site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दरबारमार्गमा अढाई घण्टा
Tiktok banner adTiktok banner ad

दरबारमार्गमा निकै महँगा रेस्टुरेन्ट छन् भन्ने थाहा थियो । दुईचारपल्ट अन्नपूर्ण होटेलमा भोज (भतेर) खाने मौका पनि नपरेको होइन । तर, आफ्नै गोजीको पैसा तिरेर खाने हिम्मत जुटाउन सकेको थिइनँ ।

एक दिन साह्रै प्यारो मित्रले भन्यो, ‘आज दरबारमार्गमा गएर ड्रिंक गरौँ । आफ्नै बगलीको पैसा खर्च गरेर दरबारमार्गमा डिनर खाएको मान्छे हुँ भन्ने आत्मरति पनि आवश्यक छ जीवनमा ।’

मैले सहमति जनाएँ । म तोकिएको समयभन्दा बीस मिनेटअघि नै पुगेर उसलाई पर्खन थालेँ । रमाइलो लाग्यो । सुकिला, भरिला र रसिला नरनारीहरूले छाडेको मुस्कान, बास्ना र सुरिलो आइस्यो गइस्यो बोलीले माहोललाई ‘सभ्य’ बनाइरहेको थियो । आज म मेरै औकातले दरबारमार्गको रेस्टुरेन्टमा थिएँ । म त भावावेशमा टोलाउन पो थालेछु । सहसा अतीतको स्मृतिमा रुमल्लिन पुगेको हेक्कै रहेन ।

हिन्दी टेलिसिरियल ‘मुङ्गेरीलालके हसिन सपने’मा एकजना गाउँले युवक बेहतर जीवनको खोजीमा दिल्ली महानगरमा पुग्छ । कहाँ उत्तरी बिहारमा पर्ने ‘मुङ्गेर  जिल्ला’ कहाँ दिल्ली सहर ! कहाँ महानगरका सुकिलामुकिला बाठा मान्छे, कहाँ दब्बु र लजालु मुङ्गेरी ।

म पनि नोकरी गर्दागर्दै काठमाडौं महानगरको तिहुन चाख्न पुगेको सरकारी नोकर । नोकरीको अर्को आयाम चाकरी हो । त्यसमा पनि सिंहदरबार चाकरीको केन्द्रविन्दु ।

मलाई दरबार प्रवेशको पहिलो दिनमै दाँतमा ढुंगा लागेको थियो । एकजना नवपरिचित मित्रले एउटा कोठाभित्र छिरायो । मटमैलो दौरासुरुवाल पहिरेको मान्छे थोत्रो घुम्ने कुर्र्सीमा बसेर गोरखापत्र पढिरहेको थियो । देख्दै धूर्त ऊ हामीतिर फर्क्यो । भादगाउँले टोपी झिकेर टेबलमा राख्यो । भन्यो, ‘यो दरबार छ नि, यो धूर्तताको जगमा उभिएको छ । दब्बु मान्छेलाई त यसले सर्लक्कै निलिदिन्छ ।’ उसको प्रवचन सुनेर म साह्रै डराएको थिएँ ।

मेरो अवस्था पनि नियतिले धकेल्दै धकेल्दै दिल्ली पुर्याएको मुङ्गेरीकोजस्तै हुने त होइन ? उसलाई त ससुराले नोकरी खोजिदिएका थिए दिल्लीमा । मेरो नोकरी शुद्ध मेरो कमाइ थियो । एक प्रकारले भन्दा आफ्नै प्रतिभा र परिश्रमको फल ।  
मुङ्गेरीको जीवन दुःखले भरिएको थियो, तर कल्पनाको उडान उच्च । जब ऊ दिउँसै सपना देख्थ्यो, उसका आँखा एकाएक् चम्किला हुन्थे । मन त्यसै पुतलीझैँ आकासमा उड्न थाल्दथ्यो । यस्तो निराकार भावना, जहाँ हर सपना साकार हुन्थे । 
ऊ कल्पनामा यसरी उड्थ्यो, एक दिन त अफिस बिदा नहुँदै निस्क्यो बेहोसीमा । भर्याङमा हाकिमसित ठोक्कियो । ‘अफिस नछुट्दै भाग्ने ? अनुशासन खै ?’ मुङ्गेरी झल्याँस्स भएको थियो । यस्तै पर्यो मलाई पनि । 
अञ्चलाधीशको कार्यालयमा नोकरी । पञ्चायती व्यवस्थाको समय, त्यसमा पनि खतरनाक अफिस । एक दिनको कुरा हो । भित्ताको घडी हेरेँ । पाँच बज्न पाँच मिनेट बाँकी थियो । म लुसुक्क निस्केँ । 
डेरामा पुग्दा पाँच बजिसकेको थियो । भोलिपल्ट ठिक दस बजे अफिस पुगेँ । अञ्चलाधीशले बोलाए । गएर उभ्भिएँ । ‘ए खनाल ! तिमी त पाँच नबज्दै अफिसबाट हिँड्दा रहेछौ त ?’ 
म पानी–पानी भएँ । उनले बस भने । मलाई बस्न पनि मन लागेन । बरु मनमा छट्पटी र ग्लानी मात्र भइरह्यो । साहेब कर्मचारीप्रति दयालु थिए । ‘तिमी हिजो कार्यालय समयभन्दा पाँच मिनेट अगाडि हिँड्यौ । आज तिम्रो सहायक एक घण्टाअगाडि नै हिँड्यो भने तिमीले केही भन्न मिल्छ ? किमार्थ मिल्दैन । तिमी नैतिक रूपले प्रतिबन्धित भइसकेको हुनेछौ ।’ म नतमस्तक खडा भएर, ‘अब जाऊँ’ को आदेश कुरिरहेँ ।
मुङ्गेरीकी श्रीमती भन्थिन्, ‘कौन सा सुख दियौ मलाई ? भिनाजुले आठ पास पनि नगरेर के भयो ? मेरी दिदीलाइ आनन्दमा राखेकै छन् । तिमीले अठार पास गरेको बेकार गयो । हे मेरा पतिदेव ! जीवनमा केही गरेर देखाऊ । यी झूटा कल्पनामा उडान भरेर केही हुनेवाला छैन ।’ 
सासु ससुरा भेट्न आए दिल्ली । ‘यो के हत्ते गरेर बसेको ? उहाँ धनबादमा ठूलो  ज्वाईं बाबुको क्या गज्जब मकान, क्या मजाका सामान, क्या दामी लत्ताकपडा !’
मेरो हालत पनि त्यही थियो । मेरो ज्वाईं ‘अफसर’ छ भन्दै एकजना साथीसमेत लिएर नेपालगञ्जबाट दाङ आइपुगे ससुराजी । सायद उनी देखाउन चाहन्थे, थोरबहुत गफ लाउनु पनि थियो होला, ‘हेर मेरा कुटुम्ब कस्ता छन् ।’ जोरीपारीलाई स–सानो दनक दिनु थियो, सायद । 
येनकेन भात दाल तरकारी त राम्रै खुवाइयो । तर सुत्नासाथ आकास गडगडाउन थाल्यो । सोचेँ, पानी पर्यो भने बरबाद हुन्छ । आजै गृह मन्त्रालयको हेलिकोप्टरले डेरा घरको फुसको छानो उडाइदिएर गयो । सोच्दासोच्दै ससुराको नाक काट्न निर्दयी पानी बर्सन थालिहाल्यो । 
हामी भित्री कोठामा सुतेका थियौँ, उनीहरू बाहिर बैठकमा । मैले सोचिरहेको थिएँ, बरु साराका सारा पानी ममाथि झरोस्, तर बैठकमा नचुहियोस् । परन्तु पापी पानी उतै चुहिएछ । 
ससुराका साथीले मौका पाइहाले । ‘पण्डितजी ! के हो यो ? ज्वाईं सरकारी अफसर छ । अञ्चलाधीशको दाहिने हात हो भनेर बडो बात गर्थ्यौ त !’  

साथी आइपुग्यो । ऊ धेरै बोल्दैनथ्यो, परन्तु प्यारो थियो । उसको श्वासप्रश्वासको मन्द आवाज, मधुर सुस्केरा र टेबलमा औँलाले हानेर निकालेको मिठो संगीतमय टक टक, आहा ! उसको सान्निध्य नै सार्थक लाग्दथ्यो मलाई । 
हामी ड्रिंक गर्न थाल्यौ । लम्बे दुई घुड्को भित्र पठाएपछि मेरा कान तात्न थाले । मन मनोरम भयो । खाना उही, बस्ने कुर्सी पनि उस्तै र पेयको स्वाद पनि उही । तर हैसियत फरक थियो । मानिसहरू स्तरीय । खाना ल्याउने भाइ बहिनीहरूको सवारी होस्, मर्जी होस् जस्ता शब्द र बाबुसाहेबी अभिनय ! 

पाहुनाहरू सबै राजसी । ठाउँ दरबार मार्ग । यस्तैमा एउटा मान्छेलाई झ्याइँकुटी पार्दै बाहिर कारमा चढाउन लैजाँदै गरेको देखियो । ऊ नाम चलेको लेखक रे । कसैले खान ‘इन्भाइट’ गरेको रे ! अलि लागेछ । 

‘त्यो मु...ले आफूलाई के सम्झेको छ हँ ? गर्दन भाँचिदिन्छु’ भन्दै चिच्याइरहेको थियो लेखक । त्यहाँ उसको आलोचना होइन, आदर भइरहेको थियो । सानो आवाजमा गीत बजेको सुनिन्थ्यो । ‘धीरे धीरे प्यारको बढाना है, हद् से गुजर जाना है ।’ 
एकजनाले वेटर भाइलाई बोलाएर भन्यो  ‘यो गीत त लोसे भएन र ? अलि मजा दिने खालको बजाउनुपर्यो ।’ भाइले भन्यो, ‘नौ बजेपछि हजुर !’ 

नशामा मस्त छिछरो लेखक देखेपछि मेरो मनमा अर्नेस्ट हेमिङ्वेको ख्याल आयो । ‘अर्नेस्ट हेमिङ्वे एउटा ‘मिस्ट्री’ रे । अचम्मको मानिस रे । ‘टेरिबल’ मानिस रे । सानैमा आमाले दबाएर राखेको हुँदा हुर्केपछि आमालाई घृणा गर्यो । साथीभाइ सबैसँग रुखो व्यवहार गर्यो । 

स्वार्थी धोकेबाज र निष्ठाहीन लोग्ने र लापर्वाह पिता थियो ऊ । जँड्याहा, कृतघ्न र करुणाहीन भयानक मान्छे । तर एक भयानक लेखक पनि ! मनुष्य जीवनको भयानकताको प्रतिमूर्ति हो ऊ । दुःख, पीडा, इच्छाशक्ति र जीउँदो रहनका लागि संघर्ष एवं सहजै आफ्नो प्राण आफै हरण गर्ने हिम्मत भएको जीवन्त र सार्थक पात्र पनि हो हेमिङ्वे । 
सोच्दछु, ऊ लाखौँ करोडौंका लागि एक अविस्मरणीय लेखक हो । उसले लेखक मात्र रहन पाउनुपर्थ्यो । एउटा लेखकका अनेकौं मिस्ट्री खोतल्नु किन परेको ? के खायो । कहाँ आची गर्यो । कोसँग प्रेम गर्यो । कति रक्सी खायो । कतिपल्ट बिहे गर्यो । को कसलाई धोका दियो र किन आत्महत्या गर्यो, आदि कुरामा अझै पनि चासो किन हँ ?’ 
साथीले घचघच्याउँदा पो झल्याँस्स भएँ । मेरो मितभाषी मित्रले भन्यो, ‘लाग्यो कि क्या हो ?’ 
मैले भनेँ, ‘मेरो मनमा अचानक अर्नेस्ट हेमिङ्वे आयो यार ?’ 
मित्रले भन्यो, ‘हेमिङ्वेलाई नखोजे तेरो जीवनचरित्र खोज्छ त संसारले ?’ कुरोमा चुरो थियो ।
म सुस्तसुस्त बोल्न थालेँ । साथीले सुन्न थाल्यो । ‘हो, मलाई कसैले खोज्ने छैन । तर म पनि त मान्छे हुँ नि साथी ! अज्ञातले अस्तित्वमा ल्याएको चेतन प्राणी हुँ म । अरूले नगरे पनि मेरो चर्चा म आफै त गर्न सक्छु नि । म पनि हेमिङ्वे झैँ  सनक चढेको मान्छे हुँ । तर म सन्केको को देख्छ ? कसलाई मतलव छ ? म नाङ्गै बाटोमा निस्के पनि दुईजना केटाहरूले ढुंगा हान्नेबाहेक केही हुने छैन । अखबारले लेख्ने छैन । एफएमले फुक्ने छैन । मेरो मिस्ट्री सुन्छौ ? मैले देखेका हजारौं सपनाको फेहरिस्त सुन्छौ ? 
सुन, म बाहुन हुँ । मलाई पहिलो पटक कुखुराको फुल खाएको मिति, बार र समय याद छ । रक्सी खाएको साल र महिना याद छ । जात त मेरो दुईमा पढ्दा नै गएको थियो । कोदाको रोटीको टुक्रामा ! गहतको झोलभन्दा पनि सस्तो । 
मलाई नौ कक्षामा पढ्दा नै बिहे गर्न मन लागेको हो । राजा त्रिभुवनले तेह्रको उमेरमा विवाह गरेर चौध पूरा नहुँदै छोरो पाउन हुन्छ भने मैले पन्ध्रमा बिहे गर्न किन नहुने ? तर मेरो रहर पूरा भएन । 

म पहिलो पटक कलेज जाँदा सुकिला ठिटी देखेर रोमाञ्चित भएको छु । ‘कास यो मेरी उनी भएको भए ।’ मैले पहिलो पल्ट ‘मनको बाँध’ फिल्म हेर्दा ‘हिरो हुन पाए त’ भनेर कल्पना गरेको छु । राजनीति शास्त्र पढाउने गुरु चन्द्रमोहन गौचनको धाराप्रवाह वक्तव्य सुन्दा ‘यिनीजस्तो हुन पाए त...’ भनेर भावनामा बहेको छु । 

सपनामा मेरो सबैभन्दा राम्री केटीसँग बिहे भयो । तर क्लाइमेक्सको शुभ बेलामा निद्रा खुल्यो । थक्क थक्क गर्दै सपना देखाउने, किन्तु पूरा नदेखाउने देवतालाई मनमनै गाली गरेको छु । मैले साह्रै राम्रा अक्षर लेख्ने दाइ लक्ष्मण र भाइ सुशीलको डाह गरेको छु । रमाइलो ठट्टा गर्ने गोपाल दाइ र हिम्मतिलो दाजु दुर्गाप्रति मेरो ठूलो ईष्र्या थियो । 

भलाद्मी, दयालु र निडर विद्यार्थी नेता एवं कलेज जीवनका मेरा अभिभावक कृष्णप्रसाद नेपाल दाजुको व्यक्तित्व देखेर चकित भएको छु । मेरा आदरणीय गुरुवर डा. रामप्रसाद शर्माको सुरिलो र प्रभावोत्पादक स्वरलहरीले विस्मयमा परेको छु । निरन्तर प्रोत्साहन र मेरो औकातभन्दा ज्यादा सम्मान दिएर मलाई धन्य बनाउने मित्र राजेन्द्रगोपाल सिंहको उदारता देखेर प्रसन्न भएको छु ।
प्रतिस्पर्धी अथक पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीको शालीनता देखेर ‘म किन यस्तो हुन सकिन ?’ भनेर आफैमा प्रश्न तेस्र्याएको छु । प्रतिस्पर्धी विद्याथीहरू अब्दुल कलाम र ओमप्रकाश आचार्यको प्रतिभा देखेर डराएको छु । मित्र केशवबहादुर थापाको सामान्य ज्ञान देखेर थक्क थक्क भएको छु । नारायणगोपाल, किशोरकुमार, मुकेश र मोहम्मद रफी हुन नपाएकोमा पछुताएको छु । हेमा मालिनीको धर्मेन्द्रसँग आरिस गरेको छु । अभिमान फिल्म हेर्दा एकछिन आफूलाई नै अमिताभ सम्झेर रल्ल परेको छु ।’ 

ऊ सुनिरहेको थियो । मुसुमुसु मुस्कुराइरहेको थियो । हात समातेर भनेँ, ‘म बढी त बोलिन ? मेरोजस्तो सोच सार्वभौम हो कि एक्लो हुँ ? कि म मात्र पगलाएको हु ? तँलाई पनि मलाई जस्तै भयो कि भएन ? हुन्छ कि हुदैन ?’ 
उसले लामो पेग तान्यो । भन्यो, ‘मलाई पनि हुन्छ, तर तैंले जस्तो गरी भन्न जान्दिन ।’ 

म खुसी भएँ । भनेँ, ‘हेर्  साथी ! यो भन्ने र लेख्ने कुरा धाराको टुटी खोलेझैँ हो रे । हामी भन्छौँ नि विश्वको सबैभन्दा धारा प्रवाह वक्तव्य दिने नेता केनेडी हुन् । अहिलेसम्मका सबैभन्दा तगडा ‘मोटिभेस्नल स्पिकर’ वासुदेव कृष्ण हुन् । उनीहरूले टुटी खोलेपछि सतत प्रवाहवान हुन्थ्यो धारो । रोकिनु नै नपर्ने झरना जस्तो । हर प्रश्नको जवाफ दिने र चित्त बुझाउन सक्ने । जो चित्त बुझाउन्न ऊ नाजवाफ हुने । म पनि लेख्छु । म पनि बोल्छु । तर मेरो धाराको टुटीमा खिया लागेको छ । सायद मेरो तरबार धारिलो थियो । परन्तु म मेरो चमकदार तरबारलाई अँध्यारो कुनामा थन्क्याएर संसारी कुरामा भुलेँ । मेरो तरबार बलिन्द्र रोइरह्यो, तर मैले चालै पाइन । जब झिक्न खोजेँ, म्यानबाट बाहिर आउनै मानेन । जबर्जस्ती झिक्दा टुप्पै भाँचियो । टुप्पो भाँचिएको र धार मरेको तरबार बोकेर हिँड्ने वीर हुँ म ।’ 

‘डाक्टर जेनरको आविष्कार थाहा पाएको दिन मैले मभित्र जेनर खोजेको छु । थोमस अल्बा एडिसनको अथक प्रयत्न गर्ने धैर्य देखेर छटपटाएको छु । ग्यालिलियोको ज्ञान देखेर प्रफुल्ल भएको म उसमाथिको निर्मम अन्यायमा आँखा भिजाएको छु । मैले आरिस, ईष्र्या र द्वेषको संगम दुर्योधनको ‘कि शासन गर्छु कि  सकिन्छु’ भावनाको भित्रभित्रै कदर गरेको छु । कि अभिमान नगर्नू, गर्नै परे दुर्योधनले झैँ गर्नू भन्ने उक्ति मनपर्छ मलाई । 

अस्मितामा लागेको असह्य घाउ सन्चो गराउने कुनै उपाय नदेखेपछि देशै छाडी परदेश भासिएर छलबलको सहारा लिने शकुनिको उच्च मूल्यांकन गर्न सङ्कोच लाग्दैन मलाई । मलाई दुःखको बखतमा दाइ रावणको साथ छाडिदिने विभीषणलाई भ्रातृद्रोही भन्न मन लाग्छ । सदा आज्ञाकारी भाइ दुशासनको अपार दुरुपयोग र शोषण देखेर मेरो हृदय फाटेको छ । कहिले मामालाई मार्ने, कहिले रणभूमि छाडेर भाग्ने, कहिले नयाँ बस्ती बसाउने, कहिले आफ्नै बहिनी अपहरण गर्न एउटा युवकलाई उक्साउने, कहिले युद्धको महिमा गाउँदै लडाइँ गर्न प्रेरित गर्ने र कहिले आफ्नै वंशका सन्तान आपसमा घनघोर युद्ध गर्दासमेत तमासा हेरेर बस्ने वासुदेव कृष्णको लीला देखेर डाढ गरेको छु । 

मैले कालीदासको कुमारसम्भव पढ्दापढ्दै भावातिरेकमा आफैलाई पार्वतीको पाणीग्रहण गर्न जान लागेको महादेव सम्झेको छु । म राजकुमार देवव्रतको अनर्गल भीष्म प्रतिज्ञा सुनेर विस्मित भएको छु । मनभित्र पश्चात्तापको डढेलो छ । चढ्दो यौवनमा यौन आकांक्षाको ज्वाला दन्किरहेको छ । किन्तु प्रतिज्ञाको पर्खाल नाघ्ने नैतिक बल नै समाप्त छ । भीष्मको आफ्नै वचनको भारीले थिचिएको जीवन देखेर म निकै चुकचुकाएको छु । कुन्तीले कर्णलाई जन्म दिएर नदीमा बगाएको मिस्ट्री कि मिस्ट्री नै रहनुपर्थ्यो, कि त समयमै पर्दाफास हुनुपर्थ्यो । 
मैले कैयौँ चोटी आफैलाई दानवीर कर्णको ठाउँमा उभ्याएर जीवनको निर्मम दारुणतालाई महसुस गरेको छु । त्यति मात्र होइन, मैले निकै उटुङ्गी तवरले उखान टुक्का भनेर दुनियाँलाई हँसाउने केपी शर्मा ओलीको कलामासमेत गहिरो ईष्र्या गरेको छु ।’  
ऊ मलाई अविचल सुनिरहेको थियो । उसले अर्काे झन ठूलो पेग तान्यो । म उसलाई हेरिरहेको थिएँ । कति उदार हुन्छन् कोही कोही मान्छे, जो मजस्तालाई घण्टौ झेल्ने सामथ्र्य राख्छन् । शालीनता र सादगीको उच्चतम रूप एवं सुन्न सक्ने अपार धैर्य । म कृष्ण झैँ बोलेको बोल्यै छु । आफ्ना उपाधि र विविध विरुदावली सुनाएको सुनायै छु । ऊ भने प्रश्नहीन अर्जुन बनेर मेरो ज्यादतीलाई सहिरहेछ । 

त्यस्तो प्यारो मित्रको नाम यहाँ लेख्न नसक्दा थकथकी लागिरहेको छ मलाई । हुन त नामुद लेखकका किताब पढ्ने पाठकहरू पनि सहनशील अर्जुन त हुन् । किताबले खान दिँदैन । किताबले लाउन पनि दिँदैन । तथापि, लेखक सनकी प्राणी मात्र होइन, बाठो प्रजाति पनि हो । हेमिङ्वेले भनिदियो, ‘मान्छेको सबैभन्दा असल साथी किताब हो ।’ मैले पत्याएँ । मान्छेहरूले पत्याए । ती लेखकहरूलाई हजारौंले झेले । मलाई भने एउटा शान्त र सौम्य मान्छेले झेलिरहेछ । 

मेरो बोल्ने खाताको बचत सकिएको थिएन । मेरो जीवनका धेरै मिस्ट्रीहरू छरपस्ट पार्न बाँकी नै थिए । तर घडीले नौ बजाएको हुँदा रेस्टुरेन्टको माहोल बदलिँदो थियो । मैले मित्रलाई भनेँ, ‘बोल् न यार ! तेरो रहस्य पनि सुना । कुनै गरुङ्गो भारी छ भने ममा बिसाइदे । मन हलुका बना ।’ 

साथीले भन्यो, ‘मलाई मेरो भारी प्यारो छ । म मेरो भारी बोकिरहन चाहन्छु ।’ 
उसका आँखा भिजे । रुमाल झिकेर आँसु पुछिदिएँ । ‘मेरो भारी बिसाउन मिल्दैन साथी । मेरो भारी विकराल छ । तँमा बिसाएँ भने तँ पनि त्यही भारीको पिरले लादिने छस् । मेरो हृदयको कणकण विदारित छ साथी ! कणकण विदारित ! मेरो मुटु च्यातिएर छियाछिया भएको छ । परन्तु मलाई यो च्यातिएको मुटु सिलाउनु छैन । मेरो मुटुलाई सदासर्वदा भारीले च्यापिरहोस्, सहन तयार छु ।’
म गम्भीर भएँ । मैले यतिका बेरसम्म सुनाएको गाथा र बेथा त उसको बेथाको तुलनामा चार आना पनि रहेनछ । मेरो आँखामा प्रश्नका लकिर देखेर उसले भन्यो, ‘मैले कसैलाई यो भारी नबिसाउने वचन दिएको छु । ऊ पल्लो कुनाको टेबलमा हे र् त । त्यहाँ बसेका दुईमध्ये एउटा मलाई भारी बोकाएर छाडिदिने निर्मोही हो । ऊ उता फर्केकी छे । उसले मलाई देखिरहेकी छैन । मैले उसलाई देखिरहेको छु । त्यही अप्राप्त सम्पदाको आनन्द उठाउनु नै मेरो जीवनको नियति हो ।’ 

म केही बोल्न सकिनँ । ऊ पनि थप केही बोलेन । हामी निस्केर आआफ्नो बाटो लाग्यौँ । अचेल ऊ सम्पर्कमा छैन । कहिले भेट हुने हो थाहा छैन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro