पोखरा । सम्भावित अनेकौँ आकांक्षीको नामबीच खासै चर्चा नगरिएका जीतप्रकाश आले गण्डकीको अर्थमन्त्री बनेका छन् । सांसद भएकाले सम्भावना हुनुबाेहक गुटगत उनको चर्चा थिएन ।
तर, प्रदेश प्रमुखको निवासमा शुक्रबार अपराह्न ४ बजे नयाँ मन्त्रीहरूले शपथ लिँदा उक्त लहरमा जीतप्रकाश पनि थिए । कार्यविभाजन हुँदा चाहिँ उनी अर्थमन्त्री बने ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट अब उनै आले नेतृत्वको आर्थिक मामिला मन्त्रालयले तयार गर्नेछ । चालु आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याएपछि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारको बदनामी बन्यो । मुख्यमन्त्री र अर्थमन्त्री फरक दल भएकाले बजेटमाथि सुरुवाती छलफल नै हुन सकेन ।
विवाद साम्य नहुने देखिएपछि प्रदेशको बजेटको विषयलाई अन्तिममा खुमलटार र बालुवाटारले हस्तक्षेप गरी सल्टाउनु परेको थियो । अर्थमन्त्री र मुख्यमन्त्री फरक दलको हुँदा र स्वार्थ नमिल्दा सरकारको बदनामी देखेरै यसपटक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थमन्त्रीको रूपमा कांग्रेसबाटै आलेलाई नियुक्त गरेका छन् ।
उसो त जीतप्रकाश आले सहजै मन्त्री भने बनेका होइनन् । मुख्यमन्त्री पाण्डेले पनि अनेकौँ आकांक्षीको दबाब तथा केन्द्रीय गठबन्धनका कारण मन्त्रिपरिषद् दुई सातासम्म विस्तार गर्न सकेनन् ।
पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)लाई गण्डकी सरकारमा सामेल गराउने वा नगराउने भन्ने विषयले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । गण्डकीमा एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे) मात्रै सांसद छन् । मनाङे पनि आफू निर्विरोध भइसकेपछि मन्त्री बन्न गठबन्धनमा सहभागी दल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
एकीकृत समाजवादीमा गएपछि मन्त्री बन्नकै लागि उनले केन्द्रीय नेताहरूबाट दबाब पनि नदिएका होइनन् । तर, कर्णाली सरकारमा पनि नपरेको एकीकृत समाजवादी गण्डकीमा पनि सामेल हुन सकेन ।
गठबन्धनकै कारण एकीकृत समाजवादीबाट मन्त्री बनाउनुपरे बरु गैर सांसदलाई ६ महिना मन्त्री बनाउनुपर्ने तर मनाङेलाई कुनै पनि हालतमा मन्त्री बनाउन नहुने मत गठबन्धनमा आबद्ध दलहरूभित्रै थियो । कांग्रेसकै सांसदहरूले मनाङेलाई मन्त्री बनाउनुको सट्टा गैरसांसदलाई नै मन्त्री बनाउने सुझाव मुख्यमन्त्रीलाई दिएका थिए ।
मनाङेलाई फेरि मन्त्री बनाउँदा सरकारको आलोचना हुने र मनाङे नभएमा आफू मन्त्री बन्न सकिन्छ कि भन्ने आशमा कांग्रेसका सांसदहरू थिए ।
भयो पनि त्यस्तै, मनाङे मन्त्रीको सूचीमा थिएनन् । कांग्रेसबाट यस अगाडि नै सरस्वती अर्याल तिवारी मन्त्री बनिसकेकी थिइन् । भूगोलका हिसाबले नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दीपेन्द्रबहादुर थापा मन्त्री बन्ने निश्चितजस्तै थियो ।
मनाङे मन्त्रिपरिषद्मा सामेल नहुने निश्चित भएपछि कांग्रेसबाट अर्को मन्त्री को बन्ला भन्ने कौतुहलता कायमै थियो । मुख्यमन्त्री पाण्डेले पनि प्रदेश प्रमुखकोमा नाम उल्लेख नगरि शपथका लागि समय मागिएको पत्र पठाएका थिए ।
त्यसको अर्थ थपिने मन्त्रीको नाम मुख्यमन्त्रीको खल्तीमा थियो । त्यही नाम शपथमा र कार्यविभाजनमा आर्थिक मामिला मन्त्री भनेर उच्चारण हुँदा उनै आलेको नाम थियो ।
आले अर्थमन्त्री हुँदा स्वयम् कांग्रेसकै सांसदहरू समेत आश्चर्यमा परेका थिए ।
“जीतप्रकाश आलेको १ बजेपछि भाग्य खुल्यो । एकीकृत समाजवादीले नपाएपछि वरिष्ठताका आधारमा उनी मन्त्री बने । अर्थशास्त्रमा एमए गरेका कारण अर्थमन्त्री बने,” गण्डकी कांग्रेसका एक पदाधिकारीले भने ।
तर, अर्थमन्त्री नै बनेमा पनि लमजुङका टकराज गुरुङको नाम सबैभन्दा अगाडि थियो । मन्त्रीका लागि लबिङ गर्न काठमाडौं पुगेर शीर्ष नेतालाई भेटेको टोलीले नै गुरुङ अर्थमन्त्री बन्नेमा ढुक्क बनेका थिए । अर्कातर्फ, गुरुङ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निकट थिए । समूह मिलाउँदा पनि गुरुङ मन्त्री बन्ने चर्चा निकै चल्यो ।
“विभिन्न कारणहरू हुन्छन् । सिनियर जुनियरको कुरा हुन्छ, कांग्रेसका सांसदहरू मध्येमा सिनियर नेतामै पर्छन्, अर्को कुरा उनी तनहुँका जिल्ला सभापति पनि हुन । तनहुँकै नेताहरूको लबिइङले पनि काम गरे होला,” ती पदाधिकारीले भने ।
को हुन् जीतप्रकाश आले ?
आलेको राजनीतिक पृष्ठभूमि भने निकै लामो छ । उनका पिता पदमबहादुर आले २०१५ मा नेपाली कांग्रेसबाट क्षेत्र नं. १०२ को सांसद बनेका थिए । २०१५ सालको आम निर्वाचन हुनुभन्दा अगाडि बीपी कोइराला यस क्षेत्रमा संसद्को टिकट वितरण गर्ने सिलसिलामा कास्कीको कन्धनीडाँडा आइपगेका थिए ।
दुई रात बसेर कास्की, लमजुङ, तनहुँका सांसद उमेदवार छनोट भए । क्षेत्र नं. १०२ मा भने प्रजातन्त्र सेनानी रसमोहन भट्टराइले पनि दाबी गरे । तर, बीपी कोइरालाले जनजातीलाई पनि स्थान दिनुपर्छ भन्दै भट्टराईको सट्टा पदमबहादुरलाई टिकट दिए ।
२०१५ को उक्त निर्वाचनमा सुवर्ण शमशेर पछि सबैभन्दा बढी मत ल्याएर पदमबहादुर आले विजयी भएका थिए ।
उनै आलेका छोरा जीतप्रकाश अहिले गण्डकीको अर्थमन्त्री बनेका छन् । अर्थमन्त्री बन्नुमा उनलाई कुनै गुटमा खुलेर नलाग्नुले पनि फाइदा पुर्यायो । कांग्रेस विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसमा लागेका आले पार्टी एक भएपछि भने रामचन्द्र पौडेल निकट मानिन्थे तर अहिले भने उनी तनहुँकै कांग्रेस नेता तथा सांसद शंकर भण्डारीको निकट छन् ।
“अन्तिम अवस्थामा भने उनी पौडेलको पक्षमा खुल्थे अहिले शंकर भण्डारीको निकट छन्,” उनी निकट एक कांग्रेस नेताले भने ।
लामो समय राजनीतिमा आबद्ध भए पनि आलेले पहिलोपटक संसदीय निर्वाचनको टिकट पाएका हुन् । निकटस्थका अनुसार गत मंसिरको चुनाव लड्न पनि आले इच्छुक थिएनन् ।
“प्रदेश चुनाव लड्दै लड्दिनँ भनेका थिए । पार्टी सभापति शेरबहादुर देउवाले जबजर्स्ती टिकट दिएपछि चुनाव लडेका हुन्,” उनले भने । चुनाव जितिसकेपछि वरिष्ठताको आधारमा शंकर भण्डारीलगायतका नेताहरूको साथ तथा संसदीय दलमा स्वयं मुख्यमन्त्री पाण्डेलाई समर्थन गरेका कारण आले मन्त्री नियुक्त हुँदै गण्डकीको अर्थ मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका छन् ।