
काठमाडौं । लोकसेवा आयोगको डाटा गायब (लस्ट) भएपछि यही वैशाख २० गते पुनः दरखास्त आह्वान गरियो । सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी)मा रहेको डाटा गायब भएपछि आयोगले पुनः आवेदन मागेको हो ।
जीआईडीसीमा विभिन्न सरकारी निकायका महत्त्वपूर्ण डाटा राख्ने गरिन्छ । तर, डाटा ‘लस्ट’ भएपछि त्यहाँको पूर्वाधार र व्यवस्थापनमाथि प्रश्न उठाइएको छ ।
लोकसेवा आयोगले ०७९ को मंसिर, पुस र माघमा प्रकाशित विभिन्न पदका विज्ञापनमा दरखास्त दिएकाहरूको डाटा राखिएको/होस्ट गरिएको सर्भरमा समस्या आएको जनाएको थियो । गएको फागुन २३ गते उक्त सर्भरमा समस्या आएको थियो । डाटा रिकभर हुने/नहुने अझै यकिन भएको छैन ।
सोही कारण जेठमा गर्नुपर्ने परीक्षामा ढिलाइ हुने देखिएपछि आयोगले पहिला दस्तुर बुझाइसकेकाले मात्र दिन मिल्ने गरी दरखास्त आह्वान गर्यो । ‘ब्याकअप’ नहुँदा डाटा गायब भएको हो ।
के भन्छन् डाटा सेन्टरका अधिकारी ?
नेटवर्क सुरक्षा, डाटा इन्क्रिप्सन र ब्याकअप आधारभूत मापदण्ड हुन् । तर, सबै अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्न नसकिएको डाटा सेन्टरका अधिकारी बताउँछन् ।
जीआईडीसीका उपनिर्देशक सफल श्रेष्ठले बाह्रखरीसित भने, “अन्तर्राष्ट्रिय मापदण्ड छ । तर, हामीले त्यो फलो गर्न सकेका छैनौँ । यहाँ जहिले रिसोर्सकै कमी हुन्छ । हामीसँग जनशक्ति पनि छैन । रिसोर्स पनि छैन । बजेट पनि हुँदैन ।”
आयोगको गायब भएको डाटा राखिएको सर्भर नयाँ भएको उनले बताए । “अस्ति समस्या भएको हाम्रो सबैभन्दा नयाँ र सबैभन्दा राम्रो सिस्टम भनेर ल्याएको सिस्टम हो । त्यो सिस्टम अहिले यहाँ भएकामध्ये सबैभन्दा नयाँ सिस्टम हो,” उनले भने ।
त्यसको ब्याकअप अलि पछि विस्तार गर्ने आफूहरूको सोचाइ रहेको उनको भनाइ छ । “हाम्रो अरू सिस्टमको चाहिँ ब्याकअप थियो । त्यो नयाँ भएको भएर यसलाई पछि गर्ने, पहिला पुरानाको गर्ने भनेर छोडेको हो ।”
उक्त सिस्टमको हार्डवेयर कमसल भएर आईडीमा समस्या आएको हुन सक्ने अनुमान गरिएको छ । “सर्भरमा रहेको पार्टेसन चिनाउने आईडी करप्ट भएको हो । क्र्यास भएको, हार्डडिस्क गएको केही पनि भएको छैन । सिस्टम चालु नै छ,” उपनिर्देशक श्रेष्ठले भने, “आईडी करप्ट भयो । आईडी करप्ट भएपछि डाटा एक्सेस गर्न मिलेन ।”
‘अरू डाटाको ब्याकअप छ’
डाटा सेन्टरमा जीआईडीसीका सर्भरहरू छन् । त्यहाँ अरू सरकारी निकायले पनि आफ्ना सर्भर राखेका छन् । त्यसलाई ‘कोलोकेसन’ गरिएको उनले बताए ।
“हामीसँग भएको सबै सिस्टमको ब्याक हामीले गरेका छौँ । अरू कोलेकेसन गरेकाहरूको सर्भर उहाँहरू आफैँले हेर्नुहुन्छ, त्यस्तो सिस्टमको चाहिँ हामी ब्याकअप गर्दैनौँ,” उनले भने, “किनकि, त्यसमा हाम्रो काम हुँदैन । पहुँच पनि हुँदैन ।”
जीआईडीसीमा करिब ३० सर्भर रहेको उनले जानकारी दिए । “हामीसँग लगभग २५/३० वटा सर्भर छ, त्यसबाट एक हजारभन्दा बढीवटा अकाउन्टिङ सफ्टवेयर, अफिस म्यानेजमेन्ट, डकुमेन्ट म्यानेजमेन्ट, एमआईएस सिस्टमजस्ता प्रणाली सञ्चालन भइरहेका छन्,” जीआईडीसीका सूचना अधिकारी समेत रहेका श्रेष्ठले भने, “यिनीहरू सबैको ब्याकअप हामीसँग छ । ब्याकअप नभएको लोकसेवाको डाटा राखिएको नयाँ सिस्टम थियो । नयाँ सिस्टम भएकाले ब्याकअप गर्न अलि पछाडि पर्यो ।”
लोकसेवाको डाटा राखिएको नयाँ सिस्टमको ब्याकअप गर्ने प्रक्रिया अरूभन्दा फरक रहेको उनले बताए । सोही कारण ब्याकअप गर्न नसकिएको उनले सुनाए ।
“इस्यु आएको सिस्टमको अलिकति फरक प्रक्रिया भएको भएर पहिलेको जुन सिस्टम युज गरेर ब्याकअप गरिरहेका थियौँ, त्योबाट यो गर्न नमिल्ने भएका कारण छुटेको थियो,” उनले भने ।
हेटौँडाको डाटा रिकभरी सेन्टरमा पूर्वाधार अभाव
अहिले हेटौँडामा पनि सबै सिस्टमको ब्याकअप गर्ने कार्य भइरहेको छ । तर, त्यहाँ पूर्वाधारको अभाव रहेको उनी बताउँछन् । “पूर्वाधारहरू राखिसकिएको छैन । अलिअलि छ, पूरै छैन,” उनले भने, “विश्व बैंकको योजनामार्फत त्यहाँ डिभाइस किनेर राख्ने भन्ने कुरा भइरहेको छ ।”
सबै सिस्टमको ब्याकअप गरिने र डाटा लस्ट नहुने उनी बताउँछन् । “अबदेखि कहिलेकाहीँ उस्तै समस्या भयो भने दुई/चार घण्टा, पाँच/सात घण्टासम्म सिस्टम डाउन हुने भन्ने होला । तर, डाटा लस्ट नै अबचाहिँ हुँदैन,” उनले भने, “कोलोकेसनको जिम्माचाहिँ हामी लिँदैनौँ । तर, हाम्रो सिस्टम युज गर्नेको हामीसँग ब्याकअप छ ।”
बजेट अभाव छैन : मन्त्रालय
डाटा सेन्टरका लागि बजेटको कमी नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले डाटा सेन्टरलाई ब्याकअपको ‘प्रोभिजन’ गर्न र हेटौँडाको डाटा रिकभरी सेन्टरलाई पनि चाँडै अगाडि बढाउन निर्देशन दिइएको बताए । “डाटा सेन्टरका लागि बजेट अभाव भएजस्तो मलाई लाग्दैन,” उनले भने ।