्यन्त्रपूर्वक गिराइएको छ र कुरै नबुझी जनसाधारणसमेत त्यसै गर्न रमाउँछौँ । प्रहरीभित्र पनि भ्रष्टाचार छ । तर, भ्रष्टाचारीलाई कारबाही पनि भएको छ । यसको अर्थ त व्यक्ति भ्रष्ट हुन्छ संस्था र संरचना होइन भन्ने न हो । 


हामी सबैको नियत र क्षमतामा सधैँ शङ्का गर्छौँ । सबैलाई आफूजस्तै ठान्छौँ । प्रहरीले ‘नक्कली शरणार्थी’ मामिलामा थालेको कारबाहीलाई टुंगोमा पुग्न दिऊँ भन्ने होइन यति नै बेला अरू सबै मामिलामा कारबाही किन नगरेको भनेर निहुँ खोज्न रमाउँछौँ । यो काण्ड सकिएपछि अर्को घोटाला छानबिन गर्न दबाब दिऊँ न । हुन्न ? सायद, प्रहरीले समानान्तर अनुसन्धान गरी पो रहेको छ कि? 


व्यक्तिको आचरणमा भने जति ध्यान दिनुपर्ने हो त्यति पनि समाजले दिँदैन । पुराना कुरा एकछिन थाती राखौँ र हेरौँ त तोपबहादुर रायमाझीलाई पक्रन खोज्दा नेकपा (एमाले) खड्गप्रसाद ओलीले भाँजो हाल्न खोजे । रायमाझी फरार भए । ओलीले न आफ्ना पुराना भनाइ गलत सिद्ध भएकोमा जनता समक्ष माफी नै मागे न रायमाझीलाई फरार हुन आफ्ना कथनहरूले सघाएको सकारे । उनका विश्वासप्राप्त वरिष्ठ मन्त्रीहरू संलग्न देखिएका काण्डमा ओलीको संलग्नता थिएन भनेर पत्याउन सकिन्छ र ?


देउवा र ओली चोखै होलान् त ?


उता जनसाधारणमात्र होइन एमालेकै नेताहरूसमेत ओलीको कमजोरी केलाउनभन्दा नेकपा (एमाले) भन्ने पार्टी नै बदनाम होस् भनेजस्तो गर्न लागेका देखिन्छन् । दोष सिंगो एमालेको हो र ?  एमालेका कार्यकर्ताको दोष के चाहिँ हो भने तिनले ओलीजस्तो व्यक्तिलाई दलको नेतृत्व सुम्पे । यसको सजाय सम्भवतः आउने केही वर्षसम्म नै एमालेका नेता कार्यकर्ताले पाउनेछन् ।


नेपाली कांग्रेसका हकमा पनि अवस्था धेरै फरक छैन । यसका सभापति शेरबहादुर देउवा धेरै बकबक नगर्ने भएर अगाडि नदेखिएका न हुन् । बालकृष्ण खाण मुछिएका काण्डमा देउवा चोखा होलान् भनेर त बिरलैले पत्याउलान् ।  


एमाले र कांग्रेसका कार्यकर्ता  ‘शीर्ष नेताका कृत दास’ भन्दा फरक भने देखिएनन् । अहिलेसम्म दुवै पार्टीका कुनै नेता वा कार्यकर्ताले विवादास्पद नेतृत्वलाई हटाउने प्रयास गर्नु त परको कुरा औँलासम्म पनि उठाएका छैनन् । कांग्रेसका महामन्त्री द्वयलगायत केही नेता कार्यकर्ताले प्रहरी कारबाहीको खुलेर समर्थन गरेका छन् । एमालेले फरार सचिव रायमाझीलाई निलम्वन गरेको छ । तर, निलम्वन त ओली र देउवालाई पनि गर्नुपर्ने हो । कम्तीमा उनीहरूले प्रहरी छानबिनलाई प्रभाव पार्न त नसकून् ! 


अहिले कारबाही कसिँदै गए देउवा र ओलीले सरकार ढाल्नेसम्मको षड्यन्त्र गर्न सक्छन् । यस्ता मामिलामा दुवै माहिर खेलाडी हुन् । त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल पनि कम त छैनन् तर उनी न संसद्मा बलिया छन् न जनसमर्थन नै छ । सत्ता र कारबाहीमा एउटा रोज्नुपर्दा उनको छनोट अहिलेसम्मको दृष्टान्त हेर्दा त सत्ता नै हुनसक्ने देखिन्छ । 


यस अवस्थामा ओली र देउवालाई कम्तीमा संसदीय दलको नेताबाट हटाउनुपर्ने हो । नैतिकता नभएरमात्रै हो यति धेरै शङ्का र परिबन्दमा परिसकेपछि त उनीहरू स्वयं नै पदबाट हट्नुपर्थ्यो । आफ्नो पार्टी हो छानबिनबाट चोखो ठहर भए फेरि पार्टीको मात्र किन सरकारकै नेतृत्व गरे पनि हुन्छ ।  


‘अस्थिरता’को गलत भाष्य

भ्रष्टाचार बढ्नुमा व्यवस्था वा अवस्था होइन सम्बन्धित व्यक्ति दोषी छन् । यस अवस्थाका लागि राजनीतिक अस्थिरतालाई दोष दिएर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्न खोजिएको देखिन थालेको छ । त्यस्तो शासन व्यवस्था भएको भए स्थिति झन् भयावह हुन्थ्यो ।


यस्तै, राजनीतिक अस्थिरताको भाष्य नै गलत गर्ने गरिएको छ । सरकारमा एउटै दलको बहुमत भए ‘स्थिरता’ र नभए ‘अस्थिरता’ भन्न खोजिएको छ । सँगै स्थिरता भए भ्रष्टाचार नहुने र नभए भ्रष्टाचार बढ्ने भ्रम पनि छर्न खोजिएको छ । भ्रमको खेती गर्नेहरू २०७४ को निर्वाचनपछि एउटै दल नेकपा (नेकपा)को बहुमत भएको र अहिले उजागर भएको ‘नक्कली शरणार्थी काण्ड’ त्यही बेलाको भएको तथ्य लुकाउन खोज्छन् ।


करिब तीन वर्ष चलेको नेकपा (नेकपा)को बहुमत सरकारकै पालामा यो शरणार्थीसँगै यती, ओम्नीलगायतका काण्ड भएको तर त्यति बेला भ्रष्टाचारीमाथि कुनै कारबाही नभएको जनताले बिर्सेका छैनन् । राजनीतिक स्थिरताको अर्थ सरकारको स्थायित्व हो भन्ने भ्रम छर्न छाडौँ । साथै, बहुमतको एकल सरकारले वा प्रत्यक्ष निर्वाचित कार्यकारी भए भ्रष्टाचार कम हुने पनि होइन ।


अहिले कारबाही हुन थालेको छ । मन्त्री, प्रधानमन्त्रीले जसको दाबी नगरून् । जनताले पत्याउँदैनन् । नेपाल प्रहरीलाई छवि सुधार्ने मौका मिलेको छ । दबाब, प्रभावमा नपरी कर्तव्य पालन गरोस् । भ्रष्टाचार उन्मूलन त कहिल्यै कतै पनि हुँदैन तर उन्मुक्ति नपाए बिस्तारै नियन्त्रित हुन्छ । यसमा शासन व्यवस्था वा राजनीतिक अवस्था होइन राज्य र जनताप्रतिको दायित्वबोध जरुरी हुन्छ ।      


लहरो तानिएको छ । नागरिक समाज, सञ्चारकर्मी, प्रहरी सबैको बल पहरो घर्काउनमा लगाऊँ !  


र अन्त्यमा

‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा तत्कालीन गृह सचिव र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई पनि शंकाको घेरामा परेका छन् । एउटा त उनी गृह सचिव रहेकै समयमा यो काण्ड भएको छ । अर्को, राई प्रमुख आयुक्त भएपछि अख्तियारले नक्कली शरणार्थी सम्बन्धमा परेको उजुरीलाई ‘भ्रष्टाचार नदेखिएको’ भन्दै तामेलीमा थन्क्याइदिएको रहेछ । 


अहिले राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार भएको त देखियो । अब कुनै न्यायाधीशको ‘चित्तमा लागे’ पनि दोषीहरूले उन्मुक्ति पाउन सम्भव देखिँदैन । राईमाथि शङ्का त हुने नै भयो । यस्तो अवस्थामा छानबिन प्रभावित नहोस् भनेर राई स्वयंले पद त्याग्ने नभए कम्तीमा बिदामा बसेर उदाहरण प्रस्तुत उचित हुनेछ । निर्दोष भए पक्कै उनलाई कसैले छुन सक्नेछैन ।’स्यमन्तक मणि, सत्रजित र श्रीकृष्णको कथा’ कम्तीमा सम्बन्धितहरूले एकपटक फेरि पढे हुनेथियो ।


अख्तियार प्रभावकारी हुन आयुक्तहरूमा नैतिक शक्ति पनि हुनुपर्छ । मनोबल गिरेका आयुक्तले शक्तिशाली व्यक्तिहरूलाई कारबाही गर्ने आँट गर्न कसरी सक्छन् र ? प्रहरीको अधिकार क्षेत्रबाहिरका भ्रष्टाचारमा कारबाही त अख्तियारले नै गर्नुपर्छ । त्यसैले पनि त्यहाँ उच्च नैतिक मनोबल र न्यायिक मन भएका व्यक्तिहरू आयुक्त हुनुपर्छ । के नागरिक समाजका अगुवाको ध्यान यसमा पनि जाला ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro