site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वायुमण्डलमा जलेर तहसनहस भई समुद्रमा यसरी हुनेछ आईएसएसको अन्त्य
Tiktok banner adTiktok banner ad

काठमाडौं । नासाले सन् २०३१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)को अन्त्य गर्ने भएको छ ।

सन् १९९८ मा विभिन्न देशहरू मिलेर अन्तरिक्षको अन्वेषणका लागि आईएसएसलाई अन्तरिक्षमा राखिएको थियो ।

आईएसएस पृथ्वीबाट करिब ४२० किलोमिटरको दुरीमा छ ।

करिब ३२ वर्षपछि सन् २०३१ मा वायुमण्डलमा जलेर टुक्राटुक्रा भएर प्रशान्त महासागरमा आईएसएसको अन्त्य हुनेछ । यो अवधिमा आईएसएसमा नयाँ पानी शुद्धीकरण प्रविधि, पदार्थको पाँचौँ अवस्था, माइक्रोग्र्याभिटीमा खाना फलाउनेलगायतका दर्जनबढी नयाँ खोज एवम् अन्वेषण भएका छन् ।

करिब १०९ मिटर लामो र ७३ मिटर चौडा आईएसएसको तौल ४०० टन (करिब ४ लाख किलोग्राम) छ ।

सन् २००० मा पहिलो अन्तरिक्ष यात्री पुगेको आईएसएसमा अहिलेसम्म २० देशका २५० भन्दा बढी अन्तरिक्ष यात्री पुगिसकेका छन् ।

रुस, अमेरिका, क्यानडा, जापान, जर्मनीलगायतका देशहरूबीच आईएसएसका लागि सहकार्य रहेको थियो । मानवजातीले बनाएको पहिलो अन्तरिक्ष केन्द्र भने सोभियत संघले बनाएको स्याल्युट–१ थियो । 

सन् १९९८ मा स्थापना गरिएको यो अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका हार्डवयर निकै पूराना भएका छन् र यसलाई सञ्चालनमा राख्नु जोखिमपूर्ण बन्दै गएको छ ।

त्यसैले सन् २०३१ मा आईएसएसलाई पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गराइनेछ र प्रशान्त महासागरमा खसालिनेछ ।

यसरी हुनेछ अन्त्य
अन्तरिक्षमा रहेको आईएसएसलाई वायुमण्डलमा प्रवेश गराउन धकेल्नका लागि चाहिने ‘स्पेस टग’को निमार्णका लागि करिब एक अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

पृथ्वीको वायुमण्डलमा पुर्‍याएर नष्ट गरिन लागेको यो पहिलो वस्तु भने हैन । सन् २००१ मा रुसको मिर अन्तरिक्ष केन्द्र र सन् १९७९ मा नासाको स्काई ल्याब अन्तरिक्ष केन्द्र पनि यसरी नष्ट गरिएको थियो ।

तर, मिर १४० टनको मात्रै थियो भने आईएसएस ४०० टन तौलको ठूलो स्पेस स्टेसन हो । यसमा १६ वटा मोड्युल (सुत्ने ठाउँ, किचन, प्रयोगशाला, ट्वाइलेटसहितको डब्बा) र ठूलो सौर्य प्लेटहरू छन् ।

पृथ्वी वरिपरि २७ हजार ५७० किलोमिटर प्रतिघण्टाको गतिले घुमिरहेको आईएसएसमा रहेका अन्तरिक्ष यात्रीले २४ घण्टामा १६ सूर्योदय र सूर्यास्त देख्छन् ।

आईएसएसको अन्त्य सन् २०२६ देखि सुरु हुनेछ । सन् २०३० को मध्यसम्म प्राकृतिक रूपमा ४०० किलोमिटरबाट तल झर्दै आईएसएस ३२० किलोमिटरको दुरीमा पुग्नेछ ।

यतिबेला पृथ्वीबाट आईएसएसका लागि अन्तिम अन्तरिक्ष यात्री त्यहाँ पठाइनेछ  । उनले त्यहाँ रहेका महत्त्वपूर्ण सामग्री र ऐतिहासिक महत्त्वका कुराहरू फिर्ता ल्याउनेछन् र सम्भव भएअनुसार आईएसएसको तौल पनि कम गर्नेछन् ।

ती अन्तरिक्ष यात्री बाहिरिएपछि आईएसएसलाई २८० किलोमिटरको दुरीमा झारिनेछ । त्यसभन्दा तल वायुमण्डलमा आईएसएसलाई धकेल्नका लागि स्पेस टगको विकल्प खोजिएको छ । 

रुससँग यस किसिमको स्पेसक्राफ्ट भए पनि अमेरिकासँगको बिग्रिँदो सम्बन्धका कारण सहकार्य हुनेमा आशंका छ ।

जुनसुकै स्पेसक्राफ्ट प्रयोग गरिए पनि अन्तिम पटक वायुमण्डलमा धकेलिँदा आईएसएस १२० किलोमिटरको दुरीमा पुग्नेछ ।
त्यतिबेला २९ हजार किलोमिटर प्रतिघण्टाको गतिमा आईएसएस पृथ्वीको बाक्लो वायुमण्डलमा प्रवेश गर्नेछ ।

तीव्र गतिमा वायुमण्डलीय घर्षणका कारण आईएसएसमा रहेका ठूलो सौर्य प्यानलहरू अलग हुन थाल्नेछन् । ८० किलोमिटरसम्मको दुरीमा आइपुग्दा आईएसएसमा जोडिएका मोड्युलहरू पनि छुट्टिन थाल्नेछन् ।

घर्षणसँगै हजारौँ डिग्री सेल्सियसको तापक्रमले सौर्य प्यानल, मोड्युल र आईएसएसको बाँकी भाग जलेर, पग्लिँदै टुक्राटुक्रामा परिणत हुनेछ । 

आसपासको वायुमण्डलमा यतिबेलाको दृष्य आतिशबाजी (फायरर्वक्स) जस्तै देखिनेछ । रुसी मिर स्पेश स्टेसन यसरी ध्वस्त हुँदा मानिसहरूको ध्यान खिचेको थियो । 

झन्डै तीन गुणा ठूलो आईएसएस वायुमण्डलमा यसरी तहसनहस हुँदै गर्दाको दृष्यले पनि मानिसहरूको ध्यान खिच्ने ठानिएको छ ।

योजना अनुरूप सबै कुरा भएमा यो पूरै अन्त्यको योजनाले मानिसहरूलाई खतरा सिर्जना गर्ने छैन । वायुमण्डलमा जलेर नष्ट नभएर बाँकी रहेको कुरा ‘पोइन्ट नेमो’मा खस्नेछ ।

पोइन्ट नेमो न्युजिल्यान्ड र दक्षिण अमेरिकाको बिचमा प्रशान्त महासागरमा रहेको स्थान हो, यो ठाउँलाई अन्तरिक्षयानको चिहानसमेत भनिन्छ ।

विचित्र समुद्री धारा (करेन्ट)का कारण पोइन्ट नेमोमा कुनै पोषक तत्व पाइदैन । फलस्वरूप यहाँ कुनै जलीय प्राणीको अस्तित्व छैन ।

त्यसैले भग्नावशेष र खेर गएका अन्तरिक्ष उपकरणहरू यहाँ खसालिन्छ ।

निकै ठूलो भएका कारण आईएसएसको भग्नावशेष ६ हजार किलोमिटरसम्म फैलिनसक्ने ठानिएको छ । सो क्षेत्रमा मानिस, आकाशमा हवाइजहाज र पानीजहाजको पहुँच रोक लगाइने छ ।

सौर्य प्यानलको अलगावदेखि पोइन्ट नेमामा खस्नेसम्मको समय करिब ४० मिनेटको मात्रै हुनेछ । आईएसएसमा काम नलाग्ने फोहर मात्रै नभएर महत्त्वपूर्ण र मूल्यवान सामग्रीहरूसमेत रहेको छ ।

सौर्य प्यानललाई अन्य पूर्वाधारमा प्रयोग गर्ने र अन्य सामग्रीलाई अन्तरिक्षमै पगालेर अरू पूर्वाधार बनाउन प्रयोग गर्न सकिन्छ कि भन्ने आइडियामा पनि छलफल भइरहेको छ ।

तर, अहिलेसम्म त्यस्तो कुनै योजना भने बनिसकेको छैन ।

हालको योजना अनुसार तीसको दशकको सुरुमा मानव मष्तिस्कको महत्त्वपूर्ण उपलब्धिमध्ये एक इतिहास बोकेको आईएसएसको नाटकीय अन्त्य हुनेछ ।

यतिबेला तपाईं प्रशान्त महासागरमा पोइन्ट नेमो आसपासको निर्जर जलक्षेत्रमा हुनुभयो भने सावधान रहनुहोला । किनकि त्यतिबेला आकाशबाट तातो पग्लिएको आईएसएसका टुक्राहरूको वर्षा भइरहेको हुनेछ ।

बीबीसीनासाको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro