
काठमाडौं । कानुन व्यवसायसँगै नेपाली राजनीतिमा पनि सक्रिय रहेका वरिष्ठ अधिवक्ता प्रेमकृष्ण पाठकको स्मृतिमा प्रकाशित ग्रन्थ ‘अनेक आयाममा क्रान्तियोद्धा प्रेमकृष्ण पाठक’ एक समारोहबीच सार्वजनिक गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति रामसहायप्रसाद यादवले कृति लोकार्पण गर्दै क्रान्तियोद्धा प्रेमकृष्ण पाठकले गणतान्त्रिक नेपालको स्थापनामा दिएको योगदान अतुलनीय भएको उल्लेख गरे । यादवले भने, “लाभको पदमा नरहे पनि देश सेवामा उहाँले पुर्याउनु भएको योगदान चिरस्मरणीय छ ।”
कार्यक्रममा शिक्षामन्त्री अशोककुमार राईले प्रेमकृष्ण पाठक विचारले क्रान्तिकारी, सोचले विद्रोही भए पनि व्यवहारले सरल भएको बताए । सार्वजनिक कृति उनका बारेमा थाहा पाउन सहयोगी हुने उनले बताए ।
सोअवसरमा कानुनी क्षेत्रका व्यक्तित्वहरू कृष्णप्रसाद भण्डारी, दमननाथ ढुङ्गानाले पाठकसँग सहकार्य गर्दाको सन्दर्भ स्मरण गरे ।
कार्यक्रममा पाठक पत्नी साहित्यकार हिरण्यकुमारी पाठक, सांसद सुशिला श्रेष्ठ, गंगाप्रसाद उप्रेती, डा. दामोदर पुडासैनी किशोर तथा कृतिका सम्पादक तथा पाठककी छोरी नम्रता शर्माले बोलेका थिए । कृति स्वप्न वाटिका प्रकाशनले प्रकाशित गरेको हो ।